Thursday, November 14, 2013

बैङ्कहरु कृषिकर्जामा आकर्षित

बैङ्कहरु कृषिकर्जामा आकर्षित
काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको कृषिक्षेत्रमा बैङ्कहरूको चासो बढ्न थालेको छ । कृषकलाई आकर्षित गर्न बैङ्कहरूले विभिन्न योजना सार्वजनिक गर्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले गतवर्ष कुल लगानीको १० प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न बैङ्कहरूलाई निर्देशन दिएकोमा यो वर्ष भने त्यसलाई बढाएर १२ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैङ्कको उक्त निर्देशनपछि बैङ्कहरू कृषि कर्जातर्फ प्रेरित भएका हुन् । कृषि कर्जाअन्तर्गत बैङ्कहरूले पशुपालन, माछापालन, मौरीपालन, फलफूल तथा तरकारी खेती, नगदे बाली उत्पादन तथा प्रशोधन, जडीबुटी तथा कृषि, हस्तकला, कृषि उपकरण खरीद आदिमा लगानी गर्दै आएका छन् ।
ग्लोबल आईएमई बैङ्कले आफ्नो लगानीको अधिकतम हिस्सा कृषिक्षेत्रमा गर्ने रणनीति बनाएको छ । बैङ्कले स–साना किसानलाई पनि समट्ने गरी सहज र सुलभ कृषि कर्जा योजना सार्वजनिक गरेको बैङ्कका कर्जा प्रमुख अधिकृत सुरेन्द्रराज रेग्मीले बताए । उक्त योजनाअन्तर्गत बैङ्कले नेपालगञ्ज शाखालाई कृषिशाखाको रूपमा स्थापित गरेको छ भने लालबन्दीमा पनि कृषिशाखाको रूपमा शाखा सञ्चालन गर्ने योजना बनाएको छ । बैङ्कले कृषिक्षेत्रमा अहिलेसम्म रू. १० करोड लगानी गरिसकेको रेग्मीले बताए । बैङ्कका अनुसार सो लगानीबाट २ सय ४५ कृषक लाभान्वित भइसकेका छन् । बैङ्कले न्यूनतम रू. ५० हजारदेखि अधिकतम रू. ५ लाखसम्म कृषि कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जामा बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज १ प्रतिशत घटाएर १४ प्रतिशत कायम गरेको छ । कर्जाको साथमा बैङ्कले ऋणी कृषकको बीमासमेत गर्छ । यसअन्तर्गत बैङ्कले विभिन्न १२ रोगको बीमा गर्दै आएको छ । ती रोगका कारण कृषकको मृत्यु भएमा बैङ्कले बीमा कम्पनीबाट नै आफ्नो ऋण असुली गर्ने गरेको प्रमुख रेग्मीले बताए । यसले गर्दा कृषक ऋण लिन प्रेरित हुने गरेको उनको दाबी छ । बैङ्कले कृषकको उत्पादनलाई उचित मूल्य प्रदान गर्न विभिन्न योजना सञ्चालनमा ल्याउने तयारी पनि गरिरहेको छ । तीमध्ये कृषकको उत्पादनलाई राख्नका लागि गोदाम निर्माण गर्न निकट भविष्यमै फाइनान्सको सुविधा उपलब्ध गराउने योजना रहेको रेग्मीले बताए ।  
सिद्धार्थ विकास बैङ्कले पनि २ वर्षदेखि कृषिकर्जा योजना सञ्चालन गर्दै आएको छ । सो योजनाअन्तर्गत बैङ्कले साना किसानलाई न्यूनतम रू. ५० हजार उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जामा ११ दशमलव २९ प्रतिशत ब्याज तोकिएको छ । कर्जा भुक्तानी अवधि भने ६ वर्ष रहेको छ । बैङ्कले ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको बैङ्कका रिलेशनशिप अफिसर प्रकाश आचार्यले जानकारी दिए ।  बैङ्क अफ काठमाण्डूले किसान बैङ्किङ सेवाअन्तर्गत कृषिकर्जा उपलब्ध गराउँदै आएको छ । सो योजनाअन्तर्गत बैङ्कले किसानलाई न्यूनतम पनि रू. १० हजारदेखि अधिकतम रू. २ लाखसम्म कर्जा उपलब्ध गराउँदै आएको बैङ्कका सञ्चार अधिकृत वृन्दा सिंहले जानकारी दिइन् । यस्तो कर्जामा बैङ्कले १२ प्रतिशतसम्म ब्याज तोकेको छ । भुक्तानी अवधि भने २ वर्षसम्म रहेको उनले बताइन् । 
http://www.abhiyan.com.np/new/Articles/view/34335

No comments:

Post a Comment