Sunday, November 10, 2013

लगानीकर्ता विकास बैङ्कतर्फ आकर्षित

मङ्सिर १२, काठमाडौं । पछिल्ला व्यापार दिनहरूमा सर्वसाधारण लगानीकर्ताको आकर्षण विकास बैङ्कहरूमा केही बढेको छ । उच्च शेयरमूल्य भएका कम्पनीमा लगानी गर्न नसक्ने लगानीकर्ताले विकास बैङ्क रोजेको विश्लेषकहरू बताउँछन् । सो अवधिमा वाणिज्य बैङ्कहरूको परिसूचक भने ओरालो लाग्दै गएको छ । राजनीतिक वातावरण अनुकूल बन्दै गएपछि समग्र नेप्से परिसूचक सकरात्मक देखिए तापनि बैङ्किङ समूहको परिसूचक भने घट्दो प्रवृत्तिमा देखिएको हो ।
शेयर बजारमा दैनिकजसो कारोबार भइरहने केही ठूला बैङ्कको शेयरमूल्य घटेपछि यसको प्रभाव बैङ्किङ समूहको परिसूचकमा परेको हो । बुधवार शून्य दशमलव ८५ प्रतिशतले यस समूहको परिसूचक घटेको छ । निर्वाचनअघि ५ सय ७४ दशमलव ४४ बिन्दुमा रहेको बैङ्किङ समूहको परिसूचक निर्वाचनपछिको दुई दिन भने ६२ दशमलव ४२ अङ्कले बढेर ६ सय २५ दशमलव ८८ मा उक्लिएको थियो । तर, गत सोमवारदेखि १५ दशमलव शून्य ७ अङ्कले घटेर यस समूहको परिसूचक बुधवार ६ सय १९ दशमलव ३१ मा झरेको छ ।
बुधवार पनि बीओके, हिमालयन, नेपाल इन्भेष्टमेण्ट, सानिमा, नबिललगायत बैङ्कको शेयरमूल्य घट्ने क्रम जारी रह्यो । बैङ्क अफ काठमाण्डू र आईएलएफसी बैङ्कबीच मर्जरको हल्लाले बैङ्क अफ काठमाण्डूको शेयरमूल्य घटेको एक लगानीकर्ताले बताए । तर, दुवै बैङ्कबीच आन्तरिक तालमेल नमिलेका कारण मर्जरको विषय अहिले स्थगित भएको छ । यद्यपि, मेलम्ची खानेपानी परियोजनाको बैङ्क ग्यारेण्टीका कारण अख्तियारको अनुसन्धानमा परेकाले हिमालयन बैङ्क तथा बैङ्क अफ काठमाण्डूको शेयरमूल्य प्रभावित बनेको लगानीकर्ताहरू बताउँछन् । अख्तियारका कारण हिमालयन बैङ्कले अहिलेसम्म साधारणसभा गर्न सकेको छैन । तर, बैङकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा भने गरिसकेको छ । बुधवार बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रू. १० ले घट्यो । रू. ५ सय २० रहेको उक्त बैङ्कको शेयर निर्वाचनपछि  रू. ५ सय ८३ सम्म पुगी बुधवार रू. ५ सय ५० मा अन्तिम कारोबार भएको छ ।
http://www.abhiyan.com.np/new/Articles/view/34472

No comments:

Post a Comment