Tuesday, February 5, 2019

बिमालाई पाठ्यक्रममै समेट्नुपर्छ



 कविप्रसाद पाठक

कविप्रसाद पाठक प्रशासक राष्ट्रिय बिमा संस्थान
नेपालमा बिमा र बैंकिङ व्यवसायको सुरुवात सँगै भए पनि बिमा क्षेत्र धेरै पछाडि छ । बिमाको विषयमा अध्यापन हुन नसक्दा अझै पनि मानिसले बिमाभन्दा बैंकिङ क्षेत्रलाई करिअरका रूपमा रोज्ने गरेका छन् । जसका कारण बिमा क्षेत्रमा दक्ष जनशक्ति अभाव देखिएको जानकारहरू बताउँछन् । दक्ष जनशक्तिको अभाव हुँदा यो क्षेत्र तुलनात्मक रूपमा अगाडि बढ्न नसकेको राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकले पनि स्वीकार गरेका छन् । नेपालको बिमा क्षेत्रका चुनौती तथा यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थानका प्रशासक पाठकको दृष्टिकोण :

 बिमा र बैंकिङ फरक छ
बिमा र बैंकिङ फरक छ । बैंकिङ क्षेत्र अलि बृहत् छ । निक्षेप संकलनदेखि लिएर कर्जा वितरण, लगानीलगायतका विभिन्न काम बैंकिङ क्षेत्रमा पर्छ भने बिमा क्षेत्र सीमित हुन्छ । बिमामा हामी जोखिमको सुरक्षण गर्छौँ । तुलनात्मक रूपमा बिमा कठिन छ । नेपालमा बिमासम्बन्धी जनचेतना नभएकाले पनि यसमा काम गर्न कठिन छ । बिमा गर्दा मानिसले तोकिएको निश्चित वर्षसम्म लगातार रकम तिरिरहनुपर्छ । र, रकम फिर्ताचाहिँ लामो अवधिपछि मात्र हुन्छ । यसले जोखिम बहन गरिरहेको हुन्छ भन्ने विषयमा अधिकांशको ध्यान गएको पाइँदैन । लामो समयपछि मात्र रकम फिर्ता आउने भएकाले मानिसले यसमा झट्ट विश्वास गर्दैनन् । त्यस्तै कतिपय मानिस मृत्युपछाडिको सुरक्षणको विषयमा सुन्न पनि चाहँदैनन् । 
 जनतासम्म हामी पुगेकै छैनौँ
नेपालको बिमा क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको जनचेतनाको अभाव हो । यो जनचेतना आजको भोलि नै एउटा वा दुईवटा कम्पनीले ल्याएर हुने कुरा पनि होइन । यसका लागि केही समय लाग्छ । कम्पनीले मात्रै गरेर पनि सम्भव छैन । बिमा समितिले नै यसतर्फ विशेष पहल गर्नुपर्छ । विभिन्न माध्यमबाट विभिन्न स्थानमा गएर मानिसलाई बिमाको महत्वबारे बताउनुपर्छ । बिमाको आवश्यकता महसुस गराउनुपर्छ । तर, हामी अहिलेसम्म जनतासम्म पुग्न सकेका छैनौँ । 
पाठ्यक्रममा नै बिमा समावेश गर्नुपर्छ
नेपालमा बिमाको चेतना बढाउन पाठ्यक्रममा नै बिमा विषय समेट्नुपर्छ । यसले स–साना नानीहरूमा पनि बिमा भन्ने शब्द र यसको अर्थ जानकारी हुन्छ । भोलिका दिनमा उच्च शिक्षा हासिल गर्दा पनि उनीहरूले सोहीसम्बन्धी अध्ययन गर्न सक्छन् । साथै कम्पनी तथा बिमा समितिले विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन मात्र नभएर बिमासम्बन्धी जानकारीमूलक सूचना पनि दिनुपर्छ । विभिन्न अन्तरक्रिया र छलफल पनि गर्नुपर्छ । 
 प्रतिस्पर्धी जनशक्तिको अभाव
अझै पनि बिमा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उपलब्ध छैनन् । अझै पनि हत्तपत्त कसैले पनि बिमा क्षेत्रमा आफ्नो भविष्य खोजेको पाइँदैन । वित्तीय क्षेत्रमा प्रवेश गर्ने अधिकांशको पहिलो रोजाइ भनेकै बैंक हुने गरेको छ । बिमा क्षेत्रलाई वैकल्पिकमा मात्र राख्ने गरेको पाइन्छ । यसमा बिमाबारे उनीहरूको अध्ययनको कमी पनि एउटा कारण रहेको हामी पाउँछौँ ।
अधिकांश विद्यालय तथा विश्वविद्यालयमा लेखा विषय तथा व्यवस्थापन संकायमा बैंकबारे नै बढी पढाइ हुन्छ । यसले पनि बिमा क्षेत्रमा दक्ष कर्मचारी नभएको स्पष्ट हुन्छ । जसका कारण अझै पनि बजारमा बिमाका दक्ष जनशक्ति खोसाखोसको अवस्था छ । केही अनुभव भएका कर्मचारीलाई अर्को कम्पनीले तान्ने अवस्था छ । अहिले बजारमा अभिकर्ता पनि तानातान भएको अवस्था छ । राम्रो अभिकर्तालाई अर्को कम्पनीले राम्रो सेवा र सुविधा दिएर लैजाने गरेको सुनिएको छ । 
दाबी भुक्तानीमा समस्या छैन
बिमा कम्पनीहरूले समयमा दाबी भुक्तानी नै गर्दैनन् भन्ने गुनासो रहेको पाइन्छ । एकाध घटनालाई लिएर यस्तो धारणा बनाउनु राम्रो होइन । बिमा कम्पनीहरूको पनि दाबी भुक्तानीमा आफ्नै प्रक्रिया हुन्छ । प्रक्रिया पूरा नगरी दाबी भुक्तानी गर्न मिल्दैन । सबै कागजपत्र मिलेको हुनुपर्छ । कतिपय बिमित हतारमा आउनुहुन्छ । उहाँहरूलाई कागजपत्र के–के चाहिन्छ भन्ने पनि थाहा हुँदैन । तर, जतिसक्दो छिटो भुक्तानी चाहिन्छ । त्यस्तो अवस्थामा उहाँहरूले कम्पनीले समयमा दाबी भुक्तानी गर्दैन भन्ने धारणा बनाउनुहुन्छ । मेरो अनुभवमा कागजपत्र सबै पूरा भएको छ भने बिमा कम्पनीहरूले समयमा नै दाबी भुक्तानी गर्छन् । राष्ट्रिय बिमा संस्थानको हकमा भने यस्तो गुनासो आएको छैन । हामी सबैभन्दा छिटो र सहज रूपमा दाबी भुक्तानी गर्ने कम्पनीमा गनिन्छौँ । 
अभिकर्ता र बैंकका ग्राहक फरक छन्
अहिले बिमा कम्पनी र बैंकहरूबीच बैंकास्योरेन्स सम्झौता भएको समाचार आइरहेका छन् । समाचारमा बैंकास्योरेन्स सम्झौता भनिए पनि त्यो संस्थागत अभिकर्ताको सम्झौता हो, बैंकास्योरेन्स भने होइन । कम्पनीहरूले संस्थागत अभिकर्ताका रूपमा काम गर्न पाउँछन् । बैंकास्योरेन्ससम्बन्धी नीतिगत व्यवस्था त छैन । तर, त्यसलाई बिमा समितिले अहिलेसम्म रोकेको पनि छैन । यदि बैंकास्योरेन्स शब्दको प्रयोग गलत हुन्थ्यो भने समितिले त्यसलाई नियन्त्रण गथ्र्यो होला । हाम्रो कम्पनीले भने अहिलेसम्म बैंकास्योरेन्स सम्झौता गरेको छैन । बैंकास्योरेन्सले अभिकर्ताको पेसा जोखिममा पर्न सक्छ भन्ने चासो उठेको छ । तर, मलाई लाग्छ, यसले खासै असर गर्दैन । किनभने, अभिकर्ता र बैंकका ग्राहक फरक छन् । 
पुँजी पलायन हुन नदिन विदेश भ्रमणमा रोक
बिमा समितिले नेपालको व्यापार घाटा रोक्न अभिकर्ताको विदेश भ्रमण रोकेको हो । सरकारको नीतिअनुसार पुँजी पलायन हुने क्रमलाई रोक्न समितिले अभिकर्ताको भ्रमणमा कडाइ गरेको हो । सरकारको नीतिअनुसार पनि यदि अभिकर्तालाई भ्रमणमा लैजाने नै हो भने पनि आन्तरिक भ्रमणका लागि लैजान सकिन्छ । नेपालभित्र पनि त घुम्न लायक राम्रा–राम्रा ठाउँ छन् । 
 हामी पुँजी पुर्‍याउन सक्षम छौँ
राष्ट्रिय बिमा संस्थान ऐन २०२५ अनुसार हाम्रो चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्ने हो । हामी त्यो रकम पुर्‍याउन सक्षम छौँ । हुन त हाम्रो अहिले चुक्ता पुँजी १८ करोड १० लाख मात्र छ । तर, यो पुँजी आव ०६५/६६ को वित्तीय विवरणअनुसार हो । अहिले हामीले ०६९/७० सम्मको वित्तीय विवरण समितिमा बुझाइसकेका छौँ । केही दिनपछि नै हामी साधारणसभा गर्दै छौँ । त्यसपछि हामी चुक्ता पुँजी वृद्धितर्फ केन्द्रित हुनेछौँ । बिमा विधेयक पारित भइसकेपछि भने संस्थान कम्पनीमा परिणत हुनेछ । त्यतिवेला हामीले चुक्ता पुँजी २ अर्ब पुर्‍याउनुपर्नेछ । त्यसका लागि पनि आन्तरिक तयारीमा छौँ । हामीले छिट्टै चुक्ता पुँजी २ अर्ब नै पुर्‍याउने योजना पनि बनाएका छौँ । 
अहिलेको अवस्थामा सबै कम्पनी पुँजी जुटाउन सक्षम छन् । तत्कालका लागि भने बिमा समितिले लागू गरेको एनएफआरसका कारण पनि केही ढिलाइ भएको हो । साधारणसभापछि भने सबै कम्पनी पुँजी जुटाउन सक्षम छन् । एक–दुईवटा कम्पनीलाई भने गाह्रो हुन सक्छ । 
अभिकर्ता एउटै कम्पनीमा सीमित हुँदा राम्रो
एकजना अभिकर्ताले एउटा मात्रै कम्पनीमा काम गर्ने हो भने विश्वसनीयता बढ्छ । अहिलेको व्यवस्थाअनुसार एकैजना अभिकर्ताले धेरै कम्पनीमा काम गर्न पाउँछन् । यसले धेरै व्यापार गर्न सक्ने अभिकर्तालाई फाइदा नै पुग्ने देखिन्छ । धेरै काम गर्न सक्ने अभिकर्ताहरूले एउटा कम्पनीको लक्ष्य पूरा गरेपछि अर्को कम्पनीमा व्यवसाय लैजाने प्रवृत्ति रहेको पाइन्छ । अभिकर्ताको हकमा यो प्रवृत्ति राम्रो भए पनि बिमित हकमा नहुन सक्छ । 
 हामी पुरानै समस्या समाधान गर्दै छौँ
म राष्ट्रिय बिमा संस्थानमा नियुक्त भएको नौ महिना भयो । कम्पनीमा जनशक्तिको ठूलो समस्या छ । पुराना केही काम थाती रहेका छन् । त्यसैले यो वर्ष मैले पुराना कामहरू सक्ने निधो गरेको छु । किनभने, हामीलाई अहिले प्रतिस्पर्धामा जानुपर्नेछैन । सर्वसाधारणको विश्वास छ । त्यसैले कम्पनीका पुराना कामलाई सकेर नयाँ काम गर्ने योजनामा छौँ । यो वर्ष हामीले ३ लाख राष्ट्रसेवकको बिमा गरेका छौँ । यो हाम्रो व्यवसायको आधा हिस्सा हो । त्यसैले आगामी दिनमा हाम्रो व्यवसायमा उच्च वृद्धि देखिनेछ । अर्को वर्षदेखि भने अभिकर्ता तालिम र नयाँ शाखा विस्तार गर्ने योजना पनि बनाएका छौँ ।
https://www.nayapatrikadaily.com/news-details/5307/2019-02-05

No comments:

Post a Comment