मुना कुँवर २०७५ माघ २३ बुधबार ०८:०८:०० | काठमाडौ
बिमा समितिले तोकेको समयभित्र अधिकांश बिमा कम्पनीहरूले चुक्ता पुँजी पु-याउन सकेनन् । बिमा समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै आर्थिक वर्ष ०७४÷७५ को अन्त्यसम्ममा तोकिएको पुँजी पु-याउन निर्देशन दिएको थियो । निर्देशिका अनुसार निर्जीवन बिमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउनुपर्ने हुन्छ ।
उक्त अवधिमा पुँजी जुटाउन नसक्ने कम्पनीहरूलाई नियमानुसार दुईपटक तीन/तीन महिनाको समयावधि थप गरिसकेको छ । समितिले थप गरेको समय गत पुस महिनामा सकिएको हो । पुस मसान्तसम्म २ वटा जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनीले मात्र पुँजी वृद्धि गरेका छन् । बाँकी २० वटा कम्पनीले पुँजी पु-याउन सकेका छैनन् । हाल नेपालमा १९ वटा जीवन बिमा र २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुनेछ ।
तोकिएको समयमा पुँजी कायम नगर्ने कम्पनीहरूलाई अनिवार्य मर्जरको निर्देशन दिने समितिले बताएको थियो । तर, अवधि सकिएको १५ दिनभन्दा बढी हुँदासमेत समितिले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाउन सकेको छैन । ती कम्पनीसँग समितिले पुँजी वृद्धि गर्न नसक्नुको कारणका विषयमा स्पष्टीकरण सोध्ने समितिका निमित्त कार्यकारी निर्देशक राजुरामण पौडेलले बताए । पुँजी बढाउन नसकेको भन्दै हाल अधिकांश कम्पनीले समय थपको निवेदन दिएका छन् ।
बिमा कम्पनीलाई पुँजी कायम गर्न समय थप गर्ने बिमा समितिको प्रस्तावलाई समितिको सञ्चालक समितिले अस्वीकृत गरेको छ । समितिले लागू गरेको एनएफआरएस (नेपाल फाइनान्स रिपोर्टिङ स्याटयान्डर्ड) का कारण कम्पनीहरूले तोकिएको समयमा पुँजी पु-याउन नसकेको भन्दै समय बढाउन बिमा समितिलाई अनुरोध गरेका थिए । तर, समितिको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेको छ ।
बिमा समितिले तोकेको पुँजीको विषयमा विदेशी शाखा कम्पनीहरू पनि अन्योलमा छन् । नेपालमा नेसनल, ओरियन्टल र मेट लाइफ तीनवटा इन्स्योरेन्स कम्पनी छन् । मेट लाइफ कम्पनीले यसअघि नै समितिले तोकेको पुँजी जुटाउन नसक्ने भनी पत्राचार गरेको थियो ।
कम्पनीहरूसँग स्पष्टीकरण लिनेछौँ
राजुरमण पौडेल, निमित्त कार्यकारी निर्देशक, बिमा समिति
प्रत्येक कम्पनीसँग पुँजी वृद्धिका विषयमा बेग्लाबेग्लै स्पष्टीकरण माग्नेछौँ । त्यसपछि मात्रै कम्पनीहरूलाई समय थप गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ । समयमा नै पुँजी वृद्धि गर्न नसक्नुको मुख्य कारण भनेको एनएफआरएस लागू हो । एनएफआरएसका कारण कम्पनीहरूले समयमा नै वित्तीय विवरण तयार पार्न सकेनन् । त्यसैले यसमा ढिलाइ भएको हो । अधिकांश कम्पनी पुँजी कायम गर्न सक्षम छन् । केही कम्पनी मात्रै कमजोर देखिएका छन् ।

https://www.nayapatrikadaily.com/news-details/5383/2019-02-06
No comments:
Post a Comment