Friday, February 8, 2019

युजरनेम उपलब्ध गराउने जिम्मा ब्रोकरलाई



 मुना कुँवर
२०७५ माघ २५ शुक्रबार ०८:५९:०० | काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार गर्ने लगानीकर्तालाई युजरनेम उपलब्ध गराउने जिम्मा ब्रोकरहरूलाई नै दिएको छ । नेप्सेले युजरनेम उपलब्ध गराउन ढिलाइ गरेको गुनासो आएपछि प्रक्रिया छोट्याउन ब्रोकरलाई नै अधिकार दिइएको नेप्सेले बताएको छ ।
पाँच हजारले लिए युजरनेम
अनलाइन सेयर कारोबार गर्न पाँच हजार लगानीकर्ताले युजरनेम लिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । तर, प्रयोग भने थोरैले मात्र गरिरहेको उनको भनाइ छ । युजरनेम लिएपछि अनलाइन कारोबारका लागि ब्रोकरसँग सम्झौता गर्नुपर्छ । यसरी ब्रोकरसँग सम्झौता गरी अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ४ देखि ५ सयसम्म हुन सक्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।

महिना दिनमा पनि पाएनन् युजरनेम
अनलाइन कारोबारका लागि युजरनेम लिन निवेदन दिएको एक महिना बितिसक्दा पनि नेप्सेले उपलब्ध नगराएको लगानीकर्ताको गुनासो छ । ‘अनलाइन सिस्टमको विश्वसनीयता नहुँदा र आफ्नो कमजोरी लुकाउन युजरनेम उपलब्ध गराउन ढिलाइ गरिएको होे,’ सेयर बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘नेप्सेले व्यक्तिगत लगानीकर्ताका लागि १५ मिनेट र संस्थागत लगानीकर्तालाई १ दिनमा युजरनेम उपलब्ध गराउने जनाएको थियो । अनलाइन कारोबारका लागि युजरनेमसँगै नेप्सेले लगानीकर्तालाई युनिक क्लाइन्ट कोड (युसिसी) दिनुपर्छ । युसिसी बनाउँदा लगानीकर्ताको डिम्याट खाताअनुसार पूर्ण विवरण मिले–नमिलेको परीक्षण गर्नुपर्ने भएकाले पनि युजरनेम उपलब्ध गराउन ढिलाइ भएको हुन सक्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष रानाभाटले बताए । उनले भने, ‘अबदेखि नेप्सेले हामीलाई नै यसको जिम्मेवारी दिएको छ । त्यसैले अब तुलनात्मक रूपमा यो प्रक्रिया छिटो हुनेछ ।’
अनलाइनमा आकर्षण छैन लगानीकर्ताको
अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण कम देखिएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । अनलाइन कारोबार गर्दा लगानीकर्ता बढी जिम्मेवार हुनुपर्ने भएकाले पनि आकर्षण कम भएको हुन सक्ने उनले बताए । अफलाइनमा कारोबार गर्दा लगानीकर्ताले जुनसुकै ब्रोकरबाट पनि कारोबार गर्न पाउँथे, तर अनलाइनमा निश्चित ब्रोकरबाट मात्रै कारोबार गर्न पाइन्छ । त्यस्तै अनलाइन कारोबारका लागि ब्रोकरकहाँ निश्चित रकम सुरक्षण राख्नुपर्छ । कारोबार राफसाफ ढिला भएमा त्यसको जिम्मेवारी पनि लगानीकर्ताले नै लिनुपर्ने हुन्छ । यसले पनि लगानीकर्ता निरुत्साहित भएको हुन सक्ने उनले बताए । 
बैंक इन्टिग्रेसन भयो, तर भएन कारोबार
अनलाइन कारोबारका लागि चारवटा बैंक इन्ट्रिग्रेसन भए पनि कारोबार नभएको स्टक ब्रोकर एसोसिएयनका अध्यक्ष रानाभाटले बताए । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार एक लाख रुपैयाँभन्दा बढीको अनलाइन भुक्तानी गर्न मिल्दैन । सेयर लगानीकर्ताका लागि सो रकम पर्याप्त नभएका उनले बताए । ‘यस विषयमा नेप्सेसँग छलफल भएको छ । नेप्सेले केन्द्रीय बैंकसँग समन्वय गरी यो व्यवस्था संशोधन गर्न अनुरोध गरेका छौँ,’ उनले भने । 
यसरी सुरु भयो अनलाइन कारोबार
नेप्सेले गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु गरेको हो । करिब दुई महिनाको परीक्षणपछि नेप्सेले अनलाइन कारोबार सुरु गरेको हो । मंसिर २३ गतेदेखि भने नेप्सेले लगानीकर्तालाई युजरनेम उपलब्ध गराएको हो । अनलाइन कारोबारका लागि लगानीकर्ताले ब्रोकरकहाँ निवेदन दिए पनि यसअघि नेप्सेले प्रमाणित गरेपछि मात्रै युजरनेम पाउने व्यवस्था थियो । युजरनेम पाएका लगानीकर्ताले ब्रोकरसँग कारोबार सम्झौता गरी अनलाइन सुविधा लिनुपर्नेछ । अनलाइन कारोबारका लागि लगानीकर्ताले कम्तीमा पनि २५ प्रतिशत रकम ब्रोकरकहाँ सुरक्षण गर्नुपर्नेछ ।
https://www.nayapatrikadaily.com/news-details/5587/2019-02-08

No comments:

Post a Comment