Friday, July 27, 2018

गलत मूल्यांकन गर्ने सर्भेयरलाई बिगो वा ५ वर्षसम्मको कैद


नयाँ पत्रिका
काठमाडाै‍‌, ११ साउन
बिमा विधेयकमा भएको दण्ड–सजाय घटाउन सर्भेयर संघको माग
अर्थ मन्त्रालयमा दर्ता भएको बिमा विधेयकमा गरिएको दण्ड सजाय व्यवस्थाप्रति नेपाल बिमा सर्भेयर संघले आपति जनाएको छ । संसद्मा प्रस्ताव गरिएको बिमा विधेयकको दफा १४२ मा बिमा सर्भेयरले बदनियतपूर्ण तरिकाले क्षतिको गलत मूल्यांकन गरी बिमक वा बिमितलाई हानि–नोक्सानी पु-याउने काम गरेमा बिगो जफत गर्ने उल्लेख छ । त्यस्तै अधिकतम १ करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले भने जरिवानाको व्यवस्था गरे पनि कैदको व्यवस्था हटाउन माग गरेको छ ।
सबै बिमाको सर्भे गर्न पाउनुपर्ने
एउटा विषय अध्ययन गरेका सर्भेयरले अन्य विषयमा सर्भे गर्दा उचित मूल्यांकन हुन नसक्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, नेपालमा भने एउटा विषयमा इन्जिनियरिङ गरेर सर्भेयरको इजाजत पाएका सर्भेयरले सबै खालको बिमाको सर्भे गर्दै आएका छन् । सोही कारण नयाँ बिमा विधेयकमा एउटा सर्भेयरले आफ्नो योग्यताअनुसार एक प्रकारको बिमाको मात्रै सर्भे गर्न पाउने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले पुरानै व्यवस्था कायम हुनुपर्ने माग गरेको छ ।

इजाजत अवधिमा पाँच वर्षको हुनुपर्ने
हालको व्यवस्थाअनुसार प्रत्येक वर्ष सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गर्नुपर्छ । संसद्मा प्रस्तावित विधेयकमा पनि इजाजतपत्रको अवधि एक वर्षको राखिएको छ । तर, सर्भेयरहरूले इजाजतपत्रको अवधि पाँच वर्षको राख्नुपर्ने माग गरेका छन् ।
जरिवाना पुरानै ऐनबमोजिम हुनुपर्ने
प्रस्तावित विधेयकमा बिमा सर्भेयरले तोकिएको समयभन्दा ढिलो गरी क्षति मूल्यांकनको प्रतिवेदन बुझाएमा प्राधिकरणले जरिवाना गर्न सक्ने उल्लेख छ । ढिलाइ गरेको अवधिअनुसार न्यूनतम ५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ । सर्भेयर गलत ठहरिएमा पहिलोपटक सचेत गराउने वा १ लाख रुपैयाँ जरिवाना गर्न वा दुवै सजाय गर्न सकिने उल्लेख छ । सोही कार्य पुनः दोहो-याएमा इजाजतपत्र खारेज गरी १० लाख रुपैयाँसम्म जरिवाना गर्ने र बिमितलाई पुग्न गएको क्षतिबराबरको रकम निजबाट असुलउपर गरी बिमितलाई भराइदिन सक्ने व्यवस्था छ ।
पेसाबाट पलायन हुनुपर्नेछ: मोहनपुरुष ढकाल
उपाध्यक्ष, नेपाल सर्भेयर संघ
प्रस्तावित बिमा विधेयकमा गरिएको सर्भेयरको दण्ड सजायको व्यवस्थाले हामी सशंकित भएका छौँ । विधेयकमा गरिएको व्यवस्थाले हाम्रो पेसा धरापमा परेको छ ।
निरीक्षण गर्न दक्ष कर्मचारी हुनुपर्छ :पुष्पदास श्रेष्ठ, प्रबन्ध निर्देशक
ग्लोबल एसिस्टेन्स नेपाल
एउटा सर्भेयरले निर्जीवन बिमाको एक प्रकारको मात्रै सर्भे गर्न पाउने व्यवस्था जायज छ । सर्भेयरले गल्ती गर्दा जरिवाना र जेल पठाउनेसम्मको कारबाही आवश्यक छ । तर, करोडौँका जरिवाना भने व्यावहारिक हुँदैन ।
http://www.nayapatrikadaily.com/2018/07/27/76108/

No comments:

Post a Comment