Friday, July 20, 2018

सिद्धान्तविपरीत जाने सहकारी समस्याग्रस्त


केशवप्रसाद रेग्मी
रजिस्ट्रार, सहकारी विभाग
सरकारले गत साता मात्रै थप नौवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहीनूर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ रहेका छन् । यसअघि ओरिएन्टल सहकारी समस्याग्रस्त घोषणा भएको थियो । ती सहकारीको दायित्व सवा ८ अर्ब रुपैयाँ रहेको छ । सहकारीहरू समस्याग्रस्त हुँदै जाँदा सदस्यको बचत पनि धरापमा परेको छ । केही सहकारी सञ्चालकको नियत खराब हुनुका साथै नियमनकारी निकायको निरन्तर अनुगमन हुन नसक्दा सहकारी समस्याग्रस्त हुँदै गएका छन् । नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन के गर्नुपर्छ भन्नेबारे सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले यस्तो धारणा राखे :
सहकारी सिद्धान्त पालना नगर्दा समस्या
नेपालमा सहकारीको अवधारणा ज्यादै उपयोगी छ । तर, नेपालमा सञ्चालित कतिपय सहकारी सहकारी सिद्धान्तअनुसार चल्न नसक्दा समस्याग्रस्त भएका छन् । जुन सहकारी नियम र विधिअनुसार चल्दैनन्, सहकारीको भावना र मर्मलाई बुझ्न सक्दैनन्, त्यस्ता सहकारी समस्यामा पर्छन् । कतिपय व्यक्ति सहकारीलाई बैंक सोच्छन् । बैंक जसरी नै चलाउन खोज्छन् । त्यसैगरी कोही भने अरूको देखासिकीमा सहकारी सञ्चालन गर्छन् । यसरी अर्कोको लहलहैमा लागेर सञ्चालन गरिएका सहकारी विधिसम्मत चल्न सक्दैनन् र समस्याग्रस्त बन्न पुग्छन् ।
सहकारी शिक्षाको आवश्यकता
आममानिसमा सहकारी भन्नेबित्तिकै बैंक भन्ने बुझाइ छ । सदस्य बनाउने, रकम जम्मा गर्ने र ऋण दिने लिने काम मात्रै हो भन्ने सामान्य बुझाइ छ । तर, सहकारीको अर्थ यतिमा मात्रै सीमित छैन । सहकारीले गर्ने काम बृहत् छ । जसलाई सहकारी सञ्चालकले पनि पूर्ण रूपमा बुझेको पाइँदैन । त्यसैले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने हो भने सहकारी शिक्षालाई व्यापक रूपमा जनमानसमा पु¥याउनुपर्ने आवश्यकता छ । सञ्चालकदेखि लिएर सदस्य र लाभग्राहीलाई पनि यसको उपयोगिताबारे सही जानकारी दिनुपर्छ । त्यसैले हामीले अहिले सहकारीलाई शैक्षिक पाठ्यक्रममा नै राख्ने योजना बनाएका छौँ । सहकारीको छुट्टै संकाय खडा गरी विश्वविद्यालयमा अध्यापन गराइने योजना बनाएका छौँ । त्यसैगरी विद्यालय स्तरमा पनि सहकारी शिक्षालाई समेट्ने योजना रहेको छ ।
सहकारी सदस्यबीच एकता
सहकारी भनेको सहकार्य हो । सहकारीमा आबद्ध रहेका सदस्यको मन र मुटु पनि एउटै हुनुपर्छ । जतिवेलासम्म सहकारीका सबै सदस्यबीच एकता कायम रहन्छ तबसम्म सहकारीले सबैको हितमा काम गर्न सक्छ । तर, सदस्यबीच वैमनश्यता सिर्जना हुन्छ भने सहकारीले उद्देश्यअनुरूप काम गर्न सक्दैन । तसर्थ सहकारीको लक्ष्य हासिल गर्नका लागि सदस्यबीच एकता हुनु आवश्यक छ । भनाइ नै छ, समूहमा शक्ति हुन्छ । सहकारी पनि सदस्यहरूको समूह हो । यदि सदस्यबीच तालमेल मिल्यो भने सहकारी बलियो हुन्छ । मिलेन भने सहकारी डुब्छ ।
त्यस्तै सहकारीका सञ्चालक र सदस्यबीच पनि राम्रो सम्बन्ध हुनुपर्छ । यदि सदस्यलाई सञ्चालकको मात्रै सहकारी हो भन्ने लाग्यो भने सदस्यको योगदान कम हुन जान्छ । सहकारी भनेको एक वा दुईजना व्यक्तिले मात्रै सञ्चालन हुने संस्था होइन । यो भनेको सबैको समान सहकार्यबाट सफल हुने संस्था हो । तसर्थ सञ्चालक र सदस्यबीच राम्रो सम्बन्ध हुनुपर्छ ।
सदस्यको सहभागिता र स्वनियम
सहकारीको हरेक निर्णयमा सदस्यको सहभागिता हुनु आवश्यक छ । सहकारीमा सबै सदस्यको उत्तिकै भूमिका हुने हुँदा हरेक निर्णय लिँदा सबै सदस्यलाई जानकारी गराउनुपर्छ । दुई÷चारजना सञ्चालकबीच मात्रै निर्णय गरेर कुनै पनि काम गर्नुहुँदैन । यसो गरेको खण्डमा सदस्यमा सहकारीप्रतिको आफ्नोपन हुँदैन । सहकारीका प्रत्येक सदस्यमा सहकारीप्रतिको आफ्नोपन अनुभव गराउनुपर्छ । यसका लागि सबै खालका निर्णयमा सहकारीका प्रत्येक सदस्यको विचार लिने र निर्णयमा सहभागी गराउनुपर्छ ।
सहकारी स्थानीयबीचको सहकार्यबाट सञ्चालित हुने संस्था हो । त्यसैले सहकारी स्वनियममा रहनुपर्छ । सहकारीको विकास लागि के गर्दा राम्रो हुन्छ वा कस्ताखालका नियम बनाउनु आवश्यक छ भन्ने कुरा आपसी सहमति र समझदारीमा तय गर्नुपर्छ । प्रत्येक सदस्य तथा सञ्चालकहरू स्वनियमभित्र बस्नुपर्छ । सहकारी स्वनियमभित्र बस्न नसकेको अवस्थामा मात्रै नियमनकारी निकायले हस्तक्षेप गर्छ । सकेसम्म सहकारीले नियमनकारी निकायले हस्तक्षेप गर्न वातावरणको विकास गर्नुहुँदैन ।
प्रभावकारी अनुगमन
सहकारीलाई व्यवस्थित बनाउन नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ । अहिले सहकारी विभागले सहकारीहरूको दैनिक र विशेष दुईखालका अनुगमन गर्दै आएको छ । यसरी अनुगमन गर्दा सहकारीमा देखिएका समस्या हटाउन सम्बन्धित सञ्चालकलाई सचेत गराउँदै आएका छौँ । उहाँहरूलाई सच्चिन समय पनि तोक्छौँ । कतिपय सहकारी काम गर्न नजान्दा समस्यामा पर्ने गरेका छन् । त्यस्ता सहकारी अनुगमन गरेर सचेत गराएपछि तत्काल सच्चिने गरेका पनि छन् । हाल विभागले कोपोमिसको प्रयोग गर्न थालेको छ ।
अहिले कोपोमिसमा तथ्यांक भर्ने काम भइरहेको छ । करिब ३२ हजार सहकारीले यसको प्रयोग गर्न थालेका छन् । यसमा सबैको तथ्यांक आएपछि हामीले सहकारीको अफ साइड र अन साइड अनुगमन गर्न सक्छौँ । अर्थात् कार्यालयमा नै बसेर पनि हामीले सहकारीको वित्तीय अवस्था अनुगमन गर्न सक्छौँ । यसले सहकारी क्षेत्रमा पारदर्शिता ल्याउँछ । हामीले सहकारीको कमजोर सूचक पत्ता लगाएर सच्चाउन सक्छौँ । आवश्यक नीति नियम निर्माण गर्न सक्छौँ । त्यसैले हामी जतिसक्दो छिटो यसको पूर्ण प्रयोगको तयारीमा छौँ ।
सहकारी क्षेत्रलाई सबल बनाउन सम्बन्धित सबै पक्षको सहकार्य हुनु आवश्यक छ । सहकारी, सहकारी संघ, महासंघ, मन्त्रालय, विभागलगायतका पक्षहरूबीच समन्वय र सहकार्य भएको खण्डमा सहकारीका समस्यामा छलफल गर्न सकिन्छ र वास्तविक समस्याको पहिचान गरी समस्याको समाधान खोज्न सकिन्छ ।
सहकारीको सुरुवात
नेपालमा २०१३ मा चितवनमा बखान ऋण सहकारी समितिको स्थापना भएपछि सहकारी अभियान अगाडि बढेको हो । हाल विभिन्न प्रकृतिका ३४ हजार ५ सय १२ सहकारी संस्था दर्ता भएका छन् । ६९ वटा जिल्ला सहकारी संघ, २ सय ५६ वटा विषयगत जिल्लास्तरीय सहकारी संघ, २० वटा विषयगत केन्द्रीय सहकारी संघ, १ राष्ट्रिय सहकारी बैंक र शीर्षस्थ निकायका रूपमा १ राष्ट्रिय सहकारी महासंघ गठन भएका छन् । ५१ प्रतिशतभन्दा बढी महिलाको सहभागितासहित ६३ लाख ५ हजार ५ सय ८१ व्यक्तिको संलग्नता रहेको सहकारी क्षेत्रले पुँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता, उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ ।
http://www.nayapatrikadaily.com/2018/07/20/73405/

No comments:

Post a Comment