Wednesday, July 25, 2018

७ अर्ब दाबी भुक्तानी गरेनन् निर्जीवन बिमा कम्पनीले


मुना कुँवर
काठमाडौं, ११ साउन
भुक्तानी गर्न अझै उदासीन छन् कम्पनीहरू
निर्जीवन बिमा कम्पनीहरूको व्यवसायको दायरा बढ्दै गए पनि दाबी भुक्तानीको प्रक्रियामा भने अझै अनुदार देखिएका छन् । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीहरूले दाबी भुक्तानीबापत छुट्याएको रकम करिब ७ अर्ब रुपैयाँ पुगेको छ । यो सोही अवधिको अघिल्लो आवभन्दा करिब २२ प्रतिशतले बढी हो । तर, समितिको तथ्यांकभन्दा पनि धेरै रकम व्यवस्था गरिएको हुन सक्ने नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए ।
‘धेरै दाबी देखाउँदा धेरै प्रोभिजनिङ (व्यवस्था) गर्नुपर्छ । त्यसैले अधिकांश कम्पनीले कम देखाउने अभ्यास छ,’ उनले भने । समितिको प्रावधानअनुसार कम्पनीहरूमा परेको दाबी भुक्तानी नभएमा १ सय १५ प्रतिशत रकम व्यवस्था गर्नुपर्छ । अर्थात्, १ करोड दाबी भुक्तानी गर्न बाँकी रहेमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ ।
के छ ऐनमा ?
बिमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउनेबित्तिकै बिमकले सर्भेयर खटाउनुपर्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्व निर्धारण गरी बिमकसमक्ष पेस गर्नुपर्छ । सर्भेयरले बिमकसमझ प्रतिवेदन पेस गरेको ३५ दिनभित्र बिमितलाई दाबी  भुक्तानी गर्नुपर्छ ।
युनाइटेड र सगरमाथाले घटाए भुक्तानी रकम
बिमा समितिको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म लुम्बिनी जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी रकम धेरै छ । नेसनल इन्स्योरेन्स कम्पनीको ७५ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
युनाइटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्न बाँकी रकम घटाएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा युनाइटेड इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम करिब ५२ प्रतिशतले घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले भने करिब ४६ प्रतिशतले घटाएको छ ।
प्रभुको सबैभन्दा कम
प्रभु इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम सबैभन्दा कम छ । कम्पनीमा गत आवको अन्त्यसम्म भुक्तानी गर्न बाँकी रकम ५ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको ९ करोड ३३ लाख रुपैयाँ बाँकी छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले बढी हो । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको गत आवसम्म भुक्तानी हुन बाँकी रकम ९ करोड ५९ लाख रुपैयाँ छ ।
१६ प्रतिशत बढ्यो निर्जीवन व्यवसाय
गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय १६ प्रतिशतले बढेको छ । समितिको तथ्यांकअनुसार समीक्षा अवधिमा १७ निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९ अर्ब रुपैयाँले बढी हो । कम्पनीहरूको औसत वृद्धि भने २० प्रतिशत रहेको छ ।
http://www.nayapatrikadaily.com/2018/07/27/76070/

No comments:

Post a Comment