काठमाडौंः बिमा समितिबाट सञ्चालन अनुमति लिएका जीवन बिमा कम्पनीले धमाधम अन्तिम स्वीकृति लिन थालेका छन् । यसै क्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बिमा समितिबाट कारोबार सञ्चालनका लागि अन्तिम सैद्धान्तिक स्वीकृति लिएको छ । अन्तिम स्वीकृति लिनेमध्ये ज्योति लाइफ तेस्रो कम्पनी हो ।
४२ जना सञ्चालक रहेको ज्योति लाइफको चुक्ता पूँजी २ अर्ब २० करोड रहेको कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले बताए । उनका अनुसार कम्पनीले १ अर्ब ५४ करोड पुँजी कायम गरी समितिबाट कारोबारको अनुमति पाएको हो । कम्पनीले सोमबार मध्यान्हदेखि नै विमा पोलिसी जारी गर्न सुरु गरिसकेको छ ।
अनौपचारिक रूपमा कारोबार सुरु गरेको ज्योति लाइफले दसैंअगाडि (असोज ६) गते औपचारिक उद्घाटन गर्ने तयारी गरेको सञ्चालक शर्माले बताए । “सम्भवतः हामी घटस्थापनापछि र फूलपाती अगाडि एउटा सार्वजनिक कार्यक्रमको आयोजना गरी कारोबार सुरु गर्नेछौं,” उनले भने ।
कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाशविक्रम खत्री नियुक्त भएका छन् । वित्तीय क्षेत्रमा सक्रिय खत्री पछिल्लो समयमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका निर्देशकको रूपमा कार्यरत थिए । उनले यसअघि लक्ष्मी बैंक र एनआईसी बैंकमा काम गरीसकेका छन् ।
त्यस्तै, समितिले दिएको अवधिभित्रमा चुक्ता पुँजी कायम नगरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई समय थप गर्ने वा नगर्ने भन्ने विषयमा भने अन्योल रहेको समितिले बताएको छ । समितिले तोकेको समयअनुसार कम्पनीहरुले गत भदौ ७ गते भित्रमा पुँजी कायम गरी सञ्चालन अनुमति लिनुपर्ने हो ।
तर, सञ्चालक धेरै भएपछि समयमा पुँजी पु¥याउन नसकेको महालक्ष्मीले भदौ ५ गते नै समितिमा समय थप गर्न निवेदन दिएको थियो । समितिले भने समय थप गर्न नसक्ने निर्णय गरेपछि कम्पनी अर्थ मन्त्रालय पुगेको थियो ।
अर्थ मन्त्रालयले यस विषयमा समितिलाई पत्राचार गरे पनि समितिले निर्णय गरी नसकेको समितिले बताएको छ । समितिको आगामी सञ्चालक समितिको बैठकले यस विषयमा निर्णय गर्ने जनाएको छ ।
जीवन बिमा व्यवसाय सञ्चालनको लागि अर्थमन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाएका १० जीवन बिमा कम्पनीलाई समितिले गत जेठ पहिलो साता तीन महिना भित्र पुँजी कायम गरेर आउन निर्देशन दिएको थियो । समितिले दिएको पहिलो तीन महिनाको अवधि भित्र नौ वटा कम्पनीले पुँजी कायम गरी सञ्चालन अनुमति लगि सकेका छन् ।
पुँजी कायम गरेका कम्पनीमध्ये आईएम लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स गत असार २० गते कम्पनीले लाइसेन्स लगेका थिए । त्यस्तै, गत साउन १८ गते रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाईसेन्स पाएका थिए । जसमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गतेदेखि कारोबार सुरु गरेको छ ।
http://www.karobardaily.com/news/82092
No comments:
Post a Comment