काठमाडौं : बिमा सर्भेयरहरूले बिमा कम्पनीबाट समयमै पारिश्रमिक नपाउने गरेको गुनासो गरेका छन् । सर्भे गरेको वर्षौंसम्म पनि कम्पनीहरूबाट भुक्तानी नपाएको उनीहरूले बताएका छन् ।
बिमा ऐन २०४९ को दफा ३० (क) मा बिमा सर्भेयरसम्बन्धी व्यवस्था गरिएको छ । बिमा ऐनले क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्यांकन गर्ने इजाजत प्राप्त व्यक्तिलाई बिमा सर्भेयरका रुपमा परिभाषित गरेको छ । सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ ।
बिमा ऐनले कम्पनीहरूले आवश्यक परेको समयमा सर्भेयर राख्न पाउने व्यवस्था गरेको छ । ऐनअनुसार सर्भेयरहरूले सर्भे प्रतिवेदन बुझाएको ३५ दिनभित्रमा कम्पनीहरूले पारिश्रमिक भुक्तानी गरिसक्नु पर्नेछ । तर, कम्पनीहरूले लामो समयसम्म पनि भुक्तानी नगर्ने गरेको बिमा सर्भेयर संघका उपाध्यक्ष मोहन पुरुष ढकालले बताए ।
बिमा व्यवसायमा सर्भेयरको भूमिका अहम् हुन्छ । घटना हुने बित्तिकै घटनास्थलमा सबैभन्दा पहिला सर्भेयर नै पुग्छ । सर्भेयरले बिमित र बिमकबीच पुलको काम पनि गर्छ । तर, काम गरेअनुसार कम्पनीहरूले भुक्तानी भने नदिने गरेको सर्भेयर राजन थापाले बताए ।
“केही कम्पनीले विमितलाई भुक्तानी गर्दा सर्भेयरको पारिश्रमिक पनि भुक्तान गर्छन् । तर, कतिपय कम्पनीले भने दाबी भुक्तानी भइसकेको वर्षौं बितिसक्दा पनि सर्भेयरलाई पारिश्रमिक दिँदैन,” उनले भने ।
समयमा नै भुक्तानी नदिने गरेको सर्भेयरहरूले आरोप लगाए पनि कम्पनीहरूले पनि यसलाई अस्वीकार गरेका छन् । कम्पनीहरूले बिमितलाई भुक्तानी गर्दा सँगसँगै सर्भेयरलाई पनि भुक्तानी गर्ने गरेको युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए । “बरु सर्भेयरहरूले समयमा प्रतिवेदन बुझाउँदैनन् ।
कतिपय सर्भेयरले त तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाएका घटना छन् । के हुँदैछ भनेर अपडेट पनि गराउँदैनन्,” उनले भने, “यस्तो अवस्थामा कसरी समयमा भुक्तानी हुनसक्छ ?” सर्भेयरहरूले प्रतिवेदन बुझाएसँगै विमित र सर्भेयरलाई पनि भुक्तानी गर्ने गरेको नेको इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए । “केही सर्भेयरहरूले महिनावरी पारिश्रमिक लिनुहुन्छ । अन्यथा अन्य सर्भेयरको हकमा भने हामीले समयमा नै भुक्तानी गर्दै आएका छौं,” उनले भने ।
सर्भेयरहरूले पारिश्रमिक नपाउने गरेको बिषयमा समितिमा कुनै जानकारी नभएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “यदि त्यस्तो समस्या छ भने सर्भेयरहरूले समितिमा उजुरी गर्न सक्छन् । तर, हालसम्म त्यस्तो खालको उजुरी आएको मेरो जानकारीमा छैन,” उनले भने ।
समितिको नियम अनुसार इन्जिरियरिङ र चाटर्ड एकाउन्टेटको अध्ययन पुरा गरेका वा कुनै पनि बिमा कम्पनीमा १० बर्षसम्म अधिकृत तहमा काम गरेका व्यक्तिले सर्भेयरको अनुमति लिन पाउँछन् । यसका लागि बिमा समितिले प्रदान गर्ने एक साताको तालिम अनिवार्य रूपमा लिनुपर्छ । बिमा समितिले २०५० सालदेखि सर्भेयर लाइसेन्स दिन थालेको हो ।
http://www.karobardaily.com/news/82279
No comments:
Post a Comment