काठमाडौः बिमा कम्पनीहरूले जोखिमको अधिकतम हिस्सा अनिवार्य रूपमा नेपाल पुनर्बिमा कम्पनीलाई नै हस्तान्तरण गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरिए पनि कार्यान्वयन भने हुन सकेको छैन ।
चालू आर्थिक वर्षको बजेटमा यस विषयलाई सरकारले सम्बोधन गरे पनि अनिवार्य भने गर्न नसक्दा नेपाली कम्पनीहरूले अझै विदेशी कम्पनीमा पुनर्बिमा गर्ने प्रवृत्ति यथावत छ । चालू आवमा पनि कम्पनीहरूले जोखिमको न्यून हिस्सा मात्रै पुनर्बिमा गराएका छन् ।
पुनर्बिमाबापत नेपालबाट बाहिरिँदै गएको रकमलाई मुलुकमा नै रोक्न सरकारले २०७१ सालमा मुलुकभित्रै पुनर्बिमा कम्पनी स्थापना गरेको हो । हालको व्यवस्थाअनुसार नेपाली बिमा कम्पनीहरूले आफ्नो जोखिमको अधिकतम ३० प्रतिशत हिस्सा नेपाल पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्नसक्ने व्यवस्था रहेको छ । तर, बाध्यकारी भने छैन । त्यसैले अझै पनि पुनर्बिमा बापत रकम बाहिरिँदै गएको हो ।
बिमा कम्पनीहरूले पुनर्बिमा कम्पनीलाई बेवास्ता गरेकै कारण चालू आवको बजेट भाषणमा सरकारले अनिवार्य गराउने बिषय सम्बोधन गरेको हो । तर, सरकारी अनिवार्य भने हुन सकेन ।
कुनै पनि बिमा कम्पनीले एउटै पुनर्बिमा कम्पनीलाई सबै जोखिम हस्तान्तरण गर्दैन । त्यस्तै, एउटै पुनर्बिमा कम्पनीले कुनै पनि कम्पनीको सबै जोखिम पनि बहन गर्दैन । तर, नेपाली बिमा कम्पनीहरूले स्वदेशी बिमा कम्पनीलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल पुनर्बिमा कम्पनीमा उपमहाप्रबन्धक दामोदर भण्डारीले बताउँछन् ।
“हामीले आफ्नो क्षमता वृद्धि गर्दै लगेका छौं, हामीले पनि हाम्रो जोखिमको बिमा गराउँछौ । त्यसैले सरकारले निश्चित प्रतिशत नेपाली कम्पनीमा नै अनिवार्य पुनर्बिमा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ,” उनले भने । तर, सरकारले कुनै पनि कम्पनीलाई निश्चित कम्पनीमा पुनर्बिमा गर भनेर अनिवार्य गराउन नसक्ने बिमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् ।
“अहिले पनि अधिकांश कम्पनीहरूले न्यूनतम १५ प्रतिशत जोखिमको पुनर्बिमा नेपाली कम्पनीसँग नै गराएका छन् । चाहेको अवस्थामा ३० प्रतिशतसम्म पुनर्बिमा गराउनसक्ने व्यवस्था छ,” उनले भने ।
धेरै जोखिम बहन गर्नका लागि अहिले नै पुनर्बिमा कम्पनी सक्षम नभएको बिमकहरू बताउँछन् । नेपालमा पुनर्बिमाको अभ्यास भर्खरै सुरु भएको हो । त्यसैले एकैपटक धेरै जोखिम हस्तान्तरण गर्न नेपाली बिमा कम्पनीहरू हच्चिकिएको बिमकहरू बताउँछन् ।
तर, व्यावसायिक दृष्टिकोणले नेपाल पुनर्बिमा कम्पनीभन्दा विदेशी पुनर्बिमा कम्पनीसँग कारोबार गर्दा बिमकहरूलाई फाइदा हुन भएकाले स्वदेशी कम्पनीप्रति कम्पनीहरूले त्यति चासो नदेखाएको सरोकारवालाहरू बताउँछन् ।
बिमा कम्पनीले दुई प्रकारले पुनर्बिमा गराउन सक्छ । सिधै पुनर्बिमा कम्पनीसँग सम्पर्क गरेर वा ब्रोकरको माध्यमबाट पनि पुनर्बिमा गराउन सकिने व्यवस्था छ ।
नेपाली बिमा कम्पनीहरूले विदेशी ब्रोकरहरूको माध्यमबाट विदेशी पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउँदै आएका छन् । यसरी पुनर्बिमा गराउँदा कम्पनीले धेरै कमीशन र सुविधाहरू पाउँने भएकाले कम्पनीहरू विदेशतिर नै आकर्षित हुने गरेको उनीहरूले बताए ।
http://www.karobardaily.com/news/82295
http://www.karobardaily.com/news/82295
No comments:
Post a Comment