Monday, September 18, 2017

योजनामै सीमित कृषि बिमा कम्पनी

मुना कुँवर  
काठमाडौः नेपालको कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन स्थापना गर्ने भनिएको कृषि बिमा कम्पनी योजनामा नै सीमित भएको छ । पुनर्बिमा कम्पनीको नेतृत्वमा जीवन बिमा कम्पनी तथा निर्जीवन बिमा कम्पनीहरूको संयुक्त लगानीमा छुट्टै कृषि बिमा कम्पनी स्थापना गर्ने भनिए पनि कानुनी व्यवस्था नभएकै कारण प्रक्रिया अगाडी बढ्न सकेको छैन । 
नेपालमा २०६९ सालदेखि कृषि बिमा सुरु भएको हो । कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयकै नेतृत्वमा बिमा कार्यक्रम सुरु गरिएको हो । तत्कालीन समयमा कृषि बिमाप्रति कम्पनीहरू उत्साहित नभएपछि सरकारले २०७०/७१ मा कम्पनीहरूलाई अनिवार्य कृषि बिमा जारी गर्न निर्देशन दिएको थियो । फलस्वरूप पछिल्लो समयमा भने कृषि व्यवसाय एकदमै बढेको छ । 
सरकारको योजनाअनुसार कृषि बिमाको माग बढ्दै गएपनि लक्षित वर्गसम्म भने यसको पहुँच नपुगेको कृषकहरूले गुनासो गर्दै आएका छन् । कृषकहरूलाई सुरक्षित बनाउन बिमा आवश्यक भएपनि व्यावसायिक दृष्टिकोणले कम्पनीहरूको लागि भने कृषि बिमा नाफामुखी नभएको बिमकहरूको गुनासो छ ।

तसर्थ छुट्टै कृषि बिमा कम्पनी स्थापना गर्नसके कृषि बिमामा देखिएका समस्या समाधान हुने नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागार्इंले बताए । “एउटै कम्पनीले कृषि बिमामा मात्र काम गर्दा फोकस बढी हुन्छ । यसले बिमाको दायरा पनि बढाउनेछ,” उनले भने । 
गत वर्ष नै कम्पनीहरूले ५ अर्ब रूपैयाँ पुँजी राखेर कम्पनी स्थापना गर्ने आसयपत्र समितिमा बुझाइएको नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष गुरागाईले बताए । जसमा नेपाल पुनर्बिमा कम्पनीको ४६ प्रतिशत, बिमा कम्पनीहरूको ३४ प्रतिशत र साधारण सेयरको हिस्सा ३० प्रतिशत रहने गरी पुँजी संरचना तयार पारिएको छ । “तर, यसलाई परिवर्तन पनि गर्न सकिनेछ,” उनले भने । 
त्यस्तै, प्रत्येक प्रदेश तथा नगरपालिकामा कार्यलय राखिने र कार्यालयमा कृषि र पशु सम्बन्धी भेटेरीनरी डाक्टर तथा जेटिए समिति राखिने योजना रहेको उनले बताए । दिन प्रतिदिन कृषि बिमाको माग बढ्दै गएको छ । तर, सञ्चालन खर्च अधिक हुने र कम्पनीहरूले अन्य व्यवसायसमेत गर्ने हँुदा कृषि बिमा नै फोकस भएर काम गर्न कठिन छ ।
त्यसैले नेपालको कृषि क्षेत्रलाई थप प्रवद्र्धन गर्ने हो भने छुट्टै कृषि बिमा कम्पनीको आवश्यकता रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए । “छुट्टै कम्पनी हुँदा कृषि बिमाले प्राथमिकता पाउनेछ,” उनले भने । 
गत बर्ष कम्पनीहरूले समितिमा पुनर्बिमा कम्पनीको स्थापनाको लागी प्रस्ताव पेश गरेका थिए । तर, छुट्टै कृषि बिमा कम्पनी खोल्ने कानुनी व्यवस्था नभएका कारण प्रक्रिया अगाडि नबढेको समितिले बताएको छ । प्रस्तावित नयाँ बिमा ऐनमा यससम्बन्धी व्यवस्था गरिएको छ । तसर्थ, नयाँ ऐन पारित भएपछि कम्पनी स्थापनाका लागि बाटो खुल्ने समितिले बताएको छ ।
तर, पुनर्बिमा कम्पनीको नेतृत्वमा नै कृषि बिमा खोल्नु व्यवहारिक नहुने समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । “पुनर्बिमा कम्पनीको मुख्य काम भनेको पुनर्बिमा गर्नु हो, तत्कालका लागि कम्पनीले आफूलाई पुनर्बिमाको काममा नै फोकस गर्नु आवश्यक छ,” उनले भने । तर, यदि पुनर्बिमा कम्पनीको सामान्य मात्रै सहभागिता रहनेगरी कम्पनी स्थापना गर्ने हो भने नेपालको लागि उपयोगी हुनसक्ने उनले बताए । 
http://www.karobardaily.com/news/82381

No comments:

Post a Comment