Tuesday, September 12, 2017

२८ जिल्लामा चैते धानको बिमा

मुना कुँवर
काठमाडौंः निर्जीवन बिमा कम्पनीहरूले मुलुकका विभिन्न २८ जिल्लामा चैते धान बाली बिमालेख जारी गरेका छन् । बिमा समितिले गत वर्षदेखि सञ्चालनमा ल्याएको चैते धान बाली बिमामा उक्त जिल्लाका ५ हजार ७ सय ९५ कृृषक सहभागी भएका छन् ।
कृषि बिभागको तथ्यांकअनुसार ३ हजार २ सय १६ हेक्टर क्षेत्रफलमा लगाएको धानको बिमा भएको छ । कृषि विभाग कार्यलयले नेपालमा धान उत्पादनको क्रमलाई बढाउन बृहत धान उत्पादन कार्यक्रम नै सञ्चालन गरिरहेको छ ।
विभाग अन्र्तगतको बाली विकास निर्देशनालयको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सोही कार्यक्रम अन्र्तगत कृषकहरूलाई थप सुरक्षा प्रदान गर्न निर्देशनालयले बिमा समेत अनिवार्य गरेको हो । 
निर्देशनालयले गतबर्ष मात्रै समितिसँगको सहकार्यमा चैतेधान बिमालेख जारी गरेको हो । साथै, गत आवमा नेपालका ३५ जिल्लामा लगाइएका चैते धानको बिमा गर्ने निर्देशनालयले लक्ष्य लिएको थियो ।
तर, दक्ष कर्मचारीको अभाव कारण सात वटा जिल्लामा लगाईएको बालीको बिमा गर्न नसकिएको निर्देशनालयका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताए । 

निर्देशनालयका अनुसार पाँचथर, सिन्धुपाल्चोक, धादिङ्ग, सप्तरी, धनकुटा, बारा, दाङ, पर्सा र नुवाकोट जिल्लामा शतप्रतिशत बिमा भएको छ । त्यस्तै, खोटाङ, सिरहा, चितवन, महोत्तरी, प्यूठान, संखुवासभा तथा अर्घाखाँचीमा भने कुनै पनि बिमालेख जारी भएनन् ।
बाँकी जिल्लाहरूमा आंशीक रूपमा बिमा भएको तथ्यांकले देखाएको छ । त्यस्तै, नुवाकोटबाट सामान्य दाबी परेको वरिष्ठ बाली विकास अधिकृत आचार्यले बताए । त्यस्तै, गत आवमा ३ हजार २ सय १६ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीको बिमा भएको छ ।
जुन विभागले लिएको लक्ष्यको ४६ प्रतिशत मात्र हो । विभागले उक्त जिल्लाका ६ हजार ९ सय हेक्टर क्षेत्रफलमा लगाएको चैते धानबालीको बिमा गर्ने लक्ष्य लिएको थियो । 
योजनाले बिमा अवधिभित्र धानबाली हानी नोक्सानी भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्नेछ । कम्पनीले उत्पादन मूल्यको आधारमा वास्तविक क्षतिको बिमा दाबीमा व्यवस्था भए अनुसारको रकम बिमित कृषकलाई भुक्तानी गर्दछ ।
कृषि पेशालाई प्रवद्र्धन गर्ने सरकारको लक्ष्यअनुसार समितिले चैते धानबाली बिमालेख जारी गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । चैते धान बिमालेख एकल बिमालेख हो । एउटा जिल्लाको लागि एउटा मात्रै बिमालेख जारी गरिन्छ ।
जिल्ला कृषि विकास कार्यालयले चैते धान बाली लगाउने कृषकको तथ्यांक संकलन गर्दछ । सबै कृषकको बालीको एकमुष्ट रूपमा बिमा गरिने जनाइएको छ ।
योजनाले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिउँ, आकस्मिक दुर्घटना, किरा तथा रोगबाट हुने हानीनोक्सानीको रक्षावरण गर्छ ।
साथै सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यलयले तोकिदिए अनुसारको चैते धान बाली कटान समयावधिपछि पनि थप सात दिन भित्रमा खेत÷खरियानमा रहेको अवस्थामा असिना, बाढी, डुबान, पहिरो र पानीका कारण बाली क्षति भएमा समेत यस बिमालेखले रक्षावरण गर्नेछ ।
तर, चैते धान बालीको धनी वा निजको परिवारका सदस्यको लापरवाहीको कारण वा जानाजान मनोरञ्जनको उद्देश्यबाट क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । साथै रिसइबी साँध्ने कार्यको कारणबाट क्षति भएमा पनि भुक्तानी गर्न कम्पनी बाध्य हुनेछैन ।
त्यस्तै, कानुनी निकायको आदेशमा बिमा गरिएको बाली नष्ट गर्नुपर्ने भएमा, चोरी भएमा, बिमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण लगायतका अवस्थामा कम्पनीले दाबी भुक्तानी गर्दैन । 
http://www.karobardaily.com/news/82270

No comments:

Post a Comment