Sunday, September 10, 2017

जीवन बिमा बजार र अबका चुनौती

बिमा समितिबाट हालै नौवटा जीवन बिमा कम्पनीले सञ्चालन अनुमति लिएका छन् । जसमध्ये आईएमई लाईफले भदौ १ गते देखि कारोबार सुरु गरिसकेको छ भने रिलायबल लाइफ र ज्योति लाइफले पनि कारोबार सञ्चालनको अन्तिम स्वीकृति लिइसकेका छन् ।
कम्पनीहरूले अनौपचारिक कारोबार सुरु गरिसकेका छन् भने दसंै अगाडि औपचारिक कारोबार गर्ने तयारी गरेका छन् । यसअघि नै नेपालमा नौ जीवन बिमा कम्पनी सञ्चालन छन् । नयाँ कम्पनीको आगमनले बिमा बजारमा यति बेला तातेको छ ।
तर, नेपालमा बिमासम्बन्धी चेतनाको कमी हुनु, आम्दानी स्तर कम हुनु, दक्ष जनशक्ति अभाव हुनुलगायतका समस्याले जीवन व्यवसाय धरापमा पर्ने सक्ने आंकलन गरिएको छ । यद्यपि यस्ता समस्यालाई सामाधान गरी नेपालमा बिमाको पहुँच कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा गरिएको छलफलका सहभागीले व्यक्त गरेको विचार । 

जति दबाब आए पनि नियम बाहिर गए कारबाही गरिने
चिरन्जीवी चापागाईं 
अध्यक्ष 
बिमा समिति 



हामीले नयाँ जीवन बिमा कम्पनीहरूलाई लाइसेन्स प्रदान गर्ने कार्य भर्खरै सकेका छौं । केहीले कारोबार सुरु गरिसक्नु भएको छ भने केही कम्पनीहरूले पूजा गरेर अनौपचारिक कारोबार सुरु गरी सक्नुभएको छ ।
र, दसंै अगाडि नै औपचारिक कारोबार गर्ने तयारी गर्दै हुनुहुन्छ । त्यस्तै, अन्य कम्पनीले भौतिक पूर्वाधार तयार  गरेर हामीलाई निरक्षणका लागि बोलाउँदै हुनुहुन्छ । हालसम्म हामीले नयाँ नौवटा जीवन बिमा कम्पनीलाई सञ्चालनको अनुमति दिएका छौं । 
नयाँ कम्पनीहरू आउँदा बजारमा धेरै टीका टिप्पणी भए । यो स्वाभाविक पनि हो । एकै पटक धेरै कम्पनी आउँदा भोलि के होला भन्ने सबैको मनमा जिज्ञासा आउनुलाई सामान्य मान्छु म । उसो भए भविष्यमा सबै ठीक नै होला भनेर त म पनि भन्दिनँ । पक्कै पनि विकृति पनि आउन सक्छ । त्यसैले धेरै कम्पनी हुँदा आउन सक्ने समस्यालाई आंकलन गरी हामीले त्यसको समाधानको पनि तयारी गरेका छौं ।  

मैले लाइसेन्स मात्रै वितरण गरेको छैन । लाइसेन्स पाएका कम्पनीका लगानीकर्तालाई प्रमुख कार्यकारी अधिकृतसँग चार वर्षको व्यवसाय योजना माग्नुहोस् भनेको छु । म त्यसलाई आफनै कम्प्युटरमा राख्नेछु ।
र, प्रत्येक वर्ष कम्पनीको प्रस्तुति र उहाँहरूले दिनुभएको योजनालाई भिडाउनेछु । यसले कम्पनीको सक्षमता छलङ्ग पार्नेछ । त्यस्तै, नयाँ बिमा कम्पनीका लगानीकर्ताले छिट्टै नाफा आर्जन गर्ने अपेक्षा नगर्नुहोस् । बिमा कम्पनी भनेको छिट्टै नाफा आर्जन गर्ने ठाउँ होइन । यसको लागि लामो समय लाग्छ । 
यति बेला हामीले अनुगमन र निरीक्षणका कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौं । यसअघि समितिमा कसैले कम्पनीको विरुद्धमा उजुरी दिएको अवस्थामा मात्रै अनुगमन र निरीक्षण गर्ने चलन थियो । तर, अबदेखि भने हामी अनुगमनको प्रक्रियालाई निरन्तरता दिनेछांै । यसका लागि हामीले समितिका कर्मचारीलाई आन्तरिक तालिमसमेत दिइसकेका छौं । र, हामीले चारवटा निर्जीवन र एउटा जीवन बिमा कम्पनीको अनुगमनसमेत गरिसकेका छौं । आगामी दिनमा पनि यो प्रक्रिया जारी रहनेछ । 
त्यस्तै, अबका दिनमा समितिले निर्देशन दिने मात्रै काम गर्दैनांै कम्पनीहरूसँग सहकार्य गर्नेछ । यसको अर्थ कम्पनीहरूले नीति नियमभन्दा बाहिर गएको अवस्थामा पनि समितिले सहकार्य गर्छ भन्न खोजेको होइन । त्यस्तो अवस्था जस्तोसुकै दबाब आए पनि समितिले कारबाही गर्नेछ ।
नेपालमा बिमासम्बन्धी चेतनाको अभाव, भौगोलिक विकटता, दक्ष जनशक्ति अभावलगायतका समस्या रहेको गुनासो सुनिँदै आएको छ । सम्भव भएसम्म आगामी दिनमा यस्ता समस्यालाई हामी हटाउँदै लैजाने छौं । यसका लागि हामीले योजनाहरू बनाएका छांै । समय सापेक्ष त्यसलाई कार्यान्यवन पनि गर्नेछौं । जस्तै दक्ष जनशक्ति निर्माणका लागि हामीले तालिम दिने संस्थाको स्थापना गर्ने सोच बनाएका छौं ।
त्यस्तै, बिमितलाई करमा छुट प्रदान गर्ने विषय धेरै पहिलादेखि उठेको हो । हामीले यस पटकको बजेटमा यस विषयलाई समेट्ने प्रयास गरेका थियौं । अर्थ मन्त्रालयसँगको छलफलमा हामीले सके १ लाख नसके ५० हजार रुपैयाँसम्ममा छुट दिने व्यवस्था गर्ने भनेका थियौ । तर, अर्थ मन्त्रालयले यस पटक निर्वाचनमुखी बजेट भएकाले यसलाई समेट्न नसकिने बताए पछि यस पटक यसलाई हामीले कार्यन्वयन गर्न सकेनांै ।
आगामी दिनमा यसतर्फ हामी पहल गर्दै जाने छौं । त्यस्तै, कम्पनीहरूले बारम्बार लगानीको दायरा बढाउनु पर्ने आवाज उठाउँदै आएका छन् । हामीले यस विषयमा छलफल गरेर अगाडि बढ्नेछांै ।
हामी सबैलाई थाहा छ नेपालमा बिमा पहुँच एकदमै न्यून छ । पहुँच बढाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । मानिसलाई बिमा गरभन्दा पनि बिमा गर्नुपर्छ भन्ने आवश्यकता महसुस गराउनुपर्छ । उसो त पछिल्लो समयमा सञ्चारमाध्यमहरूमा पनि बिमाका समाचार आउन थालेका छन् । तर, सञ्चारमाध्यममा सबैको पहुँच हुँदैन । त्यसैले सञ्चारमाध्यममा पहुँच नहुनेसम्म पनि बिमाको जानकारी पु¥याउन अन्य विकल्पको खोजी गर्नुपर्छ । 
यति बेला धेरैको मनमा लाइसेन्सको पर्खाइमा रहेका अन्य चार निर्जीवन बिमा कम्पनीको प्रक्रिया समितिले किन अगाडि बढाएन भन्ने छ । यो उत्सुकता रहनु जायज पनि छ । किनभनेसँगै प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरूले व्यवसाय पनि सञ्चालन गरिसके तर, निर्जीवन बिमा कम्पनीहरूले सैद्धान्तिक सहमति पनि पाएका छैनन् ।

हो, हामीले योजनाअनुसार नै निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियालाई केही समय थाति राखेका हौं किनभने अहिले बजारमा १० वटा जीवन बिमा कम्पनी थपिँदा कर्मचारीहरू मुभमेन्ट बढिरहेको छ । त्यसैले नयाँ कम्पनीहरूले यसलाई व्यवस्थित गरेपछि थप निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने सोच बनाएका हांै । 

वित्तीय संस्था धराशय हुँदा बिमा कम्पनी पनि संकटमा पर्छन्
शिवनाथ पाण्डे
प्रमुख कार्यकारी अधिकृत
सूर्यालाइफ इन्स्योरेन्स 



नेपालको बिमा बजारमा नयाँ बिमा कम्पनीहरू थपिएका छन् । सुरुवातमा सबैमा एक खालको अन्योलता थियो । नयाँ कम्पनीहरूको प्रवेशमा बजारमा कस्तो खालको प्रभाव पार्ने विषयमा सबै असमजमा थिए । तर, मलाई लाग्छ नयाँ कम्पनीहरूको प्रवेशले बजारमा चेतनाको वृद्धि हुनेछ । किनभने नयाँ कम्पनीहरूले पनि बजारमा विस्तारका लागि विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।
यसले आम मानिसहरूको चेतना वृद्धि गर्नमा सहयोग पुग्नेछ । कम्पनीहरू बढ्दै जाँदा पक्कै पनि प्रस्तिपर्धा पनि बढ्नेछ । यसले बिमाको पहुँच बढाउनमा पनि उत्तिक सहयोग पु¥राउनेछ । बिमा बजार बढ्दै जाँदा नियमनकारी निकाय पनि केही चनाखो हुनुपर्नेछ । विशेष गरी जीवन बिमा कम्पनीहरूले गर्दै आएको लगानीको दायरा बढाउनुपर्ने देख्छु म । अहिले जीवन बिमा कम्पनीहरूले आप्mनो लगानीको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिरहेका छन् ।
कम्पनीहरूका लागि वित्तीय संस्थाको निक्षेप लगानी गर्नु सुरक्षित रहे पनि अन्ततः यसको परिणाम भने राम्रो हुँदैन । किनभने यदि भोलिका दिन कुनै कारणवश वित्तीय संस्था धराशय भए भने बिमा कम्पनीहरू पनि वित्तीय संकटमा पर्नेछन् । त्यसैले कम्पनीहरूले वित्तीय संस्थामा भरपरेर बस्नु हुँदैन । त्यस्तै बिमा कम्पनीहरूको दायित्व लामो अवधिको हुन्छ तर, हालसम्म कम्पनीहरूले लगानी गर्दै आएका क्षेत्रहरू एकदमै छोटो अवधिका छन् । त्यसैले सम्पत्ति र दायित्वको व्यवस्थानका लागि पनि समितिले जीवन बिमा कम्पनीहरूको लगानीको दायरा बढाउनुपर्छ । 
अर्को महत्वपूर्ण विषय भनेको नेपालमा बिमा पहुँच बढाउने हो भने राज्यले नै यसलाई प्राथमिकतामा राख्नुपर्छ । जसरी राज्यले वित्तीय संस्थालाई प्राथमिकता दिएको छ बिमालाई पनि त्यतिकै महत्व दिनुपर्छ  । जबसम्म सरकारले बिमालाई महत्व दिँदैन तबसम्म यसको पहुँच विस्तार हुन सक्दैन । यसका लागि सरकारले कतिपय ठाउँमा बिमालाई अनिवार्य गर्नुपर्छ ।
जस्तै, सरकारी कर्मचारीहरूको बिमा अनिवार्य गर्न सकिन्छ । त्यस्तै, बिमाप्रति मानिसलाई आकर्षित गर्नका लागि सरकारले करमा दिँदै आएको छुटलाई बढाउनुपर्छ । हालको व्यवस्थाअनुसार बिमितहरूलाई २० हजारसम्ममा कर छुट दिइएको छ । तर, यो धेरै थोरै भयो यसलाई बढाएर कम्तीमा पनि १ लाख बनाइनुपर्छ । यसले पनि मानिसलाई जीवन बिमाप्रति आकर्षित गर्नमा सहयोग पु¥याउनेछ । 
त्यस्तै, बिमा क्षेत्रमा दक्ष जनशक्ति आभाव छ । कर्मचारीहरूलाई दक्ष बनाउनका लागि विभिन्न खालका तालिमको आवश्यकता पर्छ । तर, हामीकहाँ बिमाका लागि तालिम दिने निकायको अभाव छ । यसै पनि बिमा आफै प्राविधिक छ । सजिलै बुझन गाह्रो छ । त्यसमा पनि तालिमको अभाव हुदाँ दक्ष जनशक्ति निर्माण गर्न सकिएको छैन ।
त्यसैले समिति आफैंले वा कम्पनीहरूले मिलेर भए पनि तालिम दिने संस्था स्थापना गर्नु जरुरी छ । समितिको क्षमता बढाउन पनि उत्तिकै आवश्यक छ । कम्पनीहरू थपिँदै जाँदा समितिको जिम्मेवारी पनि थपिँदै जान्छ । त्यसैले कम्पनीको क्षमता वृद्धि गर्नुपर्छ ।अभिकर्ता भनेका जीवन बिमा कम्पनीका अभिन्न अंग हुन् । त्यसैले अभिकर्तालाई अझ सक्षम बनाउनुपर्छ भने कम्पनी र बिमितबीच सम्पर्क स्थापित गर्ने संयन्त्रको निर्माण गर्नुपर्छ । 

लगानीको दायरा बढाउनुपर्छ 
अभिजित घोष दस्तिदार
प्रमुख कार्यकारी अधिकृत
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)


नेपालको बिमा बजारमा नयाँ बिमा कम्पनीहरू थपिनु स्वागत योग्य छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं । पहिला हाम्रो परिवारमा नौ जना मात्रै सदस्य थियांै भने आजको दिनमा आइसक्दा हामी १८ जना पुगिसकेका छौं ।
अर्थात् हाम्रो परिवार बढ्दै गएको छ । एक प्रकारले यसले हामीलाई उत्साह मिलेको छ । जति धेरै कम्पनी त्यति धेरै प्रतिस्पर्धा र जहाँ प्रस्तिपर्धा हुन्छ त्यहाँ विकल्प हुन्छ । फलस्वरूप कम्पनीले राम्रो सेवा र वस्तु बिक्री गर्न थाल्छन् । 
तर, बिमा कम्पनीहरूले सधै एईआईओयूलाई ख्याल राख्नुपर्छ । अर्थात्, ए भनेको अवरनेस (चेतना) अर्थात् बिमाका लागि अवरनेश नभई नहुने पहिलो तत्व हो । जबसम्म मानिस बिमाप्रति सचेत हुँदैन तबसम्म उसले बिमा खरिद गर्न सक्दैन । त्यसैले आम मानिसलाई बिमाप्रति सचेत गराउनुपर्छ । ई भनेको एजुकेसन (शिक्षा) । शिक्षाले पनि बिमाको पहुँच महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
त्यसैले बिमासम्बन्धी शिक्षाको आवश्यकता पर्छ । आई भनेको इन्भेस्टमेन्ट (लगानी) । बिमा कम्पनीहरूले बिमितबाट संकलन गरेको रकम लगानी गरेर आम्दानी गरेर नै बिमितलाई बोनस र लगानीकर्तालाई नाफा वितरण गर्ने हो । त्यसका लागि कम्पनीहरूले गर्ने लगानीको क्षेत्र सुरक्षित र लामो अवधिको हुनुपर्छ । तर, अहिले हामीसँग लगानीका लागि सीमित क्षेत्र मात्रै छ ।
जीवन बिमा कम्पनीहरूको दायित्व लामो अवधिको हुने भएकाले कम्पनीहरूले लगानी गर्ने क्षेत्र पनि लामो अवधिको हुनुपर्छ । यसतर्फ कम्पनीले ध्यानु दिनुपर्छ । त्यस्तै ओ भनेको अर्गनाइजेसन (संस्था) । एउटा संस्थामा धेरै व्यक्तिहरू संलग्न हुन्छन् । सबैको आ–आफ्नो भूमिका हुन्छ । तर, एउटा व्यक्तिले आफनो जिम्मेवारीप्रति जवाफदेही नहुदा पूरै संस्था नै धराशयी हुन्छ ।
त्यसैले संस्था जहिले पनि सिस्टम, अनुशासन, नियमभित्र रहेर चल्नुपर्छ । यू भनेको अन्डरराइटिङ्ग । बिमा कम्पनीले बिमा गर्नुअघि र दाबी भुक्तानी गर्दा जोखिमको मूल्यांकन गर्छ । तर, कहिलेकाहीँ कम्पनीहरूले बीच प्रतिस्पर्धा हुँदा जोखिम मूल्यांकनको काम ओझेलमा पर्छ । जसले भविष्य ठूलो संकट निम्ताउँछ । तसर्थ अण्डरराइटिङ्गको काम चुस्त दुरुस्त हुनुपर्छ । 

नयाँ कम्पनी आउँदा बिमा योजना ल्याप्स हुने क्रम बढ्न सक्छ 
उदयराज अधिकारी
जोखिम तथा बिमा विज्ञ

नयाँ कम्पनीहरूले जति अवसर सिर्जना गर्नेछन् त्यति नै समस्या पनि निम्त्याउन सक्नेछ । त्यसको लागि सबै पक्ष तयार रहनुपर्छ । नयाँ कम्पनीहरू थपिएसँगै बिमा योजना ल्याप्स हुने क्रम बढ्न सक्नेछ । जीवन बिमा व्यवसाय पूर्णरूपमा बिमा अभिकर्तामा आधारित हुन्छ ।
त्यसैले नयाँ कम्पनीहरू आएपछि बिमितहरूले भइरहेको योजना छोडेर नयाँ कम्पनीमा जान सक्ने सम्भावना रहन्छ । यदि बिमितले नयाँ कम्पनीबाट नयाँ योजना खरिद गरे भने राम्रो हुन्छ । अन्यथा पुराना कम्पनीहरूलाई समस्या पर्छ । 
त्यस्तै, जीवन बिमा व्यवसाय एजेन्सीबाट सञ्चालित छ । बिमित र बिमकबीच कुनै सम्बन्ध नै हुँदैन । त्यसैले विमकले प्रत्यक्ष रूपमा बिमितसँग पहुँच बढाउनु पर्छ । बिमित र बिमकबीचको दूरी हटाउनुपर्छ । बिमा योजना बिक्री होइन खरिद  गर्ने वातावरण तयार पार्नुपर्छ । 
त्यस्तै, जीवन बिमा कम्पनीहरूले लगानीका लागि नयाँ क्षेत्रको खोजी गर्नुपर्छ । जोखिममा आधारित निरीक्षणको सुरुवात गर्नुपर्छ । प्रशस्त मात्रामा तालिम र अनुसन्धान गरिनुपर्छ । 

बिमाको सेवा समावेशी बनाउनुपर्छ
भोजराज शर्मा 
विमा विज्ञ
बिमा समिति 


नेपालको बिमा क्षेत्रमा देखिएको चुनौती भनेको बिमासम्बन्धी आम जनताको बुझाइमा र चेतनाको कमी हुनु हो । मानिसलाई बिमा किन र केका लागि गर्ने भन्ने नै ज्ञान छैन । त्यसैले मानिसले बिमा गरेर पनि बाध्यता र करले मात्रै गर्छन् ।
अथवा साथीभाइ वा आफन्तका लागि गर्ने गर्छन् । त्यस्तै, न्यूनप्रति व्यक्ति आय हुनु पनि बिमा व्यवसायको चुनौती हो । मानिसले आफ्नो आधारभूत आवश्यक पूरा गरेपछि नै सुरक्षाका लागि सोच्छ । मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बाँस र कपास हो । यी आवश्यक पूरा भए मात्रै सुरक्षाका लागि सोच्छन् । तर, धेरै व्यक्ति यिनै आवश्यकता पूरा गर्नमा नै असक्षम छन् ।
त्यस्तै, बहुसंख्यक बिमा अभिकर्ताहरू राम्रोसँग प्रशिक्षित नहुनु बिमा क्षेत्रको चुनौती हो । बिमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । धेरै अभिकर्तालाई बिमा योजनाका बारेमा राम्रो  जानकारी हुँदैन । जसका कारण उनीहरू बिमा योजना बिक्री गर्न सक्दैनन् । र अधिकांश विमकको शाखाहरू सहर केन्द्रित छन् । धेरै बिमकहरू ग्रामीण भेगमा जान चाहँदैनन् । यसले पनि बिमाको दायरा बढ्न सकेको छैन ।
त्यस्तै, भौगोलिक कठिनाइ, बिमा क्षेत्रमा प्राविधिको विकास नहुनु, दक्ष जनशक्तिको अभाव, बिमासम्बन्धी आर्थिक नीतिमा निरन्तरता नहुनु र लगानीको दायरा सीमित हुनु पनि नेपालको बिमा क्षेत्रका समस्या हुन् । त्यसैले कम्पनीहरूले बिमा सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ ।
जीवन बिमालाई आर्थिक सुरक्षाका साथै दीर्घकालीन बचत लगानीको उत्तम विकल्पका रूपमा स्थापित गर्नुपर्छ । जीवन बिमालाई दुर्गम क्षेत्र तथा समाजका न्यून आय भएका वर्गलगायत सबै तहसम्म बिमा सेवा पु¥याई बिमाको सेवा समावेशी बनाउनुपर्छ । 
http://www.karobardaily.com/news/82228


No comments:

Post a Comment