मुना कुँवर
काठमाडौं । जीवन बीमा भन्नेबित्तिकै ‘दोब्बर भुक्तानी’ भन्ने आममानिसको धारणा छ । निश्चित अवधिपछि बीमितले बुझाएको बराबरको रकम कम्पनी आफैले थपेर दोब्बर भुक्तानी दिन्छ भन्ने खालको बुझाइ छ । यदि तपाईं पनि यही सोच्दै हुनुहुन्छ भने भ्रममा हुनुहुन्छ । जीवन बीमा भनेको ‘दोब्बर भुक्तानी’ होइन । यो त अभिकर्ताले धेरै बीमा योजना विक्री गर्नका प्रयोग गर्ने शब्दमात्रै हो, वास्तविकता होइन । बीमा योजना परिपक्व भएपछि कुनै पनि कम्पनीले बीमा शुल्कबराबरको रकम थपेर भुक्तानी गर्दैन ।
यद्यपि, कुनैकुनै अवस्थामा भने दोब्बर भुक्तानी पनि हुन्छ । तर, यो एउटा संयोग मात्रै हो । बीमा योजना परिपक्व भइसकेपछि बीमितले आफूले बुझाएको बीमाशुल्क र बोनससहित एकमुष्ट रकम प्राप्त गर्छ । यसरी पाउने रकम कहिलेकाहीँ भने ठ्याक्कै दोब्बर हुन्छ । कहिलेकाहीँ हुने यस्तो घटनालाई नै आधार बनाएर बीमा भनेको दोब्बर भुक्तानी भनिएको हो ।
बीमितले प्रत्येक पटक बुझाउने बीमाशुल्कमा बीमा कम्पनीले बोनस प्रदान गर्छन् । यस्तो बोनस वार्षिक रूपमा छुट्ट्याइन्छ । कम्पनीले प्रतिहजारको दरमा बोनस दिन्छ । कम्पनीले दिने यस्तो बोनसदर बीमा योजनाअनुसार हुन्छ । त्यस्तै, यो कम्पनीअनुसार पनि फरकफरक हुन्छ । जुन कम्पनीको बोनसदर उच्च हुन्छ, त्यस्तो कम्पनीको बीमा योजना खरीद गर्दा बीमितलाई फाइदा हुन्छ । बोनसदर उच्च भएका कम्पनीको बीमा योजना खरीद गर्दा दोब्बर भुक्तानी पनि हुन्छ । त्यसैले, बीमा योजना खरीद गर्नुपूर्व कम्पनीको बोनसदरको विषयमा स्पष्ट हुनुपर्ने नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
बोनसदर भनेको कम्पनीले गरेको नाफाबाट बीमितलाई दिइने प्रतिफल हो । कम्पनीले आम्दानी गरेको नाफाको ९० प्रतिशत रकम बीमितलाई वितरण गरिन्छ भने बाँकी १० प्रतिशत लगानीकर्तालाई वितरण गरिन्छ । त्यसैले, उच्च नाफा आम्दानी गरेका कम्पनीको बोनसदर पनि उच्च हुन्छ । कम नाफा आर्जन गर्ने कम्पनीको बोनसदर पनि न्यून हुन्छ । यस्तो बोनसदर वार्षिक रूपमा परिवर्तन हुन्छ । कम्पनीले राम्रो नाफा आर्जन गरेको समयमा बोनसदर उच्च हुन्छ भने नाफा घटेको अवस्थामा बोनसदर पनि घट्छ ।
बीमा समितिको तथ्याङ्कअनुसार
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेशनल लाइफ र जनरल इन्स्योरेन्स कम्पनीबाट बनेको कम्पनी हो । सन् १९८८ मा दुई कम्पनीका एकआपसमा गाभिएका हुन्, जसमा ५५ दशमलव ८५ प्रतिशत हिस्सा नेपाली प्रमोटरको छ । त्यस्तै, अन्तरराष्ट्रिय साझेदारको हिस्सा २ दशमलव १५ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैङ्कको हिस्सा १० प्रतिशत छ भने सर्वसाधारणको हिस्सा ३५ प्रतिशत छ । गतवर्ष यस कम्पनीले प्रतिहजार न्यूनतम रू. ६१ देखि अधिकतम ८० सम्म बोनस दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ कम्पनी सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । यो कम्पनी निजीक्षेत्रको लगानीमा सञ्चालन भएको हो । गतवर्ष यस कम्पनीले न्यूनतम रू. ६५ देखि अधिकतम ८२ सम्म प्रतिहजार बोनस वितरण गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) भारतीय लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डियासँगको साझेदारीमा सञ्चालित कम्पनी हो । यसमा एलआईसी अफ इण्डियाको ५५ प्रतिशत स्वामित्व छ भने विशाल ग्रूपको २५ प्रतिशत स्वामित्व छ । त्यस्तै, सर्वसाधारणको २० प्रतिशत हिस्सा छ । नेपालमा सन् २००१ देखि सञ्चालित यस कम्पनीले गतवर्ष प्रतिहजार न्यूनतम रू. ६१ देखि अधिकतम ७५ बोनस वितरण गरेको थियो ।
मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्यारेन्स कम्पनी नेपालमा २००१ देखि सञ्चालन भएको हो । यस कम्पनीले गतवर्ष वार्षिक प्रतिहजार न्यूनतम रू. ४० देखि ६० सम्म बोनसदर वितरण गरेको थियो ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्स कम्पनी २०६४ सालदेखि सञ्चालनमा आएको हो । कम्पनीमा ७० प्रतिशत संस्थागत स्वामित्व छ भने ३० प्रतिशत सर्वसाधारणको छ । संस्थापन प्रमोटरमा महालक्ष्मी फाइनान्स वीरगञ्ज, एचएण्डबी डेभलपमेण्ट बैङ्क, मालिका डेभलपमेण्ट बैङ्क धनगढी, गुह्येश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्स ललितपुर, सिनर्जी डेभलपमेण्ट बैङ्क बुटवल छन् । यस कम्पनीले गतवर्र्ष प्रतिहजार न्यूनतम रू. ३५ देखि अधिकतम ७० वितरण गरेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी २०६३ सालमा स्थापना भएको हो । कम्पनीमा संस्थापन पक्षकोे ७० प्रतिशत स्वामित्व छ भने ३० प्रतिशत सर्वसाधारण छ । कम्पनीले गतवर्र्ष प्रतिहजार न्यूनतम रू. ३४ देखि अधिकतम ६५ सम्म वितरण गरेको थियो ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २०६४ सालमा स्थापना भएको हो । यस कम्पनीलाई टीएम दुगड ग्रूपले प्रमोट गरिरहेको छ । कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणको छ भने ७० प्रतिशत शेयर संस्थापन पक्षको छ । गतवर्र्ष यस कम्पनीले प्रतिहजार न्यूनतम रू. ४० देखि ७५ सम्म बोनस वितरण गरेको थियो ।
No comments:
Post a Comment