मुना कुँवर
फागुन १३, काठमाडौं । कुल कृषिबीमामा ८४ प्रतिशत अंश पशुबीमाको रहेको छ । चालू आर्थिक वर्ष २०७२/७३ को पुस महीनासम्मको तथ्याङ्कमा त्यस्तो देखिएको हो । कृषि बीमाअन्तर्गतका अन्य बीमाको तुलनामा पशु बीमा सहज भएकाले पनि यसको अंश बढी रहेको बीमा समितिका उपनिर्देशक कुन्दनप्रसाद सापकोटाले बताए । उनले भने, ‘प्राविधिक रूपमा पनि पशुबीमाको मूल्याङ्कन गर्न सहज छ ।’
नेपालको कृषिक्षेत्रको विकास एवम् व्यवसायीकरणका लागि कृषि विकास मन्त्रालयको नेतृत्वमा कृषिबीमाको अवधारणा अगाडि सारिएको हो । मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषिबीमा लागू गरे पनि २०७० सालमा मात्रै यसको कार्यान्वयन हुन थालेको हो । कृषिबीमाअन्तर्गत मन्त्रालयले पशु, पन्छी, माछा र बाली बीमालाई समावेश गरेको छ । तर, तुलनात्मक रूपमा बजारमा पशुबीमाको अंश धेरै रहेको छ ।
समितिको तथ्याङ्कअनुसार चालू आवको पुस महीनाको अन्त्यसम्ममा रू. १ अर्ब ७७ करोडबराबरको कृषि बीमालेख जारी गरिएको छ । उक्त रकममध्ये रू. १ अर्ब ४९ करोडबराबरको पशु बीमालेख जारी भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै सो अवधिमा पशु बीमाबापत निर्जीवन बीमा कम्पनीहरूले रू. ७ करोड ३९ लाखबराबर बीमाशुल्क आर्जन गरेका छन् भने रू. २ करोड ६९ लाख बीमा दाबी भुक्तानी गरिसकेका छन् । पशु बीमालेख जारी हुने क्रम बढेसँगै दाबी भुक्तानीको क्रम बढेको पनि समितिले बताएको छ ।
पशुबीमापछि सबैभन्दा धेरै बाली बीमालेख जारी भएको तथ्याङ्कले देखाएको छ । चालू आवको पहिलो ६ महीनाको अवधिमा रू. १३ करोड ९५ लाखबराबरको बाली बीमालेख जारी भएको छ ।
त्यस्तै, बाली बीमाबापत कम्पनीहरूले रू. ७० लाख ३१ हजार बीमाशुल्क आर्जन गरेका छन् भने रू. ३३ हजार दाबी भुक्तानी भएको छ । सो अवधिसम्म रू. ९ करोड ५ लाखबराबरको पन्छी बीमालेख जारी भएको छ । यो रकम कुल बीमाको ५ प्रतिशत हो । माछा बीमाको अंश भने ३ प्रतिशत अर्थात् रू. ५ करोड ३८ लाखबराबर बीमालेख जारी भएको छ ।
सरकारले कृषिबीमाको थालनी गरे पनि कृषक भने यसतर्फ खासै आकर्षित हुन सकेको देखिँदैन । त्यसैले मन्त्रालयले यसमा अनुदानसमेतको व्यवस्था गरेको छ । आव २०७०/७१ मा मन्त्रालयले कुल बीमाङ्क रकमको ५० प्रतिशत अनुदान दिएको थियो भने आव २०७१/७२ मा आएर ७५ प्रतिशत अनुदान प्रदान गर्दै आएको छ । चालू आवको पुस महीनासम्ममा बाली बीमाअन्तर्गत रू. ५२ लाख ७३ हजार अनुदान वितरण भएको छ भने पशु बीमाअन्तर्गत रू. ५ करोड ५४ लाख अनुदान वितरण भएको छ । त्यस्तै, पन्छी बीमाका लागि रू. २३ लाख २६ हजार र माछा बीमाका लागि रू. ८ लाख २ हजार अनुदान प्रदान गरिसकिएको छ ।
No comments:
Post a Comment