Wednesday, July 31, 2013

अन्य क्षेत्रको तुलनामा होटलमा राम्रो पारिश्रमिक पाइन्छ

खगेश्वर अधिकारीखगेश्वर अधिकारी
प्रमुख मानव संसाधन, साङ्ग्रिला होटल
अन्य क्षेत्रको तुलनामा होटलमा राम्रो पारिश्रमिक पाइन्छ
होटल क्षेत्रमा रोजगारीको आकर्षण बढ्नुको कारण के हो ?  
नेपालको सन्दर्भमा अत्यधिक रोजगारीको सम्भावना रहेको क्षेत्र पर्यटन हो । होटल व्यवसाय पर्यटनसँगै जोडिएर आएको हुन्छ । मानिसहरू यस क्षेत्रप्रति आकर्षित हुनुका विभिन्न कारण छन् । पहिलो कारण त सुविधासम्पन्न होटलहरू पायक पर्ने स्थानमै सञ्चालन गरिन्छ । पायक पर्ने स्थानमा काम गर्दा अन्य कार्यहरू गर्न पनि सजिलो हुने हुँदा होटलप्रति मानिसहरू आकर्षित हुन्छन् । यहाँ काम गर्ने कर्मचारीको व्यक्तित्व पनि आकर्षक देखिन्छ । त्यही आकर्षक व्यक्तित्वकै कारण पनि धेरै युवाको रोजाइ होटल क्षेत्र हुने गर्छ । होटल क्षेत्रमा सबै खालका जनशक्तिको आवश्यकता पर्छ । सामान्य शिक्षा हासिल गरेका व्यक्तिदेखि उच्चशिक्षा हासिल गरेका व्यक्तिले होटलमा रोजगारी पाएका हुन्छन् । सबैका लागि रोजगारीको उपयुक्त क्षेत्र भएकाले होटलमा मानिसको आकर्षण बढेको हो ।

सामान्यतया होटलहरूमा कर्मचारी छनोट गर्ने मापदण्ड कस्ता हुन्छन् ?
कर्मचारी छनोटको मापदण्ड कम्पनीको नीतिअनुसार हुन्छ । हामीले भने कर्मचारीको पदअनुसार शैक्षिक योग्यता तथा अनुभव दुवैलाई प्राथमिकता दिन्छौं । विशेषगरी माथिल्लो तहका कर्मचारीका लागि हामीले अनुभवलाई बढी प्राथमिकता दिने गरेका छौं । तर, तल्लो पदको कर्मचारीको हकमा भने अनुभवलाई कम प्राथमिकता दिएका छौं । किचेनमा काम गर्ने कर्मचारीको हकमा तालीम लिएका व्यक्तिलाई अवसर दिने गरेका छौं । साथै, काम गर्ने मानिस शारीरिक तथा मानसिक रूपमा सन्तुलित हुनैपर्छ ।

कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता कार्य गर्दै आएको छ ?
हामीले प्रत्येक ३ वर्षमा कर्मचारीहरूको समीक्षा गर्ने गरेका छौं । कम्पनीको आवश्यकताअनुसार कर्मचारी थप्ने तथा बढुवा पनि गर्छौं । कर्मचारीको नियुक्तिसँगै सबैलाई ‘ओरियण्टेशन’ र कम्पनीको नीति तथा नियमबारे जानकारी दिन्छौं । त्यसपछि कर्मचारीलाई विभाग प्रमुखको जिम्मा लगाउँछौं । हामीले कर्मचारीलाई २ सय ४० दिन परीक्षणका रूपमा राख्छौं । सोही आधारमा कर्मचारीलाई तलब तथा स्तरवृद्धि पनि गर्छौं । त्यसैगरी, प्रत्येक वर्षमा एकपटक कर्मचारीलाई उत्प्रेरणाका लागि तलब वा पदवृद्धि गर्छौं । समयसमयमा आवश्यकताअनुसार कर्मचारीलाई तालीम पनि दिन्छौं ।

कर्मचारीलाई उत्प्रेरित गर्न कस्ता कार्य गर्दै आउनुभएको छ ?
कम्पनी राम्रोसँग सञ्चालनका लागि कर्मचारीको उत्प्रेरक तत्व थाहा पाउन जरूरी छ । काम गरिरहँदा कर्मचारीमा नैराश्य उत्पन्न हुनु स्वाभाविकै हो । तसर्थ, उनीहरूलाई ‘मोटिभेशन’ गर्न कम्पनीले विभिन्न समयमा तालीम प्रदान गर्ने, तलब वृद्धि एवम् स्तरवृद्धि गर्नु अत्यावश्यक छ । यसो हुँदा कर्मचारी कामप्रति प्रेरित भइरहन्छन् । हामीले आवश्यकताअनुसार समयसमयमा आन्तरिक तालीम पनि प्रदान गर्छौं । केही कर्मचारीलाई हामीले विदेशमा तालीमका लागि पनि पठाउँछौं ।
होटल क्षेत्रमा कर्मचारीको पारिश्रमिकको अवस्था कस्तो छ ?
साङ्ग्रिलामा काम गर्ने तीनओटा सिफ्ट छन् । कर्मचारीले आफ्नो ड्युटीअनुसार होटलमै बिहान वा बेलुकाको खाना–खाजाको सुविधा पाउँछन् । होटलमा काम गर्ने कर्मचारीले मासिक तलबका अतिरिक्त सेवाशुल्क पाउँछन् । त्यसैले पनि होटल क्षेत्रमा पाइने पारिश्रमिक अन्य क्षेत्रको तुलनामा राम्रो हुन्छ । मासिक पारिश्रमिक भने न्यूनतम १० हजार रुपैयाँसम्म हुन्छ ।

होटल क्षेत्रमा कर्मचारीको उपलब्धता कस्तो छ ?
होटल क्षेत्रमा काम गर्ने कर्मचारी पाउन अहिले कठिन छैन । अहिले नेपालमा होटल व्यवस्थापनसम्बन्धी अध्यापन गराइने ३० ओटा कलेज छन् । यिनीहरूले वर्षैपिच्छे राम्रा विद्यार्थी उत्पादन गरिरहेका छन् । साथै, कूकिङ, हाउस क्लिनिङसम्बन्धी तालीम सेण्टर पनि सञ्चालनमा छन् । त्यसैले, अहिले यस क्षेत्रका लागि दक्ष कर्मचारीको उपलब्धता प्रशस्त छ । तर, होटल व्यवस्थापनसम्बन्धी काम गरेर आउने विद्यार्थी भने स्वदेशभन्दा पनि विदेशमा काम गर्न रुचाउँछन् । उनीहरू विदेश पलायन हुने क्रम बढी छ । यसको मुख्य कारण उच्चशिक्षा हासिल गरेर आएका विद्यार्थीहरू होटलमा तल्लो तहमा काम गर्न नचाहनु हो । तर, होटलले भने माथिल्लो तहका लागि अध्ययनका साथै अनुभवलाई पनि प्राथमिकता दिइन्छन् । यसले गर्दा विद्यार्थीहरू तल्लो तहमा काम गर्नभन्दा विदेशमा गएर जुनै काम गर्न पनि रूचाउँछन्, जुन नराम्रो बानी हो ।
http://www.abhiyan.com.np/new/Articles/view/29324

No comments:

Post a Comment