Friday, July 5, 2013

प्रविधि निकै रुचाइएको छ

टीका बीएन डेउलाटीका बीएन डेउला
प्रबन्ध निर्देशक, प्रिफेब आरती एण्ड कम्पनी
निर्माण व्यवसायमा ‘प्रिफेब’

प्रविधि निकै रुचाइएको छ
प्रिफेब प्रविधिबाट कसरी घर निर्माण हुन्छ ?
१३ वर्षदेखि प्रिफेब घर, भवन, हल निर्माण गर्ने काम गरिरहेका छौं । नेपालमा पहिलोपटक यो प्रविधिलाई हामीले भित्र्याएका हौं । सामान्य घर बनाउन सिमेण्ट, बालुवा, गिटी आदीको प्रयोग गरिन्छ । विस्तारै घरको जग, भुइँ, खम्बा, भित्ता तथा छानो निर्माण गरिन्छ । तर, प्रिफेब घर बनाउँदा बालुवा, सिमेण्ट, गिटी आदिको आवश्यकता पर्दैन। घर बन्न आवश्यक भुइँ, भित्ता, खम्बा, छानोलगायत कुरा पहिले नै छुट्टाछुट्टै निर्माण गरिएको हुन्छ । यसरी निर्माण भएका ‘पार्ट’हरूलाई जोड्ने काम मात्रै यस प्रविधिमा गरिन्छ । हामीले मागअनुसारको आकारप्रकारमा घर, भवन, हल आदि निर्माण गर्ने गरेका छौं ।

निर्माण सामग्री कहाँबाट ल्याउनुहुन्छ ?
एभरेष्ट इण्डष्ट्रिज कम्पनी भारतमा उत्पादन भएका सामग्री हामीले प्रयोग गर्दै आएका छौं । भारत, चीन, मलेसिया तथा यूरोपबाट पनि निर्माण सामग्री आयात गर्छौं ।


सामान्य रूपमा निर्माण गरिने र तपाईंहरूले निर्माण गर्ने घरमा के फरक छ ?
यी दुईमा धेरै अन्तर छ । कम समय र मूल्यमा प्रिफेब घर निर्माण गर्न सकिन्छ । सामान्य घर निर्माणभन्दा प्रिफेब घर निर्माणको कार्य ७० प्रतिशत छिटो हुन्छ । सामान्य घर निर्माण गर्दा ६ महीना लाग्छ भने प्रिफेब घर १ महीनामै तयार हुन्छ । यसैगरी, सामान्य घरभन्दा प्रिफेब घर २० प्रतिशत कम मूल्यमा निर्माण गर्न सकिन्छ । घर निर्माण गर्दा प्रयोग गरिएका ७० प्रतिशत सामग्रीलाई पुनः प्रयोग वा विक्री गर्न सकिन्छ । एक ठाउँबाट अर्को स्थानमा सार्न पनि सकिन्छ । यस किसिमका घरमा आगो लाग्ने सम्भावना निकै कम हुन्छ । पानी, कीरा, धमिराले असर पुर्‍याउन सक्दैन । तापक्रम स्वचालित रूपमै सन्तुलित भइरहन्छ । यसको भित्ता दुई इञ्चको मात्रै हुने हुँदा घर बनाउन थोरै स्थान भए पनि पुग्छ ।
 
प्रिफेब घरको फाइदा के हो ?
नेपालमा घर नभएका व्यक्ति धेरै छन् । जमीन भएर पनि घर निर्माण गर्न नसक्नेको सङ्ख्या ठूलो छ । त्यस्ता व्यक्तिले थोरै रकममा यस्तो घर निर्माण गर्न सक्छन् । एउटा सानो परिवारका लागि आवश्यक पर्ने दुईओटा ‘बेडरूम’, भान्साकोठा, शौचालय भएको घर रू. ६ लाख ५० हजारमा निर्माण हुन्छ । यसमा भ्याट भने जोडिएको छैन । थोरै आम्दानी भएका तर घर बनाउन इच्छुक व्यक्तिका लागि प्रिफेब घर उपयुक्त हुन्छ । उदाहरणका रूपमा रोजगारीका लागि खाडी मुलुक गएका व्यक्तिले यस्तो घर निर्माण गर्न सक्छन् । किनभने, एक त उनीहरूसँग सीमित बजेट हुन्छ । कतिपय बिदामा घर आउने मानिससँग घर बनाउने सीमित समय हुन्छ । सीमित बजेट र समयमा सामान्य घर निर्माण गर्न सम्भव हुँदैन । तर, १ महीनाको छोटो समय र थोरै बजेटमा उनीहरूले प्रिफेब घर बनाउन सक्छन् । आफ्नै आँखाअघि परिवारलाई व्यवस्थित गरी फर्कन चाहने धेरै व्यक्ति छन् । यसैगरी, छोटो अवधिका लागि कुनै योजना सञ्चालन गर्ने व्यक्ति वा संस्थाका लागि प्रिफेब घर सान्दर्भिक हुन्छ । उनीहरूले आफ्नो कार्यक्रम समाप्त भएपछि घर विक्री गर्न, सार्न वा पुनः प्रयोग गर्न सक्छन् । नेपालमा प्रिफेब घर अझ बढी उपयुक्त हुन्छ । भूकम्पीय दृष्टिले नेपाल अति जोखीममा रहेको मानिन्छ । यस्तो खालको घर हलुका हुने हुँदा भूकम्प तथा प्राकृतिक प्रकोप भएको अवस्थामा पनि क्षति कम गर्न सघाउँछ ।

हालसम्म कम्पनीले कहाँकहाँ घर निर्माण गरेको छ ?
पूर्वदेखि पश्चिमसम्म हामीले आफ्नो व्यवसाय विस्तार गरिसकेका छौं । केही वर्षअघि नै पाँचओटै विकासक्षेत्रमा हामीले अनमिनको कार्यालय निर्माण गर्‍यौं । पाटन मेडिकल कलेजको भवन निर्माण पनि हामीले गरेका हौं । यसैगरी सिंहदरबारभित्र राष्ट्रिय आपत्कालीन केन्द्र, थुप्रै हाइड्रोपावर कार्यालय, रिसोर्ट, विद्यालय, अस्पताललगायतका भवन निर्माण हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं ।

यो व्यवसायका समस्या के हुन् ?

हाम्रो व्यवसायको प्रमुख समस्या भनेको नै मानिसले झट्टै विश्वास नगर्नु हो । पहिलेको तुलनामा धेरै सुधार भए तापनि अझै हामीले सोचेजति हुन सकेको छैन । भित्ताको मोटाइ पातालो हुने हुँदा सुरक्षाका हिसाबले कमजोर हुन्छ भन्ने मानसिकता अझै छ । तर, हामी मानिसलाई विश्वास दिलाउँदै छौं ।

व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
शुरुआती समयमा हामीलाई निकै कठिन भएको थियो । नेपालमा नयाँ व्यवसाय भएकाले पनि मानिसले विश्वास गर्दैनथे । एक ट्रक सामग्री विक्री गर्न पनि हामीलाई २ वर्ष लाग्थ्यो । तर, अहिले समय परिवर्तन भइसकेको छ । मानिसको बुझाइमा पनि सुधार आएको छ । त्यसैले, प्रिफेब घर, भवन निर्माण गर्नेको सङ्ख्या वृद्धि हुने क्रममा छ । विगत ५ वर्षको तुलना गर्दा अहिले हाम्रो व्यवसाय ४ सय गुणा वृद्धि भएको छ ।

योजना के छन् ?

निर्माण सामग्री बाह्य मुलुकबाट आयात गर्नुपर्छ । यसरी आयात गर्दा सामानको मूल्य पनि धेरै पर्न जान्छ । तसर्थ, यस्ता निर्माण सामग्री नेपालमै उत्पादन गर्ने प्रयास गर्दै छौं । भविष्यमा नेपालमै प्रिफेब घरलाई आवश्यक कच्चापदार्थ उत्पादन गर्ने हाम्रो उद्देश्य हो । यसो हुन सकेमा यसको निर्माण मूल्य पनि घट्नेछ ।

http://www.abhiyan.com.np/new/Articles/view/27796 

No comments:

Post a Comment