Friday, July 19, 2013

नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ ल्याएका छौं

 
पूर्ण चालिसेपूर्ण चालिसे
सञ्चालक, ब्लिसजोन इण्टरप्राइजेज
नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ ल्याएका छौं
नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको हो ?
हो, नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको छ । मानिसको आवश्यक उपभोग्य सामग्रीभित्र फर्निचर पनि पर्छ । सामान्य स्तरको व्यक्तिदेखि उच्चस्तरको मानिसले यसको प्रयोग गर्छन् । त्यसैले पनि यो व्यवसाय वृद्धि हुन गएको हो । अर्कोतिर, बसाइसराइको क्रम तीव्र हुँदै गएको छ । मानिस शहरकेन्द्रित हुँदै जान थालेका छन् । यसले गर्दा पनि फर्निचर व्यवसाय अझ फस्टाउन सकेको हो ।

उपभोक्ताको फर्निचर खरीद गर्ने प्रवृत्तिमा कत्तिको परिवर्तन आएको देख्नुहुन्छ ?
उपभोक्ताको फर्निचर खरीद प्रवृत्तिमा परिवर्तन आएको हामी सहजै अनुमान लगाउन सक्छौं । आजभन्दा केही वर्षअघि मात्रै नेपाली बजारमा स्वदेशी उत्पादनको वर्चस्व थियो । सबै व्यक्तिले स्वेदशी काठबाट निर्मित फर्निचर नै प्रयोग गर्थे । आवश्यकताका लागि होस् वा शौखका लागि नेपाली उत्पादनको नै प्रयोग हुन्थ्यो । तर, अहिले यो खरीद प्रवृत्तिमा परिवर्तन आएको छ । बजारमा अन्तरराष्ट्रिय उत्पादनका फर्निचर पनि भित्रिन थालेका छन् । यसले उपभोक्तालाई छनोट गर्ने अवसर प्रदान गरेको छ । यस्तो अवस्थामा उच्चवर्गका मानिस अन्तरराष्ट्रिय उत्पादनका सामग्रीप्रति आकिर्षत हुन थालेका छन् । यसको एउटा कारण भनेको विप्रेषण पनि हो । विप्रेषणले मानिसको आर्थिक स्तर उकासेको छ । यसले गर्दा मानिस शौखिन हुँदै गएका छन् ।

फर्निचर छनोट गर्दा उपभोक्ताले ध्यान दिनुपर्ने विषय के हुन् ?
उपभोक्ताले फर्निचर खरीद गर्दा गुणस्तरलाई नै प्राथमिकता दिनुपर्छ । बजारमा हेर्दा उस्तै देखिने धेरै प्रकारका फर्निचर छन् । उस्तै देखिने भए पनि पनि तिनको मूल्य र गुणस्तरमा भिन्नता छ । तर, सामान्य उपभोक्ताले फर्निचरमा फरक छुट्ट्याउन सक्दैनन् । यसका लागि फर्निचर खरीद गर्नुअघि दुईतीनओटा पसलमा गएर फर्निचरको विषयमा बुझ्नुपर्छ । फर्निचरको मूल्य तथा गुणस्तर दाँजेर हेर्नुपर्छ । त्यसपछि मात्रै गुणस्तरीय फर्निचर छुट्ट्याउन सकिन्छ । केही रकम बढी तिरेर भए पनि गुणस्तरीय फर्निचर खरीद गर्नु नै उपयुक्त हुन्छ ।

फर्निचर व्यवसायीले केकस्ता समस्या भोग्नुपरेको छ ?
फर्निचर व्यवसायको प्रमुख समस्या भनेको नै राजनीति हो । त्यसपछि सरकारी कर्मचारीको खराब नियत आउँछ । यिनीहरू हाम्रो व्यवसायका लागि मात्रै नभई सबै व्यवसायका लागि समस्या हुन् । सामग्री भन्सारदेखि शोरूमसम्म ल्याइपुर्‍याउँदा कर्मचारीले धेरै दुःख दिन्छन् । नीतिनियमलाई अनावश्यक र झन्झटिलो बनाइदिन्छन् । एक दिनमा हुने काम १ महीना लगाइदिन्छन् । यस्ता समस्याले व्यवसायीलाई निरुत्साहित गर्छ ।

तपाईंले विक्री गर्ने फर्निचरको विशेषता के हो ?
नेपालमा अन्तरराष्ट्रिय फर्निचर व्यवसायीको सङ्ख्या न्यून छ । सीमित सङ्ख्यामा रहेका व्यवसायीले एकलौटी रूपमा व्यवसाय गर्दै आएका छन् । उनीहरूले आफनो इच्छाअनुसार फर्निचरको मूल्य तोकेका छन् । त्यसैले, अन्तरराष्ट्रिय उत्पादनको फर्निचरको मूल्य अधिक हुने भ्रम मानिसमा छ । तर, यो वास्तविकता भने होइन । त्यसैले, सबैभन्दा पहिला त हामीले यस्तो भ्रमलाई तोडेका छौं । न्यून मार्जिन राखी उपभोक्तालाई फर्निचर उपलब्ध गराएका छौं, जुन सामान्य व्यक्तिको बजेटभित्र पनि आउँछ । यसैगरी हामीले नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ (ढुङ्गाजस्तो देखिने टायल) भित्र्याएका छौं । नमूनाको रूपमा हामीले केही ‘पिस’ राखेका छौं । यस टायलका धेरै फाइदा छन् । यसले आकाशबाट झर्दा आउने पानीको आवाज सोस्छ । तापक्रम सन्तुलित बनाइराख्छ, खिया लाग्दैन । हामीले यस टायलमा २५ वर्ष वारेण्टी दिएका छौं । यीबाहेक ‘बेडकम सोफा’ पनि हामीले भित्र्याएका छौं । आवश्यकताअनुसार यो सोफालाई बेडको आकारमा पनि परिवर्तन गर्न सकिन्छ । त्यसैले, यसको नाम ‘बेडकम सोफा’ राखिएको हो । ‘रोतान सोफा’ पनि अर्को आकर्षक फर्निचर हो । यो सोफाको संरचना बासको चोयाजस्तो देखिन्छ । त्यस्तै, हामीले  रिक्लाइन सोफा, मलेसियन काठबाट बनेको डाइनिङ टेबल, फोल्डिङ डाइनिङ टेबल, यूरोपियन डिजाइनका बेडलगायत फर्निचर नेपाल भित्र्याएका छौं । साथै उपभोक्ताको आवश्यकतालाई दृष्टिगत गरी हामीले इण्टेरियर डिजाइनको काम पनि गर्दै आएका छौं ।

फर्निचर कहाँबाट आयात गर्नुहुन्छ ?
विभिन्न मुलुकमा उत्पादन गरिएका फर्निचर नेपाली बजारमा पाइन्छन् । थाइल्याण्ड, ताइवान, चीन र केही व्यवसायीले यूरोपियन देशबाट पनि फर्निचर आयात गरेको सुनिन्छ । तर, हामीले भने मलेसिया, भियतनाम, चीनबाट फर्निचर आयात गरिरहेका छौं । फर्निचरका विभिन्न भाग फरकफरक मुलुकबाट ल्याई जडान गर्ने कम पनि गर्छौं ।

तपाईंहरूको योजना के छ ?
नेपालमा सञ्चालित अन्तरराष्ट्रिय फर्निचर व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित छ । तर, हामी यो व्यवसायलाई काठमाडौंबाहिर पनि विस्तार गर्ने योजनामा छौं । १ वर्षभित्रमै हामीले हाम्रो शाखालई भक्तपुर, कलङ्की, पोखरा, बुटवल, विराटनगरमा विस्तार गर्दै छौं । निकट भविष्यमा नेपालमा नै बाँसका फर्निचर उत्पादन गरी यूरोपियन बजारमा निर्यात गर्ने सोच बनाएका छौं ।  
http://www.abhiyan.com.np/new/Articles/view/28652

No comments:

Post a Comment