विदेश जानेलाई सचेत र सक्षम बनाउँदै ‘पौरखी नेपाल’
नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक १ हजार ५ सयभन्दा बढी मानिस विभिन्न मुलुकमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । नेपालबाट रोजगारीका लागि विदेश पलायन हुने क्रम दिनप्रति दिन बढ्दो छ । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणले नै अहिलेको अर्थतन्त्रलाई धानिरहेको छ । तर, धेरै नेपालीहरू वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारीको अभावमा अल्मलिने तथा ठगिने गरेको पौरखी नेपालकी प्रवक्ता सत्रकुमारी गुरुङ बताउँछिन् । अझ पछिल्लो समयमा विदेशिने नेपाली महिलाको सङ्ख्या पनि बढ्दो छ । यो क्रमसँगै उनीहरू विभिन्न किसिमको शोषण र दुव्र्यहारको शिकार हुने डर पनि उत्तिकै बढेको छ ।
वैदेशिक रोजगारीमा जाने महिलाहरू आफूले गर्ने कामको प्रकृति, तह, शीप र सूचनाको अभावका कारण स्वदेशमै ठगिने गरेको उनको भनाइ छ । म्यानपावर कम्पनीले गरेको शर्तअनुसार विदेशमा काम, तलब, सुविधा नपाएको दाबी गर्ने नेपाली धेरै छन् । त्यसैले, कामदारहरूले आफू जाने देशको श्रमसम्बन्धी ऐन, मापदण्ड, कामदारको हकअधिकार तथा सेवासुविधासम्बन्धी जानकारी राख्नुपर्छ ।
वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूको यस्तै समस्या सम्बोधन गर्न पौरखी नेपालको स्थापना भएको प्रवक्ता गुरुङको भनाइ छ । विदेशमा काम गरी फर्किएका ६ जना महिला कामदार तथा एकजना पुरुषको सहकार्यमा २०६० सालमा यसको स्थापना भएको हो । संस्थाले आफ्नो उद्देश्यअनुसार वैदेशिक रोजगारीसम्बन्धी चेतना जगाउन ‘पौरखी’ कार्यक्रम प्रत्येक साताको आइतवार रेडियो नेपालबाट प्रसारण गरिसकेको छ । कार्यक्रमले वैदेशिक रोजगारसम्बन्धी विभिन्न नीतिगत निर्णयदेखि विभिन्न कम्पनीमा माग भएका अवसरको सूचनासमेत प्रसारण गर्थ्यो ।
त्यस्तै संस्थाले वैदेशिक रोजगारीको क्रममा शारीरिक हिंसामा परी फर्केका महिलालाई सहारा दिन सुरक्षित आवास पनि सञ्चालन गरेको छ । शारीरिक अशक्त, मानसिक सन्तुलन गुमाएका, गर्भवती भई फर्केका, बच्चा लिएर फर्केका तथा बेखर्ची भई फर्केका महिलालाई संस्थाले गृहमा संरक्षण दिने गरेको प्रवक्ता गुरुङ बताउ“छिन् । त्यस्तै संस्थाले फर्केर आएका महिलालाई उद्यमशील बनाउन विभिन्न तालीम पनि प्रदान गर्दै आएको छ । यसैगरी रोजगारीको क्रममा स्वदेश तथा विदेशमा रहँदा विभिन्न समस्या भोगेका कामदारलाई संस्थाले आवश्यक कानूनी सेवा दिने गरेको छ ।
काठमाडौं तथा वरपरका क्षेत्रमा मात्र आफ्ना गतिविधि सञ्चालन गर्दै आएको संस्थाले नेपालका १५ जिल्लामा शाखा विस्तार गरेको छ । संस्थाले सिन्धुपाल्चोक जिल्लालाई भने विशेष प्राथमिकता दिएर ५० ओटा गाविसमा ‘सामुदायिक सतर्कर्ता समूह’ स्थापनासमेत गरेको बताएको छ ।
२००९ देखि २०१३ अप्रिलसम्ममा संस्थामा परेका मुद्दा
- कुल मुद्धा सङ्ख्या : ६ सय २७
- महिला : २ सय ९६
- पुरुष : ३ सय २९
- सफल भएका मुद्दा : ३ सय ७८
- प्रक्रियामा रहेका मुद्दा : २ सय ४९
मुद्दाका प्रकृति
- उद्धार : ३ सय ८२
- क्षतिपूर्ति : १ सय ८५
- लाश झिकाउने : ९
- कागजपत्र जफत : ३
- संस्थाले उद्धार गरेको सङ्ख्या
- कुल सख्या : ६ सय ६१
- बच्चासहित उद्धार गरिएको : ११
- मानसिक सन्तुलन बिग्रिएका महिला : ३१
- शारीरिक अशक्त : १ सय ३०
- गर्भपतन : ११
उद्यमशीतलासम्बन्धी तालीम लिनेको सङ्ख्या
- सन् २०१० – ७ सय २२
- सन् २०१३ – १ सय
http://www.abhiyan.com.np/new/Articles/view/29390
No comments:
Post a Comment