Wednesday, August 7, 2013

दक्ष व्यक्तिले मासिक न्यूनतम रू. ४० हजार कमाउँछन्

मुना कुँवर

 
दक्ष व्यक्तिले मासिक न्यूनतम रू. ४० हजार कमाउँछन्


टङ्कप्रसाद भट्टराई
उपाध्यक्ष, मानव संसाधन विभाग, सुबिसु केबल नेट प्रालि

नेपालमा अहिले सूचनाप्रविधिको क्षेत्रमा दक्ष कर्मचारीको उपलब्धता कस्तो छ ?

पहिलेको तुलनामा अहिले इन्फर्मेशन टेक्नोलोजी (आईटी)को क्षेत्रमा कर्मचारीको उपलब्धता सहज छ । नेपालमा अहिले थुप्रै आईटी कलेज सञ्चालनमा छन् । त्यस्ता कलेजबाट दक्ष जनशक्ति उत्पादन पनि भइरहेका छन् । त्यस्तै विभिन्न सूचनाप्रविधिसँग सम्बन्धित कम्पनीले पनि जनशक्ति उत्पादन गर्दै आएका छन् । यस्तै विविध कारणले पनि सूचनाप्रविधि क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता सहज बन्दै गएको हो ।

कम्पनीको विकासका लागि मानव संसाधन विभागले कस्तो भूमिका खेलेको हुन्छ ?

कुनै पनि कम्पनीको दिगो विकासका लागि मानव संसाधन विभागको भूमिका महत्वपूर्ण हुन्छ । कम्पनीको मुख्य अङ्ग भनेको कर्मचारी हो । विभागले कर्मचारीको नियुक्ति, विकास तथा कर्मचारीबाट उच्च प्रतिफल लिन विभिन्न गतिविधि सञ्चालन गर्छ । उपयुक्त समयमा सही कर्मचारीको छनोट गने, कर्मचारीलाई आवश्यकताअनुसार तालीम प्रदान गर्ने, कर्मचारीबाट धेरै काम लिन उनीहरूलाई उत्प्रेरित गर्नेजस्ता काम विभागले नै गर्छ ।



तपाईंको कम्पनीले कर्मचारीलाई कामप्रति प्रेरित गर्न कस्ता काम गर्छ ?

हामीले कर्मचारीलाई प्रेरित गर्न विभिन्न किसिमका सुविधा दिँदै आएका छौं । उदाहरणका लागि कर्मचारीलाई इण्टरनेट तथा टीभी कनेक्शन निःशुल्क दिएका छौं । कर्मचारीको स्तर र कामको प्रकृतिअनुसार स्वास्थ्योपचार, मोटरसाइकलको पेट्रोल तथा सर्भिसिङ शुल्क पनि उपलब्ध गराउँदै आएका छौं । हेर्दा सामान्य देखिए पनि यसले कर्मचारीलाई प्रेरित गर्न ठूलो सहयोग पुर्‍याउँछ । यसैगरी, कर्मचारीलाई समयमै पारिश्रमिक दिनुका साथै  कर्मचारीको मेहनतअनुसार पुरस्कार पनि दिने गरेका छौं । प्रत्यक वर्षको अन्त्यमा कर्मचारीको समीक्षा गर्दै पारिश्रमिक र स्तरवृद्धि गर्छौं । यसले कर्मचारीलाई काम गर्न प्रेरित गर्छ  । कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालीम पनि प्रदान गर्दै आएका छौं ।


सामान्यतया कर्मचारी छनोटमा कस्ता मापदण्ड अपनाउने गरिन्छ ?

हामीले कर्मचारीको छनोट गर्दा सबैभन्दा पहिला शैक्षिक योग्यतालाई प्राथमिकता दिन्छौं । विभिन्न विभागअनुसार आवश्यक कर्मचारीको शैक्षिक योग्यता निर्धारण गरिएको हुन्छ । त्यसपछि अनुभवलाई प्राथमिकतामा राख्छौं । त्यसैगरी, युवा, लगनशील एवम् आकर्षक व्यक्तित्वलाई हामीले बढी प्राथमिकता दिने गर्छौं । यद्यपि, हामीले अनुभव नभएकालाई पनि अवसर भने दिँदै आएका छौं । कतिपय युवामा नयाँ सोच हुन्छ । क्षमतावान् व्यक्तिलाई अनुभव नभए पनि रोजगारीको अवसर छ ।


यस क्षेत्रमा रोजगारी गर्न चाहने कर्मचारीको पारिश्रमिक कस्तो छ ?

अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा पारिश्रमिक आकर्षक नै छ । सम्बन्धित विषयमा अध्ययन पूरा गरेको र अनुभवी व्यक्तिले कम्तीमा मासिक ४० हजार रुपैयाँ कमाउन सक्छन् । त्यस्तै, सूचनाप्रविधिमा अन्तरराष्ट्रिय प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीले विदेशमा समेत राम्रो कमाइ गर्न सक्छन् ।
http://www.abhiyan.com.np/new/Articles/view/29684

No comments:

Post a Comment