Friday, August 9, 2013

एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा उपलब्ध छन्

मुना कुँवर

 

युवराज श्रेष्ठयुवराज श्रेष्ठ
कार्यकारी निर्देशक,‘द पोर्टल’ प्रालि

एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा उपलब्ध छन्
भारत र अष्ट्रेलियाबाट इञ्जिनीयरिङमा उच्चशिक्षा हासिल गरेका युवराज श्रेष्ठ हाल रियल इस्टेट तथा इञ्जिनीयरिङसम्बन्धी काम गर्ने कम्पनी ‘द पोर्टल’का कार्यकारी निर्देशक छन् । विदेशमा प्राप्त अवसरलाई छाडेर आफ्नो अध्ययन तथा अनुभवलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले श्रेष्ठ नेपाल फर्किएका हुन् । एक दशकदेखि घरजग्गा निर्माण व्यवसायमा आबद्ध श्रेष्ठसँग नेपालको घरजग्गा व्यवसायको अवस्थाका विषयमा अभियान संवाददाता मुना कुँवरले गरेको कुराकानीको सार :

घरजग्गा कारोबारको अवस्था कस्तो छ ?

अहिले नेपालमा घरजग्गा व्यवसायको अवस्था राम्रै छ । हालै गरिएको एक सर्वेक्षणले काठमाडौंको जनसङ्ख्याअनुसार ४० हजार घर अपुग रहेको देखाएको छ । यसले नेपालमा घरजग्गा व्यवसायको अवस्था अझै राम्रो भएको सङ्केत गर्छ । तर, केही वर्षअघि भने धेरै मानिस अर्काको देखासिकी गर्दै यस व्यवसायमा लागे । थोरै समयमा धेरै नाफा कमाउने होडमा मानिसले गरिरहेको काम छाडेर पनि यस व्यवसायमा हाम फालेका थिए । त्यसले गर्दा यस व्यवसायलाई हेर्ने मानिसको दृष्टिकोण नकारात्मक भएको छ । यसैगरी, अहिले अपार्टमेण्ट तथा घर निर्माण गर्ने कम्पनी प्रशस्त खुलेका छन् । तर, अधिकांश कम्पनीसँग निर्माणसम्बन्धी राम्रो ज्ञान छैन । त्यसकारण यस्ता कम्पनीमा विभिन्न समस्या पनि देखापर्ने गरेका छन् । यद्यपि, बजारमा केही राम्रा कम्पनी पनि छन् । ती व्यावसायिक रूपमै अगाडि बढिरहेका छन् ।

शहरी क्षेत्रमा मानिसमा कस्तो खालका घर बनाउने ‘ट्रेण्ड’ छ ?

केही समयदेखि मानिस अपार्टमेण्ट तथा हाउजिङप्रति आकर्षित थिए । आधुनिक शैली तथा सुविधासम्पन्न हुने भएकाले पनि यसप्रति मानिसको चासो बढेको हो । तर, अहिले भने मानिसमा आफ्नै घरको चाहना बढिरहेको छ । उचित मूल्य र आधुनिक शैलीका घरप्रति मानिसको चासो बढ्न थालेको छ । त्यसैले, अहिले नेपालमा कम मूल्यमा आधुनिक शैलीमा निर्माण गरिएको चिटिक्क परेको घर बनाउने ट्रेण्ड छ । 

उपत्यकामा घर निर्माण गर्दा भूकम्पीय जोखीमलाई कत्तिको ध्यान दिइन्छ ?

केही वर्षअघि बनेका घर भूकम्पीय दृष्टिकोणले असुरक्षित छन् । काठमाडौंमा यस्ता घर थुप्रै छन् । तर, केही समययता भने भूकम्पका विषयमा मानिस सचेत हुन थालेका छन् । यससम्बन्धी चेतनाको विकास हुँदै गएको छ । साथै, घर निर्माणमा अत्याधुनिक वैज्ञानिक प्रविधिको प्रयोग हुन थालेको छ । त्यसैले, पहिलेको तुलनामा अहिले निर्माण भएका घर भूकम्पीय दृष्टिकोणमा बलिया र सुरक्षित छन् ।

घर बनाउन कस्तो जग्गा उपयुक्त हुन्छ ?

घर निर्माण गर्दा जग्गाको छनोट महत्वपूर्ण विषय हो । घर बनाउने जग्गा सामाजिक तथा प्राविधिक रूपमा उपयुक्त हुनुपर्छ । जग्गावरपरको समाजिक परिवेश सभ्य हुनुपर्छ । जग्गा फराकिलो हुनुपर्छ । जग्गामा बाटो, पानीको पाइप, ढलको पाइप पुगेको हुनुपर्छ । साथै, इञ्जिनीयरिङ र वास्तुका दृष्टिकोणले चार कुना भएको जग्गा घर बनाउन उत्तम मानिन्छ ।

सुरक्षित घर बनाउन केके विषयमा ध्यान दिनुपर्छ ?  

घरसँग मानिसको जीवनका धेरै विषय जोडिएका हुन्छन् । त्यसैले, घर बनाउँदा धेरै विषयमा ध्यान पुर्‍याउनुपर्छ । उदाहरणका लागि जग्गाको छनोट, निर्माण सामग्री र निर्माण गर्ने कम्पनीको छनोटमा ध्यान दिनुपर्छ । यस्ता विषयको छनोट गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । केही रकम जोगाउने सुरमा कमजोर घर बनाउनुहुँदैन । गुणस्तरीय निर्माण सामग्री तथा आकर्षक डिजाइनको घर बनाउनुपर्छ । यसका लागि राम्रो निर्माण कम्पनी तथा सक्षम इञ्जिनीयरको आवश्यकता पर्छ ।

घर निर्माण गर्दा इञ्जिनीयरले औसत पारिश्रमिक कति लिने गरेका छन् ?

इञ्जिनीरयले लिने पारिश्रमिक कहिल्यै निश्चित हुँदैन । यसमा विभिन्न विषयले प्रभाव पारेको हुन्छ । उदाहरणका लागि घरको आकार, बनोट तथा इञ्जिनीयरको दक्षताले पनि पारिश्रमिक निर्धारण गर्छ । यद्यपि, नेपाली बजारमा सामान्य घर निर्माण गर्दा भर्खरै कोर्स पूरा गरी काम थालेका इञ्जिनीयरले ७५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यसैगरी, पुराना तथा दक्ष इञ्जिनीयरले २ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

तपाईंको कम्पनीले केकस्तो सेवा उपलब्ध गराउँछ ?

मानिसलाई एउटै छानामुनि सबै प्रकारका सुविधा दिने उद्देश्यले हाम्रो कम्पनीको स्थापना भएको हो । यो कम्पनी नयापुस्ताको परिकल्पना हो, जुन ललितपुरको झम्सिखेलमा अवस्थित छ । हामीले अष्ट्रेलियन एनआरएन (गैरआवासीय नेपाली) एशोसिएशनसँग पनि मिलेर काम गरिरहेका छौं । अष्ट्रेलियामा रहेका नेपालीलाई नेपालमै लगानी गर्न प्रेरित गरिरहेका छौं । हामीले एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा प्रदान गरिरहेका छौं । आर्किटेक्ट र इञ्जिनीयरिङ, भवन निर्माण, घरजग्गा खरीदविक्री, जानकारी तथा सुझावलगायत मार्केटिङ सेवा पनि हामीले यही कम्पनीद्वारा प्रदान गर्दै आएका छौं । साथै, हामीले दक्ष कर्मचारीद्वारा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौं । अहिले हामी सानेपा र इमाडोलका परियोजनाहरूमा व्यस्त छौं । अन्य परियोजना पनि शुरू हुने क्रममा छन् । यसैगरी, काठमाडौंको सुविधासम्पन्न स्थानमा हामीले नयाँ योजना शुरू गर्न लागेका छौं, जहाँ १५ ओटा घर निर्माण गरिनेछ । यो योजना हामीले दशैंअघि नै सार्वजनिक गर्नेछौं ।
http://www.abhiyan.com.np/new/Articles/view/29822

No comments:

Post a Comment