Friday, August 16, 2013

पुराना शैलीका आधुनिक घर

पुराना शैलीका आधुनिक घर
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५ वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ ।


काठमाडौंमा गगनचुम्बी अपार्टमेण्ट तथा सुविधासम्पन्न हाउजिङ निर्माण कार्य बढ्दै गएको छ । निर्माणसँगै यिनलाई प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ । आधुनिक जीवनशैलीप्रति मानिस आकर्षित हुँदै जाँदा यस्ता सुविधासम्पन्न घर तथा अपार्टमेण्टको माग बढ्न थालेको हो । यस्ता आधुनिक (विदेशी) शैलीका घर निर्माणको क्रम बढिरहेको बेला आर्ते नमूना हाउजिङ कम्पनीले भने पुरानो शैलीका घर निर्माण गरिरहेको छ । यसलाई कम्पनीले ‘नमूना गाउँ’ नामकरण गरेको छ ।

कम्पनीले निर्माण गर्ने घर मल्लकालीन शैलीका छन् । यस्ता घर वातावरणमैत्री मात्र नभई सुन्दर पनि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवर्द्धक रवीन्द्र पुरी बताउँछन् । काठमाडौंनजिकै काभ्रे जिल्लाको साँगासँग जोडिएको सरस्वती डाँडा (दक्षिणी पहाड)मा कम्पनीले उक्त ‘नमूना गाउँ’ निर्माणको काम शुरू गरेको हो । ५४ रोपनी क्षेत्रफलमा फैलिएको नमूना गाउँमा ५० ओटा घर निर्माण गरिनेछ । नमूना गाउँमा बन्ने घर परम्परागत शैली तथा आधुनिक प्रविधिको संयोजनबाट निर्माण हुनेछन् । नेपाली संस्कृति तथा मौलिकता जोगाइराख्न नमूना गाउँको अवधारणा अघि सारेको पुरीको भनाइ छ ।

आशापुरी महादेवको मन्दिर जाने बाटोमै पर्ने यो गाउँ प्रदूषण र कोलाहलरहित छ । काठमाडौंको प्रदूषणबाट टाढा रहन चाहने मानिसलाई लक्षित गरी कम्पनीले नमूना गाउँको निर्माण शुरू गरेको हो । गाउँ अरनिको राजमार्गदेखि ९ सय मिटरको दूरीमा छ । त्यस्तै, काठमाडौंदेखि १५ दशमलव ५ किलोमिटर र भक्तपुर–सल्लाघारीदेखि ८ दशमलव ७ किलोमिटरको दूरीमा रहेको छ । यसैगरी, काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपाबाट भने ४ किलोमिटरको दूरीमा पर्छ । नमूना गाउँबाट अन्नपूर्णदेखि गौरीशङ्कर हिमशृङ्खला र काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । नमूना गाउँमा निर्माण गरिने घरको शैली मात्र नभएर यहाँको प्राकृतिक सुन्दरताले पनि मानिसलाई आकर्षण गर्ने प्रवर्द्धक पुरीले बताए ।

घरका प्रकार
नमूना गाउँमा चार प्रकारका घर निर्माण गरिनेछन् । माटेघर, इँटेघर, ढुङ्गेघर र डाँचीघर । तर, अहिले कम्पनीले माटे, इँटे र ढुङ्गे गरी तीन प्रकारका घरको निर्माण गरिसकेको छ । यी घर भूकम्प प्रतिरोधात्मक किसिमले निर्माण गरिएका छन् । घरबाहिरबाट हेर्दा पुरानो नेपाली शैलीको देखिन्छ । तर, घरभित्रको संरचना भने आधुनिक शैलीको छ । गाउँभित्र बनेका घरमा बाहिर बस्ने तथा दृश्यावलोकन गर्न मिल्ने पिँढीको व्यवस्था गरिएको छ, जहाँबाट काठमाडौं, साँगाको महादेव, गौरीशङ्कर हिमशृङ्खला राम्रोसँग देख्न सकिन्छ । छिँडीलाई बैठक कोठामा रूपान्तरण गरिएको छ । छिँडीको एउटा कुनामा भान्सा तथा डाइनिङ, अर्को कुनामा बाथरूम तथा बीचमा ‘फायर प्लेस’ राखिएको छ । कोठाको बीच भागमा अग्राखका कलात्मक थाम छन् । कोठामा हावा प्रवाहका लागि झ्यालहरू राखिएको छ । छिँडीबाट पहिलो तलामा पुग्न कलात्मक काठकै भर्‍याङ बनाइएको छ । पहिलो तलामा बाथरूमसहितका दुईओटा सुत्ने कोठा छन् । मुख्य सुत्ने कोठाको बीचमा विभाजन (पार्टिशन) गरिएको छ । पार्टिशन गरिएको कोठालाई अध्ययनकक्षका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसैगरी, अर्को पाहुना कोठा रहेको छ ।

दोस्रो तला भने बुइँगलको अवधारणामा बनाइएको छ । यसलाई आवश्यकताअनुसार अध्ययन, योगा, व्यायाम तथा सामूहिक भेटघाट गर्ने हलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बुइँगलभन्दा माथि सानो कौशी छ । घरमा सिमेण्ट, प्लाष्टरको सट्टा चुन, ढुङ्गा, माटो, काठ र इँटाको धूलो मिसाएर बनाइएको सुर्की प्रयोग गरिएको छ । ‘यी सामग्री कम्पनीले स्थानीय स्रोतबाट नै तयारी गरेको हो, ’प्रमुख कार्यकारी अधिकारी पुरीले भने । घरका झ्यालढोका र दलिन आलसको तेलको परम्परागत चहकले टल्काइएको छ । घरको छानोका लागि झिँगटीको प्रयोग गरिएको छ । ढुङ्गा र इँटाको भित्ता तथा भुइँका लागि माटोको लिउन र तेलिया इँटाको प्रयोग गरिएको छ । घरमा अग्राख काठका बुट्टे ढिक शैलीका ढोका राखिएको छ ।

नमूना गाउँका अन्य योजना
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५ वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ । पहिलो डेढ वर्षमा कम्पनीले १० ओटा घर निर्माण गर्ने लक्ष्य लिएको छ । यसैगरी, दोस्रो चरणको डेढ वर्षभित्र २० ओटा र अन्तिम चरणमा पनि उत्तिकै (२० ओटा) सङ्ख्यामा घर बनाइने उनले जानकारी दिए । घर निर्माण गर्दा इञ्जिनीयरिङको साथमा वास्तुशास्त्रलाई पनि उत्तिकै जोड दिइएको छ । गाउँभित्रै पानीको स्रोत पनि छ । साथै, ‘ट्रिटमेण्ट प्लाण्ट’ निर्माण गर्ने कम्पनीको योजना छ । ‘यसले गाउँमा बसोवास गर्ने मानिसलाई स्वच्छ पानी वितरण गर्नेछ, ’पुरीले भने ।

यसैगरी गाउँ भित्र नै अर्ग्यानिक खेती पनि गरिनेछ । गाउँभित्र बसोवास गर्ने मानिसलाई तरकारी खरीदका लागि अन्यत्र जानु नपर्ने उनले बताए । वैकल्पिक ऊर्जाका लागि सौर्य र वायु प्रणाली पनि प्रयोगमा ल्याइनेछ । गाउँभित्र बनाइने संरचना पनि पुरानै शैलीका हुनेछन् । परम्परा झल्किने नेपाली पहिचानका ढुङ्गेधारा, पाटी, चैत्य, मन्दिर, चौतारोको निर्माण गरिनेछ । ५ वर्षसम्म नमूना गाउँको व्यवस्थापन कम्पनीले नै गर्नेछ । ५ वर्षपछि गाउँमा बसोवास गर्ने समूहलाई नै व्यवस्थापन कार्यको जिम्मा दिइनेछ ।

घरको मूल्य

कम्पनीले घरअनुसारको मूल्य तोकेको छ । ढुङ्गेघरको मूल्य रू.१ करोड १० लाख रहेको छ । इँटेघरको मूल्य १ करोड तथा माटेघरको मूल्य ९० लाख रुपैयाँ तोकिएको प्रमुख कार्यकारी अधिकृत पुरीले जानकारी दिए । ‘पहिलो चरणमा घर निर्माण गर्न न्यनूतम पनि पाँच आना जमीन आवश्यक पर्छ, ’उनले भने । कम्पनीले एक आनाको मूल्य ५ लाख रुपैयाँ तोकेको छ । जमीन खरीद गर्ने व्यक्तिको रुचिअनुसार कम्पनीले घर निर्माण गर्नेछ । ढुङ्गेघर निर्माणका लागि रू.६० लाख, इँटेघरका लागि ५५ लाख तथा माटेघरका लागि ५० लाख रुपैयाँ लाग्नेछ । घर निर्माण गर्न चाहने व्यक्तिले २५ प्रतिशत अग्रिम भुक्तानी दिनुपर्नेछ । बूकिङ भएको १८ महीनाभित्रै घर निर्माण सम्पन्न गरिसक्ने व्यवस्था मिलाइएको छ ।

पुरानो शैलीको घर निर्माण गर्दा शुरूमा विक्री नहोला कि भन्ने डर भए पनि अहिले भने यस्ता घरप्रति मानिसको आकर्षण बढेको पुरीको भनाइ छ । पहिलो चरणमा निर्माण गरिएका १० घरमध्ये सातओटा बूकिङ भइसकेका छन् । ‘बूकिङका बेला पनि मानिसको छनोट गरिनेछ, ’पुरी भन्छन्, ‘रहर र शौखका लागि मात्रै घर खरीद गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने कम्पनीको योजना छ । ’वास्तवमै नेपाललाई माया गर्ने र नेपालीपन भएका मानिसलाई घर छनोटमा प्राथमिकता दिइने उनले प्रस्ट पारे ।
http://www.abhiyan.com.np/new/Articles/view/30123

No comments:

Post a Comment