Friday, August 2, 2013

वास्तुशास्त्रअनुसार घर बनाउँदा राम्रो हुन्छ

 

राजेन्द्र न्यौपानेराजेन्द्र न्यौपाने
प्रबन्ध निर्देशक, पर्फेक्ट कन्ष्ट्रक्शन एण्ड इञ्जिनीयरिङ प्रालि

वास्तुशास्त्रअनुसार घर बनाउँदा राम्रो हुन्छ
पोखरामा घर निर्माण व्यवसायको अवस्था कस्तो छ ?

पोखरामा गतवर्षको तुलनामा यस वर्ष घर निर्माण हुने क्रम घटेको छ । पोखरा उपमहानगरपालिकाले घर निर्माणसम्बन्धी नयाँ नीति २०७० वैशाख १ गतेदेखि लागू गरेको छ । नयाँ नीतिमा घर बनाउँदा कन्सल्ट्याण्ट राख्नुपर्ने, जमीनमुनि ढलान गर्नुपर्ने, डबल टाइबिम राख्नुपर्ने लगायतका छन् । यसले गर्दा पनि यस वर्ष ३० देखि ४० प्रतिशतले घर निर्माण कम भएको हो । नयाँ नियमअनुसार घर बनाउँदा निर्माण लागत करीब ४० प्रतिशत बढ्छ । तर पनि नेपालमा घर निर्माण गर्ने तथा इण्टेरियर गर्ने क्रम बढ्दो छ । विदेश गएर आउनेहरूले त्यही सिको गर्न थालेका छन् । घर होस् वा कार्यालय हेर्दा राम्रो तथा सुन्दर देखिनुपर्छ भन्ने सबैको मान्यता छ । त्यसैले पनि घर निर्माण गर्ने व्यवसाय फस्टाएको हो । रू.१ करोडसम्मको घरजग्गा कारोबारमा स्रोत देखाउन नपर्ने नियमले यो क्षेत्रलाई सकारात्मक बनाएको छ । समग्रमा यो क्षेत्रको भविष्य आशालाग्दो छ ।

मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय के हो ?

मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय भनेको निर्माण सामग्रीको गुणस्तर हो । अधिकांश मानिसले घर बनाउँदा ठेकेदारलाई जिम्मेवारी दिने गर्छन् । यसरी सबै जिम्मेवारी ठेकेदारलाई दिँदा घर बनाएको केही वर्षमा विभिन्न समस्या देखा पर्छन् । उदाहरणका रूपमा घरको भित्तामा चिरा पर्ने, पानी चुहिने, ढुसी पलाउने, ढोका र झ्यालमा समस्या हुने आदि हुन्छ । तसर्थ, घर बनाउने व्यक्ति आफूले निर्माण सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसका लागि विश्वसनीय निर्माण कम्पनीको सहायता लिन सकिन्छ । त्यसैगरी घर बनाउनुअघि बजेटलाई ध्यान दिनुपर्छ । जति बजेट छ, सोहीअनुसारको मात्रै घर निर्माणको थालनी गर्नुपर्छ । घरको डकोरेशनमा घर निर्माणभन्दा बढी खर्च हुन्छ । त्यसैले, घर बनाउन मानिसहरू ऋण लिन बाध्य हुन्छन् । तसर्थ, पछिसम्मको खर्चलाई अनुमान गरी बजेटअनुसारको घर निर्माण थालनी गर्नुपर्छ ।

घर बनाउँदा जग्गाको छनोट कसरी गर्ने ?  

घर निर्माण गर्दा जग्गाको छनोटलाई विशेष ध्यान दिनुपर्छ । घर निर्माण गर्न लागेको जग्गा खुला हुनुपर्छ । जग्गामा सडक, पानीको सुविधा तथा वरपरको सामाजिक परिवेश पनि राम्रो हुनुपर्छ । पोखराको हकमा हेर्ने हो भने पूर्व र उत्तर कोण भएको जग्गालाई सबैभन्दा उपयुक्त मानिन्छ । किनभने, पूर्व र उत्तर कोण परेको जग्गा भएको खण्डमा हिमालको दृश्यलाई घरबाट नै नियाल्न सकिन्छ । यसैगरी घर बनाउँदा इञ्जिनीयरिङ तथा वास्तुलाई पनि ध्यान दिनुपर्छ । यसो भएमा घर प्राविधिक तथा धार्मिक रूपमा पूर्ण हुन्छ । घर बलियो, सुन्दर हुनुका साथै घरमा सकारात्मक वातावरण सृजना हुन्छ ।

घर निर्माणमा वास्तुशास्त्रको कत्तिको महत्व हुन्छ ?

घर निर्माण गर्दा जति इञ्जिनीयरको आवश्यकता पर्छ त्यति नै वास्तुशास्त्रीय ज्ञान हुनु जरुरी छ । इञ्जिनीयरले घरको संचरनालाई बलियो बनाउने काम गर्छन् भने वास्तुशास्त्रले घरको कोण निर्धारण गर्छ । घरको कोण मिलेको खण्डमा मात्र घरभित्र रहने व्यक्तिमा सुख, शान्ति र समृद्धि छाउँछ । वास्तुशास्त्रमा वैज्ञानिक अध्ययन गरेर कहाँ र कसरी घर निर्माण गर्ने भन्न पत्ता लगाइएको हुन्छ । त्यसैले, वास्तुशास्त्रअनुसार घर बनाउनु राम्रो हुन्छ । 

घर निर्माण व्यवसायीका प्रमुख समस्या केके हुन् ?

यो व्यवसायको मुख्य समस्या भनेको दक्ष कामदारको अभाव हो । युवाहरू रोजगारीका लागि विदेशिन थालेपछि निर्माण क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको हो । राम्रो पारिश्रमिक पाउँदा पनि युवाहरूले यस्ता कामलाई बेवास्ता गरिरहेका छन् । सबैको प्राथमिकता कार्यालयमा काम गर्ने मात्र हुन्छ । जनशक्तिको अभावका कारण मैले चाहेर पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सकेको छैन । यो मेरो मात्र होइन, अन्य निर्माण व्यवसायीको पनि समस्या हो । त्यस्तै, अस्थिर सरकारले देशको आर्थिक अवस्था अस्तव्यस्त बनाएको छ । घर निर्माणको कामका लागि वर्षौं समय लाग्छ । त्यसैले, सम्झौता गरेको समयको तुलनामा काम सकिँदा निर्माण सामग्रीको मूल्य धेरै बढेको हुन्छ । त्यतिबेला भने हामी घाटामा पर्छौं, जुन हाम्रा लागि ठूलो चुनौती हो ।

पोखरामा रहेका अन्य निर्माण कम्पनी र तपार्इंको कम्पनीबीच के फरक छ ?

पोखरामा रहेका धेरै निर्माण व्यवसायीले आआफ्नै तरीकाबाट काम गरिरहेका छन् । पोखरामा पहिलोपटक सबै सुविधा एउटै छानामुनि दिने प्रयास हामीले गरेका हौं । घरलाई पूर्ण रूपमा मजबुत तथा सुन्दर बनाउन इञ्जिनीयर, वास्तुशास्त्र, इण्टेरियर तथा निर्माण प्रविधिको आवश्यकता पर्छ । हामीले यी सबै सुविधा एउटै कम्पनीबाट दिने गरेका छौं, जुन पोखराका लागि भने पहिलोपटक हो ।  
http://www.abhiyan.com.np/new/Articles/view/29450

No comments:

Post a Comment