भदौ २०, काठमाडौं ।
हिन्दू महिलाले निकै उत्साह र उल्लासपूर्ण
रूपमा मनाउने पर्व हरितालिका तीज नजिकिँदै गर्दा काठमाडौंका प्रमुख बजारमा
चहलपहल निकै बढेको छ । तीजलाई लक्षित गरेर बजारमा नयाँ डिजाइनका साडी तथा
कुर्ता भित्रिएका छन् । ‘यो वर्षको तीजको मुख्य आकर्षण फोर डी साडी तथा
अनारकली कुर्ता छन्,’ कुपण्डोलस्थित इम्याजिङ दी फेशन बुटिकका सञ्चालक
विष्णु गौतम भन्छन् । उनका अनुसार अहिले बजारमा फोर डी (विभिन्न चारओटा रङ
मिसिएको) साडीको फेशन चलेको छ । यसैगरी नेट तथा फ्रेञ्च सिफनको साडीको पनि
माग छ । विभिन्न डिजाइनमा तयार भएका नियोन कलर (हरियो, पहेँलो, गुलाबी) नेट
र फ्रेञ्च सिफन ग्राहकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । त्यस्तै, हेभी
इम्ब्रोइडरी गरिएको ब्लाउजमा सिम्पल बोर्डर भएका ५ हजारदेखि १५ हजार
रुपैयाँसम्मका साडी तीजका लागि तयार भएका छन् । ५ हजारदेखि १५ हजार
रुपैयाँसम्मका अनारकली कुर्ता पनि निकै चलेको गौतमको भनाइ छ ।
‘यसपटक
साडीजस्तै देखिने लेहेङ्गामा महिलाको आकर्षण बढेको छ,’ दरबारमार्गस्थित
आरडी चाहत बुटिककी विक्रेता भगवती नकर्मी भन्छिन् । हरियो, पहेँलो, रातो,
गुलाबी तथा सुन्तला रङको लेहेङ्गा बजारमा धेरै चलेको उनको भनाइ छ । यस्तो
लेहेङ्गाको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्छ ।
कमलपोखरीस्थित
कृष्ण बुटिकका सञ्चालक चन्दन सिन्हानियका अनुसार यो वर्ष नेट, भेलबेट,
स्टोन भएका साडीहरू बढी चल्तीमा छन् । न्यूरोडका साडी व्यवसायीहरू रू. ५
हजारदेखि २५ हजारसम्मका सिफन, सिल्क, फ्रेञ्चसिफन, चामुण्डा, जापानिज सिफन,
नेट, ब्याकबेरी साडी नै फेशनमा रहेको बताउँछन् । तर, हल्का बुट्टा भरिएका ७
हजार रुपैयाँसम्मका साडी नै बढी विक्री हुने उनीहरूले बताए ।
साडी
तथा कुर्ता व्यापारीका लागि तीज आशाप्रद सिजन भए पनि यो वर्ष अपेक्षित
व्यापार हुन भने नसकेको व्यवसायी रामप्रसाद सापकोटाले बताए । उनका अनुसार
यो वर्ष साडी व्यवसायमा ३० प्रतिशतले कमी भएको छ । विगत ५ वर्षमा ५०
प्रतिशत नै कमी भएको उनको भनाइ छ । ‘गतवर्ष तीजको समयमा २ लाख रुपैयाँको
साडी विक्री भएको थियो,’ उनले भने, ‘यो वर्ष भने ५० हजार रुपैयाँको पनि
व्यापार हुन सकेको छैन ।’ वैष्णव कलेक्शनका सञ्चालनक राकेश गुप्ता विगतको
जस्तो तीजको किनमेलमा न्यूरोडको चार्म घटेको बताउँछन् ।
‘बस्ती
विस्तारसँगै बजार पनि विस्तार भएकाले न्यूरोडको व्यापार खस्केको छ,’
गुप्ताले भने, ‘मूल्यवृद्धिको प्रभाव पनि उत्तिकै परेको छ ।’
http://www.abhiyan.com.np/new/Articles/view/31150
No comments:
Post a Comment