Friday, September 13, 2013

भान्सामा इलेक्ट्रोनिक्स

भान्सामा इलेक्ट्रोनिक्स
प्रविधिको प्रभावबाट भान्साघर पनि मुक्त रहन सकेको छैन । आगो बाल्ने दाउरादेखि दाल, चामल पिस्ने ढिकीजाँतोको स्थानसमेत इलेक्ट्रोनिक्स सामग्रीले लिन थालेको छ । फलस्वरूप, भान्सामा प्रयोग हुने इलेक्ट्रोनिक्स सामग्रीको व्यवसायमा वृद्धि हुँदै गएको छ । विगत ५ वर्षको अवधिमा प्रत्येक वर्ष व्यवसायमा ४० प्रतिशले वृद्धि भएको त्रिवेणी व्यापार कम्पनीका बजार प्रमुख निखिल अग्रवाल बताउँछन् । ‘रेमिट्यान्सका कारण मानिसको आम्दानी बढ्दै गएको छ । त्यसैले, खर्चमा पनि वृद्धि भएको देखिन्छ,’ उनले भने ।

विद्युतीय लाइनको विस्तार सँगै शहरदेखि गाउँ सम्मको भान्सामा इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग हुन थालेको छ । यसले समय, इन्धन, जनशक्तिको बचत गर्ने भएकाले पनि प्रयोग व्यापक भएको व्यवसायीहरूको अनुभव छ । उनका अनुसार दशैं र तिहार नजिकै आएकाले पनि इलोक्ट्रोनिक्स सामग्रीको विक्री बढ्दै गएको छ । अघिल्लोको तुलनामा यस वर्ष ५ प्रतिशतले व्यापार बढेको जम्बो इलोक्ट्रोनिक्सका विक्री अधिकृत श्रीराम थपलियाको भनाइ छ । उनका अनुसार जम्बो इलोक्ट्रोनिक्सले वार्षिक ३ देखि ३ करोड ५० लाख रुपैयाँसम्मको व्यापार गर्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण व्यवसाय अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । उनी भन्छन्, ‘काठमाडौंमा मात्रै २ सयओटा पसल छन् । यसले गर्दा पनि समग्रमा विक्री बढे पनि संस्थागत रूपमा भने विक्री उत्साहजनक छैन ।’


तर, नेपाहिमा ट्रेडलिङ्कका विक्री अधिकृत दिनेश डङ्गोल भने २ वर्षको अवधिमा २५ प्रतिशतले व्यवसायमा वृद्धि भएको बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्पर्धाले गर्दा समग्र व्यापार वृद्धि भए तापनि एउटै ब्राण्डको व्यापार भने बढ्न नसकेको सही हो ।’ भान्सामा प्रयोग हुने विभिन्न खालका इलेक्ट्रोनिक्स सामग्री अचेल बजारमा सजिलै पाइन्छ । जति थरीका सामग्री उपलब्ध छन्, त्यति नै थरीका ब्राण्ड बजार भित्रिएका छन् । कम्पनीको ब्राण्डअनुसार सामग्रीको मूल्य पनि फरकफरक रहेको छ । त्यसैले, खरीद गर्नुअघि सामग्रीबारे जानकारी लिनुपर्ने जम्बो इलेक्ट्रोनिक्सका विक्री अधिकृत श्रीराम थपलियाको सुझाव छ । बजारमा पाइने इलेट्रोनिक्स सामग्रीमध्ये राइस कूकर, ग्यास स्टोभ, ग्यास हब्स, कूकिङ रेञ्ज, चिम्नी, फ्रिज, टोष्टर, वाटर डिस्पेन्सर, फिल्टर, माइक्रोओभन, डिसवासर सबैभन्दा बढी प्रयोग गरिन्छन् । यस्ता सामग्री चीन, भारत, थाइल्याण्ड, मलेसिया, टर्कीलगायत देशबाट आयात गरिन्छ ।

नेपालमा बेको, लाइनिक्स, एलजी, आईएफबी, वर्लपूल, ग्रिनल्याण्ड, पिकासो, पानासोनिक, ब्याल्क एण्ड डेकोर, शार्प, स्यान्यो, इलोक्ट्रोन, एल्भा, भिडियोकोन, हायर, सामसुङ, फिलिप्सलगायतका ब्राण्ड बजारमा उपलब्ध छन् ।

http://www.abhiyan.com.np/new/Articles/view/31532

No comments:

Post a Comment