Sunday, September 22, 2013

बचत गर्दै बालबालिका

विभिन्न वर्ग र पेशालाई लक्षित गरी बैङ्कहरूले विभिन्न बचत योजना सञ्चालनमा ल्याउने गरेका छन् । बैङ्कहरूले सञ्चालनमा ल्याउने यस्ता कतिपय योजना बालबालिका केन्द्रित पनि छन् । सानैदेखि बचत गर्ने बानी बसाल्न बैङ्कले बालबालिकालाई लक्षित गरी बाल बचत खाता सञ्चालन गर्दै आएका छन् । बैङ्कहरूले विभिन्न नामबाट यस्तो खाता सञ्चालनमा ल्याएका छन् ।

बालबालिकालाई बचत गर्नेतर्फ प्रेरित गर्न ज्योति विकास बैङ्कले बालबालिकाका लागि बचत योजना सञ्चालन गरेको छ । बैङ्कले ल्याएको योजनाअनुसार १६ वर्षभन्दा मुनिका बालबालिकाले यस्तो खाता खोल्न सक्नेछन् ।  बैङ्कले यस्ता दुई प्रकारको खाता सञ्चालनमा ल्याएको बैङ्ककी कष्टमर सर्भिस इञ्चार्ज सुमिता लम्सालले बताइन् । उनका अनुसार एकैपटक ठूलो रकम जम्मा गर्न चाहने तथा धेरै ब्याज खोज्ने ग्राहकलाई लक्षित गरी बैङ्कले ‘बाल कल्याण बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खाता खोल्नका लागि कम्तीमा रू.१ लाख जम्मा गर्नुपर्छ । उक्त बचत खाताका लागि बैङ्कले ८ दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराएको छ । त्यस्तै, थोरै रकम जम्मा गर्न चाहने ग्राहकका लागि बैङ्कले ‘बाल बचत खाता’ सञ्चालनमा ल्याएको उनले बताइन् । यस खाताका लागि कम्तीमा रू.१ हजार जम्मा गर्नुपर्ने हुन्छ । यसका लागि बैङ्कले ७ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । खाता खोलेपछि बैङ्कले बालबालिकालाई निःशुल्क खुत्रुक्के उपलब्ध गराउँछ ।


यसैगरी, बैङ्क अफ काठमाण्डूले पनि बाल बचत खाता सञ्चालनमा ल्याएको छ । ‘नव कोपिला बचत खाता’को नाममा बैङ्कले बाल बचत योजना सञ्चालनमा ल्याएको हो । यो योजनाअनुसार १० वर्षमुनिका बालबालिकाले खाता खोल्न सक्ने बैङ्ककी कर्पोरेट कम्युनिकेशन अफिसर प्रशंसा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार यस्तो खाता रू.१ सयमा खोल्न सकिन्छ । खाता खोलेस“गै बैङ्कले पानी पिउने बोतल निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै, एभरेष्ट बैङ्कले पनि बालखाता योजनाअन्तर्गत ‘बाल बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैङ्कले सन् २०१० अगष्टदेखि यो खाता सञ्चालनमा ल्याएको हो । यस प्रकारको बाल बचत खाता खोल्दा बैङ्कहरूले निःशुल्क चेकबूक उपलब्ध गराउँदै आएका छन् । साथमा एटीएमको सुविधा पनि दिएका छन् । यस्तो खाता खोल्दा अभिभावकलाई संरक्षकको रूपमा राखिन्छ ।  
http://www.abhiyan.com.np/new/Articles/view/32004

No comments:

Post a Comment