Tuesday, January 15, 2019

आजदेखि वैदेशिक रोजगार बिमा एकद्वार प्रणालीमा

पुलमार्फत जारी वैदेशिक रोजगार बिमालाई कम्पनीको बजार हिस्साअनुसार बाँडफाँड

जीवन बिमा कम्पनीहरूले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा एकद्वार प्रणाली (पुल)मार्फत जारी गर्ने भएका छन् । बिमा समितिले माघ १ गतेदेखि लागू हुने गरी वैदेशिक रोजगार जीवन बिमा पुलमार्फत जारी गर्न कम्पनीहरूलाई दिएको निर्देशनअनुसार मंगलबारदेखि यस्तो व्यवस्था हुने भएको हो । वैदेशिक रोजगार बिमा व्यवसायलाई व्यवस्थित र मर्यादित गर्ने भन्दै समितिले पुलको व्यवस्था गरेको हो ।
बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमाका विषयमा सुझाब पेस गर्न बिमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृतको एउटा सुझाब समिति बनाएको थियो । सो समितिले वैदेशिक रोजगारी बिमामा बढ्दै गएको विकृति हटाउन पुलको व्यवस्था गर्न   सुझाब दिएको थियो । समितिमा सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण, नेसनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई रहेका थिए ।

 बजार हिस्साअनुसार व्यवसाय बाँडफाँड हुने
जीवन बिमा कम्पनीहरूले पुलमार्फत जारी गरेको वैदेशिक रोजगार बिमालाई कम्पनीको बजार हिस्साअनुसार बाँडफाँड गर्नेछ । पछिल्लो ६ महिनाको तथ्यांकअनुसार अहिले १८ वटा जीवन बिमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बिमा जारी गरी रहेका छन् । सोअनुसार नेसनल लाइफ इन्स्योरेन्सको हिस्सा सबैभन्दा बढी १९ प्रतिशत छ । दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत रहेको छ । सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत, युनियन लाइफ र नेपाल लाइफको ११ प्रतिशत हिस्सा रहेको छ । रिलायबल र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ८–८ प्रतिशत हिस्सा रहेको छ ।
 चार वर्षमा सबै कम्पनीको हिस्सा समान
 चार वर्षपछि वैदेशिक रोजगार (म्यादी) जीवन बिमामा सबै कम्पनीको हिस्सा बराबर बनाइने बिमा समितिका निमित कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि समितिको रोहबरमा कम्पनीहरूको व्यवसाय हिस्सा तय गरिनेछ । तत्कालका लागि भने समितिले कम्पनीहरूको पछिल्लो ६ महिनाको व्यवसाय हेरी निर्धारण गरेको बजार हिस्साअनुसार व्यवसाय बाँडफाँड गरिनेछ ।
१५ दिनभित्रमा कार्यविधि बनाउनुपर्ने
बिमा समितिले माघ १५ भित्र वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसायसम्बन्धी कार्यविधि प्रस्तुत गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । सो अवधिसम्मका लागि कम्पनीहरूले अहिलेकै अवस्थामा म्यादी जीवन बिमा जारी गर्न पाउनेछन् । तर, व्यवसाय भने पुलमा नै संकलन हुनेछ । वर्षको अन्त्यमा बिमाशुल्क खर्च तथा दाबीको  हिस्सा सोही अनुपातमा बाँडफाँड गरिनेछ ।
 वैदेशिक बिमाको सुरुवात
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति पाउने गरी कम्तीमा ५ लाख रुपैयाँको बिमा गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि नेपालमा वैेदेशिक रोजगार म्यादी जीवन बिमाको सुरुवात भएको हो । तर, कम्पनीहरूले आ–आफ्नै ढंगले बिमा व्यवसाय गर्दै आएपछि यसलाई एकरूपता कायम गर्न बिमा समितिले १ कात्तिक ०६८ मा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा निर्देशन जारी गर्‍यो । यससँगै बिमितले जुनसुकै कम्पनीमा बिमा गराए पनि भुक्तानी गर्नुपर्ने बिमाशुल्क र पाउने सुविधामा एकरूपता कायम भयो । बिमा समितिको तथ्यांकअनुसार ०७४/७५ को पुस मसान्तसम्ममा कम्पनीहरूले ३६ लाख ३५ हजार २६२ वटा बिमालेख जारी गरेका छन् ।
केही दिनमा व्यवस्थापक कम्पनी तोक्नेछौँ
राजुरमण पौडेल
निमित्त कार्यकारी निर्देशक, बिमा समिति

वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसायलाई पारदर्शी, मर्यादित, व्यवस्थित तथा बढीभन्दा बढी ग्राहक सेवाउन्मुख बनाउन पुलको व्यवस्था गरिएको हो । अहिले पुल व्यवस्थापनबारे कार्यविधि बनिसकेको छैन । त्यसैले तत्काल कम्पनीहरूले यसअघि जसरी काम भइरहेको थियो ।
त्यसैगरी, बिमा व्यवसाय गर्न सक्छन् । कम्पनीहरूको सुझाबअनुसार केही दिनमा हामी कार्यविधि तयार पार्छौँ । त्यसपछि पुलको व्यवस्थापनको जिम्मा कसले लिने भन्ने पनि निक्र्यौल हुनेछ । सोहीअनुसार निश्चित कम्पनीले पुलको व्यवस्थापन गर्नेछ । वर्षको अन्त्यमा अहिले कम्पनीको बिजार हिस्साअनुसार व्यवसाय बाँडफाँड हुनेछ ।
बिमितले एकै ठाउँबाट सबै सुविधा पाउनेछन्
 शिवनाथ पाण्डे
प्रमुख कार्यकारी अधिकृत
सूर्या लाइफ इन्स्योरेन्स

वैदेशिक रोजगार बिमालाई सरकारले अनिवार्य गरेको छ । तर, बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भएको हामी सबैलाई अवगत नै छ । त्यसैले समिति र कम्पनीहरूको छलफलबाट पुलमार्फत जारी गर्ने भन्ने निर्णय भएको हो । पुलमार्फत जारी गर्दा बिमितलाई सजिलो हुन्छ । उनीहरूले एउटै ढोकाबाट सेवा पाउनेछन् । उनीहरूलाई भ्रम हुनेछैन ।
https://www.nayapatrikadaily.com/news-details/3267/2019-01-15

No comments:

Post a Comment