Friday, January 18, 2019

२० वर्षमा पनि सुरु भएन बाहिरी चक्रपथ

ल्यान्ड पुलिङबाट बाहिरी चक्रपथ अगाडि बढाउन अर्थको निर्देशन



परिकल्पना गरेको २० वर्ष भए पनि बाहिरी चक्रपथ निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । मन्त्रिपरिषद्को निर्णयमा जग्गा प्राप्ति ऐन शब्द नराखेपछि रोकिएको बाहिरी चक्रपथको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । 
काठमाडौंमा अव्यवस्थित बसोवास बढ्दै गएपछि ०५५/५६ मा भौतिक मन्त्रालयले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । सोहीअनुसार ०६२/६३ मा बाहिरी चक्रपथ जग्गा विकास आयोजनालाई त्यसको जिम्मा दिइयो । त्यसपछि काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ आयोजनालाई उक्त आयोजनाको जिम्मेवारी दिइएको थियो ।

आयोजनाको अध्ययनअनुसार ०७५ वैशाख ४ गते मन्त्रिपरिषद्को निर्णयसँग चक्रपथको पहिलो चरणको काम अगाडि बढाउने तयारी भएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिको सार्वजनिक सूचना जारी गर्न नमानेपछि काम रोकिएको बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिलीप भण्डारीले बताए । 
जग्गा प्राप्ति शब्द छुट्दा काम रोकियो
गत वैशाख ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाहिरी चक्रपथको पहिलो चरणको काम अगाडि बढाउने निर्णय गरेको थियो । तर, सो निर्णयमा जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्त गरिने भन्ने शब्द छुटेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकाष्सन गर्न नमानेको आयोजना प्रमुख भण्डारीले बताए । ‘जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक नगरेपछि हामीले जग्गा प्राप्त गर्न सकेनौँ । अहिले हामीले उक्त गल्तीलाई सच्चाएर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्दै छौँ,’ उनले भने । बाहिरी चक्रपथ निर्माणको प्रक्रिया सरकारको प्राथमिकता नपरेको बाहिरी चक्रपथ आयोजनाका आयोजना प्रमुख भण्डारीको भनाइ छ । सरकारले अन्य आयोजनालाई जस्तो बाहिरी चक्रपथलाई ध्यान नदिएको उनले बताए । 
ल्यान्ड पुलिङबाट अगाडि बढाइने
अर्थमन्त्रालयले ल्यान्ड पुलिङ प्रणालीबाट नै बाहिरी चक्रपथ आयोजना अगाडि बढाउन सहरी विकास मन्त्रालयललाई निर्देशन दिएको छ । सहरी विकास मन्त्रालयले मागेको रायको उत्तरमा मुआब्जा दिएर आयोजना निर्माण गर्दा आर्थिक भार हुने भएकाले ल्यान्ड पुलिङबाट आयोजना अगाडि बढाउन अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।
सहरी विकास मन्त्रालयले गत भदौ १८ मा अर्थ मन्त्रालयलाई पत्राचार गरी चाइना इन्जिनियरिङ कर्पोरेसनसँग इपिएस प्लस एफ (इन्जिनियरिङ प्लानिङ कन्सट्रक्सन एन्ड फाइनान्स) मोडलबाट बाहिरी चक्रपथ अगाडि बढाउन राय मागेको थियो । मन्त्रालयको रायमाथि कात्तिक १३ गते भएको छलफलबाट आयोजना ल्यान्ड पुलिङ गरी जारी प्रक्रियालाई पूर्णता दिने र सो पूरा भएपछि मात्र निर्माणको विकल्पमा छलफल गर्न उपयुक्त हुने मन्त्रीस्तरीय निर्णय भएको छ । उक्त निर्णयअनुसार आयोजना अगाडि बढाउन अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयलाई मंसिर ५ गते पत्राचार गरी निर्देशन दिएको हो ।
आयोजनाको प्रारम्भिक अध्ययनले बाहिरी चक्रपथ ६६.५८ किलोमिटर लामो र ८ लेनको हुनेछ । २१ वटा प्वाइन्ट हुने सडकले काठमाडौं, भक्तपुर र ललितपुरलाई छुनेछ । त्यसका लागि करिब ८ हजार ८ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाको अध्ययनले देखाएको थियो । बाहिरी चक्रपथ सडकको दायाँ–बायाँ २५०÷२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित बस्ती विकास गर्नेसमेत योजना छ । ल्यान्ड पुलिङमा स्थानीयसँग लिएको जग्गा ३५ प्रतिशत प्रयोग गरी बाँकी ६५ प्रतिशत व्यवस्थित घडेरी बनाएर फिर्ता गर्ने योजना रहेको छ । ३५ प्रतिशतमध्ये ५ प्रतिशत खुला ठाउँका लागि, ५ प्रतिशत विकास खर्च, ७.८ प्रतिशत बाहिरी चक्रपथ र १९ प्रतिशत आन्तरिक लिकका लागि प्रयोग गरिनेछ । 
पूरै खण्डमा एकैपटक जग्गा रोक्का गर्ने तयारी
बाहिरी चक्रपथ आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्न सबै सडकखण्डमा एकैपटक जग्गा रोक्का गर्ने तयारी गरेको छ । प्रथम चरणमा ६.६ किलोमिटर सडकखण्ड मात्रै रोक्का गर्दा अन्यत्र भू–माफियाले चलखेल गर्न सक्ने भएकाले पूरै खण्ड एकैपटक रोक्का गर्ने तयारी गरेको बाहिरी चक्रपथ आयोजनाका आयोजना प्रमुख दिलीप भण्डारीले बताए । ‘हामीले ६.६ किलोमिटर निर्माणको प्रक्रिया अगाडि बढाउन र बाँकी सडकखण्डमा पर्ने जग्गा रोक्का गर्नका लागि मन्त्रालयमा प्रस्ताव पठाएका छौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि काम अगाडि बढ्नेछ,’ उनले भने । 
यो आयोजना बनाउन प्रत्येक ६/६ किमिको १० वटा खण्डमा डिपिआर बनेको छ । सातवटा खण्डको तयार भइसकेको र तीनवटा खण्ड निर्माणधीन छ । दुईवटा खण्डको भने डिपिआर बनाउनै बाँकी रहेको पनि बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ । 
यसअघि पहिलो खण्ड चोभार सतुंगलको मात्रै जग्गा रोक्का गरेर निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भएको थियो । तर, २९ सय ५३ वटा टुक्रा तीन आनाभन्दा कम भएपछि मन्त्रालयले प्रक्रिया रोकेको थियो । आयोजना बन्ने हल्लाका कारण जग्गा धेरै टुक्रा भएको र सरकारले पछि फिर्ता दिन नसक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयले अब एकैपटक सबै खण्डको जग्गा रोक्का गर्ने तयारी अगाडि बढाएको हो । 
 https://www.nayapatrikadaily.com/news-details/3561/2019-01-18#

No comments:

Post a Comment