Thursday, January 17, 2019

मुलुकभर ३४ सभाहल बन्दै



सहरी विकास मन्त्रालयले मुलुकभर ३४ वटा सभाहल निर्माण गर्ने तयारी थालेको छ । तीमध्ये दुईवटा अन्तर्राष्ट्रिय सभाहल रहनेछन् भने अन्य क्षेत्रीय र स्थानीयस्तरको हुने बताइएको छ । बुटवल र भक्तपुरमा फराकिलो क्षेत्रमा ठूला अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न सभाहल बन्ने मन्त्रालयले जनाएको छ । अहिले नै पनि देशभर विभिन्न स्थानमा १२ वटा सभाहल निर्माण भइरहेको छ । कैलालीको टीकापुरस्थित सभाहल निर्माण सम्पन्न भई नै सकेको छ भने अन्य हल निर्माणका लागि डिजाइन भइरहेको छ ।

बुटवलमा झन्डा आकारको हल
बुटवलमा १ हजार २५ सिट क्षमताको तीन तले अन्तर्राष्ट्रियस्तरको हल निर्माण हुनेछ । जसमा एउटा मुख्य सभाहल हुनेछ भने अन्य ६ वटा साना कन्फ्रेन्स हल हुनेछन् । १६ बिगाहा क्षेत्रफलको १० बिगाहामा हल बन्नेछ । हलको कुल लागत २ अर्ब रुपैयाँ अनुमान गरिएको छ । सभाहल निर्माणको पहिलो चरणको कार्य अन्तिम अवस्थामा पुगेको छ । त्यस्तै, दोस्रो चरणका लागि वातावरण प्रभाव मूल्यांकनको कार्य भइरहेको सहरी विकास तथ योजना विभागका सिडिई मचाकाजी श्रेष्ठले बताए ।  
हललाई तीन चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा मुख्य सभाहल र बाल्कोनी निर्माणको कार्य सकिएको विभागका सिडिई श्रेष्ठले बताए । दोस्रो चरणका लागि वातावरण प्रभाव मूल्यांकन गर्नुपर्नेछ ।   
भक्तपुरमा वैशाखदेखि निर्माण थालिँदै
सरकारले भक्तपुरमा बनाउन लागेको ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य आगामी वैशाखदेखि मात्रै सुरु हुने विभागले जनाएको छ । विभागले हालै सभाहलका लागि आयोजना गरेको अवधारणा डिजाइन प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ । उत्कृष्ट डिजाइनलाई नै आधार मानेर सभाहलको विस्तृत डिजाइन तयारी गरिने विभागले बताएको छ । 
१ सय ८९ रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त सभाहल नेपालकै ठूलो अन्तर्राष्ट्रिय सभाहल हुनेछ । जसमा एउटा मुख्य हल बन्नेछ । त्यस्तै, २ वटा साना सभाहल बन्नेछन् । जहाँ बैंक्वेट र क्याफ्टेरिया पनि हुनेछ । हल निर्माणका लागि ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । चालू आवमा डिजाइन निर्माणका लागि १६ लाख रुपैयाँ विनियोजन भएको विभागले बताएको छ । 
उपत्यकाबाहिर बन्दै छन् सभाहल
सरकारले मुलुकका विभिन्न क्षेत्रमा ३२ वटा सभाहल निर्माण गर्ने तयारी गरेको छ । जसमध्ये ७ सय ६८ सिट क्षमताको सुर्खेत सभाहल, १ हजार ५ सय सिट क्षमताको दमक सभाहल, ६ सय २५ सिट क्षमताको रत्नानगर सभाहल र १ हजार २ सय सिट क्षमताको उदयपुरमा त्रियुगा सभाहल बन्दै छ । त्यसैगरी, दाङमा ६ सय ५०, दमौलीमा ७ सय २८, गोरखामा ६ सय ५०, डोटीमा ५ सय १९ र मौलापुरमा ३ सय ६ सिट क्षमता भएको सभाहल बन्दै छन् । विभागका अनुसार बैतडी र नुवाकोट पनि सभाहल निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपालगन्ज, धनगढी, रुकुमकोट, बाग्लुङ, रसुवा, कोहलपुर, चापाकोट, गल्याङ, गोलबजार, गौँडा, विराटनगर, निजगढ, सौराहा र रुकुममा सभाहल डिजाइनको काम भइरहेको छ ।
https://www.nayapatrikadaily.com/news-details/3483/2019-01-17

No comments:

Post a Comment