Wednesday, June 27, 2018

लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन


मुना कुँवर
काठमाडाैं, १३ असार
लाभकरको त्रासमा बिचौलियाले बढाए घरजग्गा कारोबार
जेठ महिनामा घरजग्गा खरिदबिक्री बापत सरकारले लिएको लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन भएको छ । चालू आर्थिक वर्ष ०७४/७५ को जेठ महिनामा सरकारले ५२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालू आवमा घरजग्गा रजिस्ट्रेसनबापत १८ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जेठ महिनासम्ममा १८ अर्ब २० करोड संकलन भैसकेको भूमिसुधार तथा व्यवस्थापन विभागले बताएको छ । सरकारले घरजग्गा व्यवसायको पुँजीगत लाभकरको सीमा घटाएर १० लाख रुपैयाँ कायम गरेको छ । बजेटले घोषणा गरेको पुँजीगत लाभकरको नयाँ व्यवस्था आर्थिक वर्ष ०७५/७६ बाट लागू हुने भूमिसुधार तथा व्यवस्था विभागका सूचना अधिकारी रत्नमान उदासले बताए । सोही कारण जेठ महिनामा धेरै कारोबार भएको विभागको भनाइ छ । चालू आवको अन्त्यसम्ममा सरकारको लक्ष्यभन्दा बढी राजस्व संकलन हुने विभागको अनुमान छ ।

बिचौलियाले कारोबार बढाए
हालको व्यवस्थाअनुसार ३० लाखभन्दा बढीको कारोबारमा पुँजीगत लाभकर बुझाउनुपर्छ । साउनदेखि सीमा घट्ने भएपछि बजारमा घरजग्गा कारोबारको चहलपहल बढेको छ । व्यवसायीले पुँजीगत लाभकर धेरै लाग्छ भन्दै बजारलाई रातारात तताएको एक व्यवसायीले बताए ।
विभागको तथ्यांकअनुसार चालू आवको वैशाख महिनाको तुलनामा जेठमा घरजग्गाबापत प्राप्त हुने राजस्व संकलन २१ प्रतिशतले बढेको छ । जेठमा कुल राजस्व संकलन २ अर्ब १७ करोड संकलन भएको छ । वैशाखमा १ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको थियो । त्यस्तै, घरजग्गा रजिस्ट्रेसनबापत मात्रै जेठ महिनामा १ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको छ भने वैशाखमा १ अर्ब ६३ करोड संकलन भएको थियो ।
कति बुझाउनुपर्छ राजस्व
नगरपालिकामा १० हजारसम्मको घरजग्गालाई रजिस्ट्रेसनबापत ४ सय रुपैयाँ राजस्व बुझाउनुपर्छ भने गाविसमा ३ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै, नगरपालिकामा रहेको १० हजार देखि २५ हजार रुपैयाँसम्म घरजग्गालाई १ हजार रुपैयाँ र गाविसमा ५ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै, नगरपालिकाभित्र रहेको २५ हजार रुपैयाँभन्दा बढीको मूल्यको घरजग्गामा कूल मूल्यको ४ प्रतिशत र गाविसमा २ प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था छ । तर, अबदेखि भने घरजग्गा खरिदबिक्रीबापतको राजस्वको दर प्रदेश सरकारले नै तोक्ने विभागका सूचना अधिकारी उदासले बताए ।
पुँजीगत लाभकर ६४ प्रतिशतले बढ्यो
चालू आवमा घरजग्गा खरिदबिक्री बापतको पुँजीगत लाभकर ६५ प्रतिशतले बढेको छ । गत आवको जेठ महिनामा ३४ करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । विभागका अनुसार सोही अवधिको चालू आवमा ५६ करोड २१ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । ५ वर्षभित्र जग्गा खरिदबिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर भुक्तानी गर्नुपर्छ भने ५ वर्षभन्दा माथिको अवधिमा खरिदबिक्री गर्दा साढे २ प्रतिशत लाभकर भुक्तानी गर्नुपर्छ ।
३० प्रतिशत बढ्यो राजस्व
गत आवको जेठ महिनाको तुलनामा चालू आवको सोही अवधिमा घरजग्गाबापत प्राप्त हुने राजस्वमा ३० प्रतिशतले वृद्धि भएको छ । चालू आवको जेठमा २ अर्ब १७ करोड संकलन भएकोमा गत आवको सोही अवधिमा भने १ अर्ब ६६ करोड संकलन भएको विभागको तथ्यांक छ ।
http://www.nayapatrikadaily.com/2018/06/27/65949/

No comments:

Post a Comment