Sunday, June 24, 2018

करिब ५८ हजार बिमा सीमाभन्दा बढी


मुना कुँवर
काठमाडाैं, ११ असार 
बिमा कम्पनीहरूबाट जारी गरिएका ५८ हजार ५ सय ५ वटा बिमालेख सीमा कारोबारभन्दा बढी देखिएका छन् । बिमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा दिइएको विवरणअनुसार उक्त संख्याका बिमालेखहरू सीमाभन्दा बढी भएको पाइएको हो ।
बिमा समितिले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ मा सीमा कारोबारको व्यवस्था गरिएको छ । सोअनुसार वार्षिक ३ लाख रुपैयाँ वा सोभन्दा बढी रकम बिमाशुल्क तिनुपर्ने निर्जीवन बिमालेख र १ लाख वा सोभन्दा बढी रकम बिमाशुल्क तिर्नुपर्ने जीवन बिमालेखका विषयमा बिमा कम्पनीले वित्तीय जानकारी एकाइमा विवरण दिनुपर्छ ।
यसरी बिमा कम्पनीहरूले आव ०७३/७४ मा दिइएको विवरणअनुसार करिब साढे ५८ हजार बिमालेख सीमाभन्दा बढी भएको देखिएको छ । त्यस्तै २ वटा बिमालेख शंकास्पद देखिएको स्रोतले बताएको छ ।

अवैधानिक रूपबाट आर्जन गरिएको रकम बिमालेख खरिदमा लगानी भएको हुन सक्ने आशंका गरिएको हो । पछिल्लो समय एकल बिमा भुक्तानी बिमालेखको बिक्री बढेपछि समिति चनाखो भएको छ । तर, बिमामा कालो धनको प्रयोग हुन सक्ने सम्भावना भने न्यून रहेको समितिका निर्देशक राजुरमण पौडेलले बताए । ‘बिमाशुल्क भुक्तानी बैंकबाट नै गर्नुपर्ने हुन्छ । बैंकमा नै यसको छानबिन हुने भएकाले बिमामा कालो धन प्रयोग हुने सम्भावना देखिँदैन,’ उनले भने ।
नक्कली कागजपत्र
कुनै पनि बिमितले एकल भुक्तानी बिमाशुल्क खरिद गर्दा आर्थिक क्षमता पुष्टि हुने आधिकारिक कागजात समावेश गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ । बिमितले ५० लाख रुपैयाँभन्दा बढी बिमांकको बिमायोजना खरिद गर्दा पेसा व्यवसाय तथा कारोबार पुष्टि हुने आधिकारिक कागजात संलग्न गर्नुपर्नेछ । साथै बिमाशुल्क भुक्तानी बैंक तथा कारोबार पुष्टि हुने, आधिकारिक कागजात, बिमाशुल्क भुक्तानी तथा वित्तीय संस्थाको खाताबाट गर्ने व्यवस्था, बिमितको आर्थिक, प्रशासनिक तथा आपराधिक पृष्ठभूमि अनुसन्धान गर्न–गराउन पाउने अधिकारपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ । तर, विमितहरूले नक्कली कागजपत्रहरू पेस गरेर पनि बिमालेख खरिद गरेको भेटिएको स्रोतले बताएको छ ।
के छ व्यवस्था
समितिले भर्खरै संशोधन गरेको निर्देशिकाअनुसार आगामी चैतसम्ममा बिमकहरूले ग्राहकहरूको पहिचान अद्यावधिक गर्नुपर्छ । उच्च जोखिममा देखिएका ग्राहकको कम्तीमा वर्षको एकपटक अद्यावधिक गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तै, ग्राहक पहिचान विवरणअनुरूप कारोबार मेल नखाएमा, ग्राहक पहिचानको कार्य पूरा नभएमा तत्काल अद्यावधिक गर्नुपर्छ ।
http://www.enayapatrika.com/2018/06/25/65462/

No comments:

Post a Comment