Monday, June 25, 2018

‘बजारमा दक्ष जनशक्तिको अभाव छ’


मुना कुँवर
काठमाडाैं, ११ असार
विभिन्न सरकारी तथ्यांकअनुसार नेपालमा जीवन बिमाको पहुँच करिब १० प्रतिशतमा मात्र पुगेको छ । नेपालजस्तो गरिब तथा भौगोलिक रूपले पनि विकट मुलुकमा जीवन बिमा अपरिहार्य भए पनि नेपालमा जीवन बिमासम्बन्धी चेतना नभएकै कारण पहुँच बढ्न नसकेको विज्ञहरू बताउँछन् । बिमा समितिले हालै नयाँ कम्पनीहरूलाई सञ्चालन अनुमति दिएको छ । योसँगै नेपालमा जीवन बिमा क्षेत्र केही चलायमान भएको पनि देखिएको छ । यद्यपि नयाँ कम्पनीसँगै अन्य चुनौती पनि थपिएका छन् । नेपालमा जीवन बिमा बजार, सम्भावना र चुनौतीका विषयमा एलआइसी नेपालका कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारसँग नयाँ पत्रिकाकर्मी मुना कुँवरले गरेको कुराकानीको सार :
जनसंख्याको आधारमा नेपालभन्दा ५० गुणा ठूलो भारतमा २४ वटा जीवन बिमा कम्पनी छन् भने करिब ३ करोड मात्र जनसंख्या भएको नेपालमा १८ वटा जीवन बिमा कम्पनी छन् । तुलनात्मक रूपमा नेपालमा धेरै कम्पनी भएका हुन् ?
नेपालमा बिमाको पेनिट्रेसन करिब १० प्रतिशत मात्र छ । यो आधारमा हेर्ने हो भने नेपालको बिमा बजार पूरै खाली छ । तर, दीर्घकालमा के हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था छैन । आगामी ५ वर्षमा वा १० वर्षमा के हुन्छ भनेर हामी अनुमान गर्न सक्दैनौँ । जे पनि हुन सक्छ । तर, आजका दिनमा नेपालमा बिमाको ठूलो बजार खाली छ । व्यवसाय कसरी हुन्छ ? के गरी हुन्छ ? भन्ने प्रश्न छुट्टै हो । तर, बजार भने खाली छ ।
त्यसो भए नेपालमा अझै जीवन बिमा कम्पनी थप्नुपर्ने हो त ?
भारत र खाडी मुलुकमा काम गर्दाका अनुभवका आधार भन्ने हो भने यी मुलुकको बैंकिङ क्षेत्र वाणिज्य बैंकले धानेका छन् । वित्तीय संस्थामा वाणिज्य बैंकहरू नै हाबी छन् । तर, क्यानाडामा स्थानीय तहबाट सञ्चालित सहकारीहरू हाबी छन् । बैंकहरूको तुलनामा स्थानीय सहकारीहरू मजबुत र प्रभावशाली छन् । राज्यको नीतिअनुसार यस्ता मोडलहरू कार्यान्वयन गरिन्छन् ।
बिमाको हकमा भन्ने हो तेर्सो वा ठाडो मोडलमा पनि जान सकिन्छ । सबैतिर बिमाको पहुँच पु-याउने हो भने तेर्सो मोडल अपनाउन सकिन्छ । यसमा बिमा कम्पनीको पहुँच बढाउन ध्यान दिइन्छ । ठाडो मोडलमा कम्पनीको वित्तीय अवस्था बलियो बनाउनतर्फ ध्यान दिइन्छ । कम्पनीको संख्या मात्रै बढी भएर हुँदैन वित्तीय अवस्था पनि उत्तिकै बलियो हुनुपर्छ ।
जीवन बिमामा नेपालका लागि कुन खालको मोडल उपयुक्त हुन्छ त ?
तेर्सो र ठाडो मोडलको प्रकृति फरक–फरक भए पनि नेपालका लागि मिश्रित खालको मोडल उपयुक्त हुन्छ । पहुँच बढाउन तेर्सो मोडल आवश्यक छ भने वित्तीय अवस्था बलियो बनाउन ठाडो मोडल आवश्यक छ । हुनत नेपालका बिमा कम्पनीहरू वित्तीय रूपमा बलिया नै छन् । बिमा समितिले जीवन बिमा कम्पनीहरूको पुँजी २ अर्ब तोकेको छ । यद्यपि भारतमा १ अर्ब रुपैयाँ छ, जुन नेपालीमा रूपान्तरण गर्ने हो भने पनि १ अर्ब ६० करोड रुपैयाँ मात्र पर्न आउँछ । यसले नेपालका जीवन बिमा कम्पनीहरू वित्तीय रूपमा बलियो भएको देखाउँछ ।
तपाईंले अन्य मुलुकहरूमा पनि काम गरिसक्नुभएको छ । तपाईंको अनुभवमा नेपालको जीवन बिमा बजार र अन्य मुलुकको जीवन बिमा बजारमा के फरक छ ?
सबैभन्दा महत्वपूर्ण कुरा त नेपालमा बिमासम्बन्धी चेतनाको कमी छ । मानिस बिमालाई बैंकसँग तुलना गर्छन् । यसमा हाम्रो पनि कमजोरी छ । हाम्रा प्रतिनिधिले बिमा पोलिसी बिक्री गर्दा १० वा १५ वर्षमा दोब्बर–तेब्बर रकम आउँछ भनेर बिक्री गरिरहेका हुन्छन् । त्यो बिमा होइन । बिमा भनेको जोखिम बहन हो । बिमा कम्पनीको काम व्यवसायका साथमा बिमासम्बन्धी चेतना पनि जगाउनु हो । यो विषयमा बिमा कम्पनीहरू असफल भए ।
बिमा चेतना बढ्न नसक्नुको कारणचाहिँ के हुन् त ?
सबैजसो बिमा कम्पनीले विज्ञापन गर्दा आ–आफ्नो प्रोडक्टको बारेमा मात्र चर्चा गर्छन् । कुनै पनि कम्पनीले बिमा भनेको के हो भनेर विज्ञापन गर्दैनन् । अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने कम्पनीहरूले आफ्नो कम्पनीको उत्पादनको विषयमा जति विज्ञापन गर्छन् त्यसको केही प्रतिशत रकम बिमा चेतनाका लागि खर्च गर्छन् । नेपालमा अहिले ९ वटा नयाँ जीवन बिमा कम्पनी आए । कुल १८ वटा कम्पनी पुगेका छन् । तर, दुःखद् कुरा नेपालमा बिमासम्बन्धी शिक्षा त्यो स्तरमा बढ्न सकेको छैन । नेपालमा धेरै बेरोजगारी छ । तर, मैले मेरो कम्पनीका लागि आवश्यक दक्ष जनशक्ति पाउनै सकेको छैन । कुनै पनि विद्यार्थीले विद्यालय तहमै बिमाबारे अध्ययन गर्छ भने उसको परिवारले बिमाबारे जानकारी पाउँछ । बिमा उद्योग, शैक्षिक क्षेत्र र नियमनकारी निकाय मिलेर एउटा साझा फोरम बनाउनुपर्छ । भारतमा इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया छ । नेपालमा पनि तालिमकेन्द्र खोल्न सकिन्छ । विश्वविद्यालयको कोर्समा पनि बिमालाई राख्नुपर्छ ।
एलआइसी नेपालले बिमा चेतनाका लागि भनेर वार्षिक कति बजेट विनियोजन गर्ने गरेको छ ?
हामीले बिमा समितिको निर्देशनअनुसार खर्च गर्ने हो । तर, समितिले बिमा चेतनाका लागि भनेर कुनै पनि शीर्षक राखेको छैन र निर्देशन पनि दिएको छैन । व्यवसाय प्रचार–प्रसारका लागि चाहिँ प्रथम बिमा शुल्कको निश्चित रकम छुट्याएको छ । कम्पनीले आफ्नो उत्पादनको विज्ञापन गरेर मात्रै व्यवसाय बढ्दैन । त्यसैले समितिले निश्चित रकम चेतना बढाउन खर्च गर्नू भनेर कम्पनीहरूलाई अनिवार्य गराउनुपर्छ ।
तपाईंहरू बिमासम्बन्धी जानकारी भएको व्यक्ति बजारमा भेटिएन भन्नुहुन्छ । उता पूर्वाञ्चल विश्वविद्यालयले चाहिँ बिमा अध्ययन गरेका विद्यार्थीलाई बिमा कम्पनीले जागिर नदिएको गुनासो गरेको छ । यो दुई पक्षबीच ग्याप हुनुको कारण के हो ?
विश्वविद्यालयले अध्यापन गराउने शिक्षा व्यावहारिक पनि हुनुपर्छ । सैद्धान्तिक मात्र भएर पुग्दैन । हामी बिमाको इतिहाससँगै खासगरी अन्डरराइटिङ, मोटर बिमा, मेडिकल बिमा, दाबी भुक्तानी प्रक्रियालगायतका ज्ञान भएका जनशक्ति चाहन्छौँ । हामीले केही अगाडि पूर्वाञ्चल विश्वविद्यालयमै गएर जागिरका लागि आवेदन खुला गरेको सूचना टाँसेका थियौँ र हामीले १० जनालाई कम्पनीमा नियुक्त पनि गरेका छौँ ।
अहिले बजारमा नक्कली वैदेशिक रोजगार पोलिसी जारी भएको र त्यसमा कम्पनीकै कर्मचारी पनि संलग्न भएको पाइएको छ । कम्पनीले जारी गरेको पोलिसी सक्कली नै हो भनेर कसरी ढुक्क हुने ?
बजारमा नक्कली बिमा पोलिसी भेटियो भन्ने समाचार मैले पनि सुनेँ । यो दुःखद कुरा हो । जहाँसम्म मेरो बुझाइ छ, यस्ता गतिविधिमा कम्पनी आफैँ संलग्न हुँदैन । नक्कली पोलिसी बिक्री गरेर कम्पनीलाई केही फाइदा हुँदैन । विकृति जहाँ पनि हुन्छ । जुुन बिमा क्षेत्रमा पनि छ । तर, अहिले वैदेशिक रोजगारमा जाने कामदारको बिमा अनलाइबाटै हुने हुँदा यस्ता घटना हुने सम्भावना कम हुँदै गएको छ । हाम्रो कम्पनीको हकमा हामीले यस्ता समस्या हुन नदिन अनलाइन इन्ट्रीको व्यवस्था गरेका छौँ । हाम्रो कम्पनीबाट पोलिसी खरिद गर्ने व्यक्तिले तुरुन्तै मोबाइलमा म्यासेज पाउँछ । पोलिसी खरिद गरेर पनि म्यासेज नपाउनेले कम्पनीमा मेल वा फोन गरे जानकारी लिन सक्छ ।
चालू आवको अन्त्यसम्ममा जीवन बिमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्थामा तपाईंहरूले लक्ष्य कसरी पूरा गर्ने योजना बनाउनुभएको छ ?
आव ०७३÷७४ को साधारणसभा हामी छिट्टै गर्दै छौँ । केही दिनमै यसको सूचना पनि निकाल्नेछौँ । सो अवधिमा पुँजी कसरी बढाउने भन्ने विषयमा निर्णय गर्नेछौँ । बिमा समितिले दिएको अवधि र पुँजीको लक्ष्य प्राप्न गर्ने कुरामा कुनै दुविधा छैन । हामीसँग धेरै विकल्प छन् । फरदर पब्लिक अफरिङ, हकप्रद र बोनस सेयर जारी गर्ने सबै अप्सन खुला छ । हामी छिट्टै विकल्प छनोट गर्नेछौँ ।
तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको दाबी भुक्तानी गर्न बाँकी रकम गत आवको तुलनामा डेढ गुणा बढेको देखिन्छ । के तपाईंहरू भुक्तानी गर्न उत्साही हुनुहुन्न ?
वास्तवमा हामीले बिमितको मृत्यु दाबीको आधारमा प्रोभिजन गर्छौँ । सम्भावित जोखिमलाई अनुमान गरेर हामीले यस्तो प्रोभिजन गर्दै आएका छौँ । हामी धेरै पम्परावादी सोच भएका कम्पनी हौँ । त्यसैले हामीले धेरै प्रोभिजन गरेर राख्छौँ । प्राकृतिक बिपत्ति आयो भने कुनै समस्या नहोस् भनेर हामीले यस्तो प्रोभिजन गरेका हौँ । तर, बिमितको मृत्युअगावै पोलिसी परिपक्क भयो भने उसको मृत्यु दाबीका लागि राखेको प्रोभिजन त खर्च नै भएन । त्यसैले भुक्तानी गर्न बाँकी रकम धेरै देखिएको हो ।
अहिले सबै बिमा कम्पनीको मुख्य समस्या दक्ष जनशक्तिको अभाव देखिएको छ । यो समस्याको समाधान गर्न कस्तो रणनीति बनाउनुभएको छ ?
हामी अन्य कम्पनीका कर्मचारी ल्याउँदैनौँ । हामीले बजारबाटै नयाँ कर्मचारी नियुक्त गरेका छौँ । कर्मचारीलाई आन्तरिक र बाह्य तालिम दिन्छौँ । हामीले भारतीय इन्स्योरेन्स इन्स्टिच्युटसँग सहकार्य गरेका छौँ । जहाँ हामी आफ्ना कर्मचारीलाई तालिमका लागि पठाउँछौँ । मलाई लाग्छ कुनै पनि व्यक्तिलाई राम्रोसँग सिकाउन सकियो भने ऊ सक्षम बन्छ । हामी त्यही अभ्यास गर्छौँ ।
सरकारले आगामी दुई वर्षभित्रमा बिमा कम्पनीहरूले लघुबिमाको हिस्सा १० प्रतिशत बनाउनुपर्ने व्यवस्था गरेको छ । यो लक्ष्य पूरा गर्न तपाईंको कम्पनीको योजना के छ ?
लघुबिमा भनेको न्यून आएका व्यक्तिलाई जारी गरिने बिमा हो । हामीले यसअघि नै १० प्रतिशतभन्दा बढी लघुबिमा जारी गरेका छौँ । सरकारले बिमा शुल्कका आधारमा १० प्रतिशत लघुबिमा जारी गर्नुपर्छ भन्यो भने त्यो असम्भव छ । पोलिसीको आधारमा हेर्ने हो भने हामीले कुल जारी गरेको पोलिसीमा १० प्रतिशतभन्दा बढी लघुबिमा पोलिसी छ । हामी जम्मा ६५ रुपैयाँमा खरिद गर्न सकिने पोलिसी तयार पारेका छौँ । हामी चाहन्छौँ सकेसम्म न्यून वर्गका मानिस बिमामा समेटियोस् । मेरो कम्पनीको सञ्चालकले कहिले पनि मलाई बिमा शुल्क कति संकलन गरिस् भनेर सोधेको छैन । जहिले पनि कति पोलिसी बिक्री भयो भनेर सोध्ने गरेको छ । अर्थात् हामी नेपालमा पैसा संकलनभन्दा पनि बिमाको पहुँच बढाउन प्रेरित छौँ ।
बिमा समितिले बैंकासुरेन्स निर्देशिका जारी गर्ने तयारी गरेको छ । नेपालमा बैंकास्योरेन्स आवश्यक छ कि छैन ?
फ्रान्समा ७० प्रतिशतभन्दा बढी पोलिसी बैंकबाटै बिक्री हुन्छ । भारतमा एलआइसीबाहेकका अन्य कम्पनीको ५० प्रतिशत व्यवसाय बैंकबाटै हुन्छ । तर, अभिकर्ताले दिने सेवा र बैंकले दिने सेवामा फरक छ । अभिकर्ताले दिने सेवा बैंकले दिन सक्दैन । कुनै घरमा बच्चा जन्मियो भने अभिकर्ता बधाई दिन जान्छ । उसले थप सल्लाह पनि दिन्छ । तर, बैंकले यो काम गर्न सक्दैन । अभिकर्ता बिमितलाई बिमाशुल्क भुक्तानी गर्न सम्झाउन जान्छ । तर, बैंकले यस्तो सेवा दिन सक्दैन । तसर्थ बैंक र अभिकर्ता फरक पक्ष हुन् ।
नयाँ कम्पनी सञ्चालनमा आएसँगै बिमा व्यतीतको दर पनि बढेको सुनिन्छ । यो क्रमलाई रोक्न कम्पनीहरूले के गर्नुपर्छ ?
यो विषयमा हामी धेरै भाग्यमानी छौँ । एलआइसी नेपालले हालै एसिया तहमा नै कस्टमर सर्भिसमा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । कस्टमर सर्भिस भनेको पर्सिटेन्सी रेसियो कम हुनु हो । पोलिसी त्यतिबेला व्यतीत हुन्छ जब मिससेलिङ हुन्छ । अभिकर्ताले झुट बोलेर पोलिसी बिक्री गरेको रहेछ भने बिमितले पोलिसी नवीकरण गर्दैन । त्यसैले मिससेलिङ रोक्न अभिकर्तालाई सचेत गराउनुका साथै बिमा चेनता बढाउनुपर्छ ।
http://www.enayapatrika.com/2018/06/25/65471/

No comments:

Post a Comment