नेपालको बिमा बजारमा हालै नयाँ कम्पनीहरू थपिएका छन् । बिमा समितिमा जीवन बिमा व्यवसाय सञ्चालनका लागि आवेदन दिएका कम्पनीमध्ये नौवटा कम्पनीले पुँजी कायम गरी व्यवसाय सञ्चालनको अनुमति लिएका छन्, जसमध्ये ६ वटा कम्पनीले कारोबार सञ्चालन गर्ने अन्तिम स्वीकृति समेत पाइसकेका छन् भने चारवटा कम्पनीले औपचारिक रूपमा कारोबार सञ्चालनसमेत गरिसकेका छन् । अन्य तीनवटा कम्पनीले भने तिहारऋघि नै कारोबार सुरु गर्ने योजना बनाएका छन् । यसअघि नै नेपालको बिमा बजारमा नौवटा जीवन बिमा कम्पनी सञ्चालित छन् । त्यसैले नयाँ बिमा कम्पनी आएसँगै बिमा क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र कम्पनी लामो समय टिक्न नसक्ने केही मानिसले टिप्पणी गरिरहेका छन् भने केहीले प्रतिस्पर्धाले बजार विस्तारमा सहयोग पुग्ने पनि बताइरहेका छन् । तर, यसका लागि कम्पनीहरूले बजारमा नयाँ सोच र योजना ल्याउनुपर्ने उनीहरूको तर्क छ । हालै औपचारिक रूपमै कारोबार सञ्चालन गरेका कम्पनीहरूले बिमा व्यवसाय विस्तारका लागि कस्ता खालका योजना ल्याएका छन् भन्ने विषयमा कारोबारकर्मी मुना कुँवरले सम्बन्धित व्यक्तिहरूसँग गरेको कुराकानीको सार,
मानिसमा बिमाको बानी बसाल्नेछौं
कमलराज गौतम
महाप्रबन्धक
सन नेपाल लाइफ इन्स्योरेन्स
आजभन्दा ६÷७ वर्षअघि बिमा समितिले एउटा कार्यक्रमको आयोजना गरेको थियो । नेपालमा बिमाको सम्भावनाका बारेका गरिएको अध्ययनलाई समेटेर गरिएको उक्त कार्यक्रममा नेपालका ३० प्रतिशत मानिससँग बिमा गर्न सक्ने क्षमता भएको बताइएको थियो । पक्कै पनि आजको दिनमा यो संख्या वृद्धि भइसकेको छ । किनभने दिन–प्रतिदिन विकासका कामहरू भइरहेका छन् । नेपालमा रेमिट्यान्स भित्रिने क्रम बढेको छ । रोजगारीका सिर्जनाहरू भइरहेका छन् । यसले मानिसको खरिद गर्न सक्ने क्षमता वृद्धि भएको छ अर्थात् बिमा गर्न सक्ने मानिसको संख्यामा वृद्धि भइरहेको छ ।
तर, समितिको तथ्यांक हेर्ने हो भने नेपालमा हाल बिमाको पहुँच ११ प्रतिशत छ, त्यो पनि वैदेशिक रोजगार बिमालाई समेट्ने हो भने मात्रै । त्यसलाई घटाउने हो भने जम्मा ६÷७ प्रतिशतमा मात्रै बिमा पुगेको हुनुपर्छ । अझ यसलाई पनि वास्तविक तथ्यांक मान्न सकिँदैन । किनभने यो तथ्यांक भनेको नेपालमा बिमा व्यवसाय सुरु भएदेखिको तथ्यांक हो । आजको दिनमा त कतिपय योजना परिपक्व भइसके । कतिपय व्यतीत भयो होला र कतिपय समर्पण भइसकेका छन् । तसर्थ यसलाई पनि घटाउने हो भने मुस्किलले ४ प्रतिशतमा बिमाको पहुँच पुगेको हुनुपर्छ ।
तसर्थ समितिको पहिलेको तथ्यांकलाई नै आधार मान्ने हो भने पनि अझै २६ प्रतिशत मानिसमा बिमाको पहुँच पुगेको छैन । यसको तात्पर्य भनेको नेपालमा बिमाको प्रचुर सम्भावना छ । सोचेअनुसार काम गर्न सकिन्छ वा सकिँदैन, त्यो त काम गरेपछि नै थाहा हुन्छ । तर, बिमा गर्न सकिँदैन वा नेपालको बिमा बजार सानो छ भन्नेमा म विश्वास गर्दिनँ ।
तसर्थ हामी नेपालमा बिमा क्षेत्रलाई फरक तरिकाले विस्तार गर्नेछौं । हाम्रो पहिलो काम भनेको मानिसमा बिमाको बानी बसाल्नु हो । किनभने कुनै पनि राम्रो कुराको बानी पार्नु कठिन छ । नकारात्मक कुराको बानी सहजै बस्न सक्छ तर सकारात्मक कुराको बानी पार्नु कठिन छ । त्यसैले हामी मानिसलाई बिमाको बानी पार्न चाहन्छौं । यसका लागि मानिसलाई बिमाका बारेमा जानकारी दिनेछांै । जब मानिस बिमाको महŒवको विषयमा जान्दछ तब ऊ बिमाप्रति आफैं आकर्षित हुन्छ ।
अर्को कुरा, बिमा कम्पनीहरू सहरकेन्द्रित छन् । हामी गाउँमा पनि पुग्नेछौं । किनभने गाउँको अवस्था अहिले परिवर्तन भइसकेको छ । सबैभन्दा बढी रेमिट्यान्स गाउँमै भित्रिन्छ, जसले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ । त्यसैले ग्रामीण क्षेत्रलाई हामीले लक्षित गरेका छौं ।
हाम्रो समाजमा विभिन्न खालका मानिस छन् । एक खालका मानिस, जसले बिमालाई ध्यान नै दिँदैनन् । ठूलो वर्ग जसले बिमालाई बेवास्ता गर्छ । अर्को बीचको वर्ग, जसलाई बिमा आवश्यक छ । ऊ बिमा गर्न पनि सक्छ । तर, ऊ बिमा गर्ने कि नगर्ने भन्ने सोचमै समय बिताउँछ । अर्को भनेको तल्लो वर्ग हो, जसलाई बिमाको ठूलो आवश्यकता छ तर बिमा गर्न सक्ने क्षमता छैन । हामीले यही वर्गलाई बिमामा समेट्नेछौं । साथै, मानिसमा बिमा गर्ने इच्छाशक्तिको विकास गर्नेछौं ।
कम्पनीहरूको साथमा राज्यले पनि बिमालाई प्राथमिकतामा राख्नुपर्छ । बिमालाई प्राथमिक विद्यालयदेखि नै अध्यापन गराउनुपर्छ, जसले गर्दा सानैदेखि मानिसलाई बिमा के हो भन्ने विषयमा जानकारी होस् । बिमा कम्पनीहरूसँग कुनै जादुको छडी छैन, जसले आजको भोलि नै बिमाक्षेत्रमा परिवर्तन ल्याउन सकोस् । यसका लागि समय लाग्छ । साथै, सबै निकायले उत्तिकै सहकार्य गर्नुपर्छ ।
अहिले हामीले केही नयाँ र केही अनुभवी कर्मचारी नियुक्त गरेका छौं । नयाँ कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिरहेका छौं । त्यसमा पनि अहिले सफ्टवेयरको बढी प्रयोग हुन्छ । त्यसैले शिक्षित व्यक्तिलाई काम गर्न गा¥हो छैन । कामप्रति रुचि राख्ने व्यक्ति भयो भने नयाँले पनि छिटै काम सिक्न सक्छ । त्यसैले कर्मचारीमा खासै समस्या देखेका छैनौं । हाल हामीले तीनवटा योजना सञ्चालनमा ल्याएका छौं ।
सेवालाई प्राथमिकतामा राखेका छौं
मनोजकुमार लाल कर्ण
प्रमुख कार्यकारी अधिकृत
युनियन लाइफ इन्स्योरेन्स कम्पनी
नेपालका विभिन्न निकायको तथ्यांकलाई आधार मान्ने हो भने १ करोड नेपालीको बिमा भएको छैन, जोसँग बिमा गर्न सक्ने क्षमता छ, तर मलाई लाग्छ, सबै नेपालीसँग बिमा गर्न सक्ने क्षमता छ । आज तपार्इं गाउँमा गएर एउटा कामदार खोज्नुभयो भने पाउनुहुनेछैन । यदि मानिस गरिब हुने हो भने त कामदार पाउनुहुन्थ्यो नि ! तर, आजको दिनमा ५ सय रुपैयाँ दिएर ६÷७ घण्टा काम गर्ने व्यक्ति पाउन मुस्किल छ, अर्थात् बिमा गर्नका लागि सबै व्यक्ति सक्षम छन् । पशुपतिमा भीख माग्ने मानिसले पनि पनि दिनमा १–२ सय त कमाएकै हुन्छ, जसमध्ये उसले बचतका लागि दिनमा ५ रुपैयाँ छुट्ट्याउन सक्छ । दिनको ५ रुपैयाँले उसले वर्षमा १ हजार ८ सय बचत गर्न सक्छ । वर्षमा १ हजार ८ सय भुक्तानी गरेर उसले १५ वर्षको २७ हजारको बिमा ग¥यो भने पनि कम्तीमा ५० हजार फिर्ता पाउँछ नि ! उक्त रकमले सामान्य व्यापार गर्न सकिन्छ ।
तसर्थ बिमा गर्न नसक्ने अवस्था भन्ने नै हुँदैन । यसका लागि मानिसले दिनमा एक कप चिया कम खाए पुग्छ । एक दिन बाहिर खाजा नखाए पनि पुग्छ । एक गाँस कम खाए पुग्छ । त्यति पनि गर्नु पर्दैन । खाना फाल्ने बानी छ भने त्यसलाई कम गरे पुग्छ । नेपालको शतप्रतिशत मानिसमा बिमा गर्न सक्ने क्षमता छ । तर, बिमाको महŒवका बारेमा मानिसले बुझेकै छैन, जुन हाम्रो चुनौती हो ।
तसर्थ अब दिनमा हाम्रो पहिलो काम भनेको मानिसलाई बिमाका बारेमा बुझाउनु हो । नेपालमा बिमाका बारेमा बुझाउन सक्ने सक्षम व्यक्तिको अभाव छ । त्यसैले हामीले सबैभन्दा पहिले त्यस्तो सक्षम जनशक्तिको निर्माण गर्दैछौं, जसले बिमाका बारेमा मानिसलाई बुझाउन सकोस् । यसका लागि हामी दैनिक तालिम सञ्चालन गरिसकेका छौं । त्यस्तै, हामीले सबैभन्दा पहिले बिमितको सेवालाई प्राथमिकतामा राख्नेछौं । बिमा मात्रै गरेर पुग्दैन, आवश्यक परेका बेला सेवा पनि उपलब्ध गराउनुपर्छ । हामी त्यसमा प्रतिबद्ध छौं । साथै, हाम्रो सेवा गाउँमुखी हुनेछ ।
तत्काल हामीले एउटा योजना सञ्चालनमा ल्याएका छौं । अन्य योजना समितिमा स्वीकृतिका लागि पठाएका छौं । हामी नयाँ योजना पनि सञ्चालनमा ल्याउँदै छौं । तर, पुराना योजनालाई पनि हामी निरन्तरता दिनेछौं । किनभने हाम्रो लक्षित वर्ग भनेको बिमाको पहुँच नपुगेका व्यक्ति हुन् । उनीहरूका लागि पुराना योजना पनि उत्तिकै महŒवपूर्ण छन् । नयाँ योजना भनेको पहिल्यै योजना खरिद गरिसकेका बिमितका लागि मात्रै हो । तसर्थ हामी नयाँ तथा पुराना दुवै खालका योजना सञ्चालन गर्नेछौं ।
हामी नेपालमा सञ्चालित बलिया कम्पनीमध्येका एक हौं । हामीसँग २ सय १५ करोडको पुँजी छ । हाम्रा कर्मचारी अनुभवी पनि छन् । बिमा गर्दा हामीले राम्रो सेवा पनि दिन्छौं । दाबी प¥यो भने राम्रो भुक्तानी गर्छौं, तसर्थ बोनस मात्रै मुख्य कुरा हैन । बिमा गर्दा सेवा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । आजको दिनमा बोनस शून्य भए पनि आगामी केही वर्षमै हामी बोनस दिन सक्षम हुन्छौं । तसर्थ हाम्रो कम्पनीका सञ्चालक, व्यवस्थापक, कर्मचारीको अवस्था हेरेर बिमितले विश्वास गर्न सक्छन् ।
हामीलाई कर्मचारी नियुक्तिमा खासै समस्या छैन । हामीसँग केही नयाँ र केही पुराना कर्मचारी छन् । नयाँ कर्मचारीलाई हामी सिकाउँदै छौं । प्रत्येक शुक्रबार हामी अनुभव आदान–प्रदान पनि गर्छौं । अनुभवी कर्मचारीले नयाँ कर्मचारीलाई सिकाउँछन् । यो वर्ष हामी ३० वटा शाखा सञ्चालनमा ल्याउँछौं ।
शाखा विस्तारलाई जोड दिएका छौं
नन्दकिशोर शर्मा
सञ्चालक
ज्योति लाइफ इन्स्योरेन्स
कुनै पनि मुलुकमा जनसंख्या वा क्षेत्रफलका आधारमा यति कम्पनी हुनुपर्छ भन्ने सिद्धान्त छैन । नेपालमा बेला बेलामा प्रकाशित भएका तथ्यांकहरूलाई हेर्ने हो भने बिमाको बजार खाली छ । हुन त नयाँ कम्पनीहरू आउँदा केही समयमा बजारमा हल्ला–खल्ला हुनु स्वभाविक नै हो । विगतमा राष्ट्र बैंकले बैंकहरूको लाइसेन्स प्रक्रिया खुकुलो बनाउँदा धेरै मानिसले नेपालमा धेरै बैंक चल्न सक्दैनन् भनेर टिप्पणी गरे । तर, अधिकांश बैंक राम्रोसँग चले । राम्रो गर्नु वा धेरै राम्रो गर्नु फरक कुरा हो । तसर्थ अहिलेको तथ्यांकअनुसार नेपालमा बिमाको ९० प्रतिशत बजार खाली नै छ । तसर्थ इमानदारीका साथ व्यावसायिक रूपमा लाग्यो भने सञ्चालन गर्न कठिन छैन । जीवन बिमा भनेको दीर्घकालीन व्यवसाय पनि हो । आज खोलेर एक वर्षमै ठूलो हुन्छु भन्ने सोच राख्नु गलत हो । तर, बिस्तारै इमानदारीपूर्वक लाग्यो भने सञ्चालन गर्न सम्भव छ ।
तत्काल हामीले १० वटा शाखा सञ्चालनमा ल्याएका छौं । सुरुको वर्ष हामी कर्मचारी नियुक्ति, शाखा विस्तारदेखि लिएर अन्य पूर्वाधार निर्माणमा जोड दिनेछौं । अर्को वर्षदेखि भने हामी पूर्ण रूपमा व्यवसाय विस्तारमा जोड दिनेछौं । यो वर्ष बजार विस्तारका लागि शाखा, उपशाखालाई नै विस्तार गर्ने योजना छ । हाल हाम्रो तीन वटा योजना समितिबाट स्वीकृति भइसकेको छ । अन्य योजनाहरू पनि स्वीकृतिका क्रममा छन् । यो वर्ष कमसेकम शाखा–उपशाखा र काउन्टर गरी ५० वटाजति खोल्ने सोचमा छौं ।
नेपालमा बिमाक्षेत्रका लागि दक्ष जनशक्ति अभाव स्वाभाविकै हो । विगतमा नौवटा कम्पनी हुँदा पनि माथिल्लो तहका कर्मचारीको अभाव थियो । अहिले पनि त्यो समस्या छ । त्यसैले हामीले क्षमता, कामप्रतिको रुचिअनुसारका नयाँ कर्मचारी नियुक्त गरेका छौं । उनीहरूलाई तालिम दिइरहेका छौं ।
हाम्रो कम्पनीको पुँजी २ सय २० करोड हो । आजको दिनमा सबैभन्दा बढी पुँजी हुनेमध्येमा हामी तेस्रोमा पर्छाैं । तसर्थ कम्पनीको बोनस दर नै मुख्य कुरा होइन । हामी सुरुवाती अवस्थामा छौं; तसर्थ बोनस दिन असमर्थ छौं । तर, अबको केही वर्षमै हामी राम्रो बोनस दिन सक्ने क्षमताको विकास गर्नेछौं । हाम्रा कम्पनीका संस्थापक नेपालका ख्यातिप्राप्त उद्योग–व्यवसायी छन् । उनीहरू आफ्नो क्षेत्रमा सफल भएका छन् । सञ्चालक पनि सफल व्यसायीहरू हुनुहुन्छ । त्यसैले बिमितहरूले हामीमा विश्वास गर्न सक्छन् ।
मानिसको भविष्य सुरक्षित गर्न चाहन्छौं
रामहरि अर्याल
अध्यक्ष
आईएमई लाइफ इन्स्योरेन्स
हाम्रो कम्पनीको मुख्य उद्देश्य मानिसको भविष्यलाई सुरक्षित गर्नु हो । व्यापार त सबै कम्पनीले गर्छन्, तर हामी जनतासम्म पुग्न चाहन्छौं । हामी नेपालमा बिमाको पहुँच ३० प्रतिशत पु¥याउन चाहन्छौं । नौवटा कम्पनी सञ्चालन भइरहेको ठाउँमा सोही अनुपातमा कम्पनी थपिँदा प्रतिस्पर्धा हुनु स्वाभाविकै हो । तर, स्वस्थ प्रतिस्पर्धा भयो भने बिमितले विकल्प पाउँछन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
तुलनात्मक रूपमा अहिले धेरैले बिमाका बारेमा बुझेका छन् । केही महिनाअघि आएको बाढी तथा भूकम्पका कारण पनि मानिस यसप्रति सचेत हुँदै गएका छन् । तर, जति हुनुपर्ने हो त्यति मानिस बिमाप्रति सचेत हुन नसकेको पनि यथार्थ हो; तसर्थ हामी सबैभन्दा पहिले मानिसलाई बिमाका बारेमा बुझाउन चाहन्छौं । यसका लागि हामीले हाम्रा कर्मचारी तथा अभिकर्तालाई प्रशस्त तालिम दिइरहेका छौं । हामी चाहन्छौं, हाम्रा अभिकर्तामा बिमाका बारेमा यथेष्ट जानकारी होस् । उसले बिमा योजना व्यापारका लागि होइन, बिमितको सुरक्षित भविष्यका लागि बिक्री गरोस् । मानिसमा बिमा बिक्री होइन, खरिद गर्ने अभ्यासको विकास होस भन्ने चाहन्छौं । आगामी दिनमा हामी यस्तो वातावरण सिर्जना गर्ने प्रयासमा लागिरहनेछौं ।
आगामी पाँच वर्षमा हाम्रो कम्पनीलाई नेपालका उत्कृष्ट कम्पनीमध्ये एक बनाउने लक्ष्य छ । यसका लागि सक्षम जनशक्ति छनोट गरिरहेका छौं । केही नयाँ तथा अनुभवी कर्मचारीलाई नियुक्त गरेका छौं । कर्मचारीलाई प्रशस्त तालिम प्रदान गर्दैछौं । साथै, हामी आधुनिक सहज खालका बिमा योजना सञ्चालन गर्ने तयारीमा छौं । यसअघि सञ्चालनमा आएका योजना केही संकुचित छन् । तर, समयअनुसार मानिसको चाहना र जीवनशैली पनि परिवर्तन भएको छ । सोही अनुसारको योजना सञ्चालनमा ल्याउनु आवश्यक छ । त्यसैले हामीले मोबाइलमा आधारित बिमा योजना पनि सञ्चालन ल्याउँदै छौं । बालबालिकादेखि विभिन्न उमेरका, वर्ग र क्षेत्रमा काम गर्ने मानिसलाई उपयोगी हुने खालका योजना सञ्चालन गर्नेछौं । हामी बिमितलाई केही नयाँ दिन चाहन्छौं ।
त्यस्तै नेपालमा बिमा बजार विस्तार गर्नका लागि सरकार र नियामक निकायले पनि उत्तिकै ध्यान दिनु जरुरी छ । बिमाक्षेत्रको पहिलो चुनौती भनेको दक्ष कर्मचारीको अभाव हो । यसका परिपूर्तिका लागि समितिले तालिम दिने संस्था स्थापना गर्नु जरुरी छ । साथै, सरकारले कतिपय बिमा योजना अनिवार्य गर्नुपर्छ । जस्तै सरकारी कर्मचारीको हकमा यसलाई अनिवार्य गर्न सकिन्छ र बिमा गरेबापत करमा दिइने छुटको दायरा पनि बढाउनु जरुरी छ ।
सञ्चालनकै वर्ष कुनै पनि जीवन बिमा कम्पनी बोनस दिन सक्षम हुँदैनन् । हामी पनि त्यही अवस्थामा छौं । तर, हाम्रो कम्पनीको पहिचान, क्षमता, प्रस्तुतीकरणका आधारमा बिमितहरूले विश्वास गर्न सक्ने अवस्था छ । आगामी दुई वर्षमा हामी बिमितहरूलाई राम्रो बोनस दिन सक्ने अवस्थामा पुग्नेछौं । हामीले अहिले १० वटा शाखा सञ्चालन गरिरहेका छौं । यो वर्ष ५४ वटा शाखा सञ्चालन गर्ने योजनामा छौं । त्यस्तै, अहिले चारवटा बिमा योजना सञ्चालनमा ल्याएका छौं । अन्य चारवटा पाइपलाइनमा छन् ।
http://www.karobardaily.com/news/82717



No comments:
Post a Comment