Thursday, October 26, 2017

स्वास्थ्य बिमाका लागि सहजकर्ताको व्यवस्था गरिँदै

मुना कुँवर
काठमाडौंः बिमा समितिले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन तेस्रो पक्ष सहजकर्ताको व्यवस्था गर्ने भएको छ । यसका लागि समितिले सहजकर्तासम्बन्धी निर्देशिकाको खाका समेत तयारी पारिसकेको छ । नयाँ बिमा ऐन पारित भएलगत्तै निर्देशिका जारी हुने समितिले बताएको छ । 
नेपालमा बिमा कम्पनीहरूले धेरै समय अघिदेखि स्वास्थ्य बिमा सञ्चालन गर्दै आएका छन् । तर, स्वास्थ्य बिमा दाबीमा अनेक जालसाजी हुने हुँदा कम्पनीहरू पनि अप्ठेरोमा पर्दै आएका छन् । त्यसैले स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउन समितिले सहजकर्ताको व्यवस्था गर्न लागेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “यो अन्तर्राष्ट्रिय अभ्यास हो । सबै मुलुकमा सहजकर्ताको व्यवस्था छ ।
किनभने सबै बिमा कम्पनीहरूमा स्वास्थ्यसम्बन्धी विशेषज्ञको उपलब्धता हुन सम्भव छैन त्यसैले सहजकर्ताको व्यवस्था गर्नु आवश्यक छ,” उनले भने ।
बिमा कम्पनी र बिमितबीच काम गर्ने पक्षलाई नै तेस्रो पक्ष सहजकर्ता भनिन्छ । जसले कम्पनी र बिमितबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ । सहजकर्ताले कम्पनी र अस्पतालसँग सहकार्यका लागि सम्झौता गर्छ । सम्झौता गरिएअनुसार नै सहजकर्ताले सम्बन्धित बिमा कम्पनीका बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

उपचार सेवा आवश्यक परेमा बिमित कुन अस्पताल जाने भनेर सोच्नु पर्दैन, न त कुनै समस्या प¥यो भनेर बिमककोमा जानु पर्छ । सहजकर्ताले बिमितलाई सबै खालको सेवा उपलब्ध गराउँछ । सहजकर्ताले बिमितलाई कुन अस्पताल वा कुन डाक्टरसँग उपचार गराउँदा उचित हुन्छ भन्ने खालको सल्लाह पनि प्रदान गर्छन् । 
सहजकर्ता बन्नका लागी निश्चित मापदण्ड पूरा गरेको हुनुपर्नेछ । निर्देशिकामा गरिएको व्यवस्थाअनुसार सहजकर्ता बन्नका लागि सञ्चालकमा एकजना चिकित्सक अनिवार्य हुनुपर्नेछ । त्यस्तै, सहजकर्ताले आफनै काउण्टरमा सामान्य उपचारको व्यवस्थासमेत गर्न सक्छ । अर्थात् सहजकर्तासँग स्वास्थ्य सम्बन्धी सबैखालका जानकारी हुनुपर्नेछ । मध्यस्थताको काम गरेबापत सहजकर्ताले बिमकसँग कमिसन पाउँछ । 
स्वास्थ्य बिमा देखिएका विकृतिलाई हटाउन समितिले यसअघि नै सहजकर्ताको व्यवस्था गर्ने तयारी समेत गरिसकेको थियो । तर, विद्यमान बिमा ऐनमा सहजकर्ताको व्यवस्था नभएकै कारण यसलाई लागू गर्न नसकिएको बिमाविज्ञ भोजराज शर्माले बताए ।
“हामीले पहिले नै खाका तयार पारिसकेका हौं । तर, अहिलेको ऐनमा यो व्यवस्था नभए पछि निर्देशिका जारी गर्ने कार्य रोकिएको हो । तर, नयाँ बिमा ऐनमा सहजकर्ताको व्यवस्था गरिएको छ । तसर्थ, नयाँ ऐन पारित भएलगत्तै सहजकर्तासम्बन्धी निर्देशिका पनि जारी हुनेछ,” उनले भने । 
गत वर्षदेखि सरकारले पनि स्वास्थ्य बिमा योजना सञ्चालनमा ल्याएको छ । त्यस्तै, भर्खरै स्वास्थ्य बिमासम्बन्धी विधेयक पनि पारित भएको छ । आगामी दुई वर्षभित्रमा नेपालका सबै नागरिक स्वास्थ्य बिमा गरि सक्ने सरकारको लक्ष्य रहेको छ । 
http://www.karobardaily.com/news/82998

No comments:

Post a Comment