Wednesday, August 2, 2017

स्वास्थ्य बिमाका सहभागीमा उच्च रक्तचापको समस्या बढी

     मुना कुँवर  
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका अधिकांश सदस्यहरूमा उच्च रक्तचापको समस्या देखिएको छ । समाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार साउन १६ गतेसम्ममा करिब ३ हजार ३२ जना सदस्यले उच्च रक्तचापको उपचार गराएका छन् । उपचार सेवा सुरु भएका आठ जिल्ला (कैलाली, बाग्लुङ, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी) मा सो अवधिसम्ममा १४ हजार ४३४ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् । 

समितिले उपचार सेवा लिने सदस्यहरूमा देखिएको रोगहरूलाई मुख्य १० वटामा बर्गीकरण गरेको छ । जसमध्ये उच्च रक्तचाप, अन्य संक्रामक रोग, ग्यासट्राइटिज एन्ड डियोडिनाइटिस, तल्लो पेटको दुखाई, अन्य रोगहरू जसको आइसीबी नखुलेको, मधुमेह, निदानात्मक सेवा लिन आएका विरामी, दातमा किरा लागेको, बाथको रोग र ढाडको नशा च्यापिएको रोग भनी विभाजन गरिएको छ । समितिको तथ्यांकअनुसार उपचार सेवा लिन आउने कुल संख्यामध्ये २१ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । त्यस्तै अन्य संक्रामक रोगहरू लागेर उपचार गर्नेको संख्या २ हजार ३ सय २६ रहेको छ । यो संख्या कुल संख्याको १६ प्रतिशत हो । त्यस्तै, ग्यासट्राइटिज एण्ड डियोडिनाइटिस रोगको उपचार गर्नेको संख्या १ हजार ६ सय ५२ रहेको छ । यो संख्या कुल संख्याको ११ प्रतिशत हो भने १० प्रतिशत सदस्यले तल्लो पेटको दुखाइको उपचार लिएका छन् । 
समितिकाअनुसार सामान्य तर पहिचान हुन नसकेको रोगको उपचार गर्न आउनेको संख्या १ हजार २ सय ४१ रहेको छ । यो संख्या कुल सदस्यको ८ प्रतिशत हो । मधुमेहका रोगीको हिस्सा ७ प्रतिशत भन्दा बढी रहेको छ । तथ्यांकअनुसार अधिकांशमा उच्च रक्तचापको समस्या बढी देखिए पनि वास्तवमै नेपालमा यस्ता रोगीहरूको संख्या बढ्दै गएको हो भनेर यकिन भने गर्न नसकिने समितिका सिअहेब अधिकृत जनक अधिकारीले बताए । “तर, दीर्घरोगीहरू स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएको हुनसक्ने हामीले अनुमान गरेका छौं,” उनले भने । यस्तो खालको विरामीले सधै औषधि खाइरहनु पर्ने भएकाले पनि कार्यक्रममा सहभागी भएको हुन सक्ने उनले बताए । 
समितिको तथ्यांकअनुसार हालसम्म १४ जिल्लाबाट १ लाख १५ हजार २ सय ७६ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । यस्तै, हालसम्म ४० हजार २४२ वटा दाबी परेको छ । 
नागरिकको उपचार गर्न पाउने अधिकारलाई संरक्षण गर्दै सरकारले नै स्वास्थ्य बिमा कार्यक्रमको परिकल्पना गरेको हो । कार्यक्रम सञ्चालनका लागि लामो समयदेखि योजना निर्माण भए पनि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ जारी भएपछि मात्रै गत वर्षदेखि यो कार्यक्रमको सुरुवात भएको हो । हाल यो सेवा नेपालको विभिन्न १५ जिल्लामा विस्तार गरिएको छ । 

No comments:

Post a Comment