१९ श्रावण, २०७४ १:४१ राति
काठमाडौंः बिमा समितिले थप तीनवटा जीवन बिमा कम्पनीले लाइसेन्स दिएको छ । योसँगै नेपालमा लाइसेन्स प्राप्त गर्ने जीवन बिमा कम्पनीको संख्या १५ पुगेको छ । यसअघि गत असार २० गते एकादशीका दिन पारेर तीनवटा कम्पनीले पनि लाइसेन्स लिएका थिए ।
जीवन बिमा कम्पनी सञ्चालनका लागी बिमा समितिमा पुगेका १० कम्पनीमध्ये बुधबार रिलायन्स लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाएको बिमा समितिका निर्देशक राजुरमण पौडेले बताए । तीन वटै कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको समितिले जनाएको छ । जसमध्ये कम्पनीहरूले ७० प्रतिशत पुँजी कायम गरेका छन् ।
त्यस्तै, गत असार २० गते एकादशीको शुभ दिन पारेर आइएम लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । जसमध्ये ज्योति लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड चुक्ता पुँजी रहेको समितिले जनाएको छ ।
लाइसेन्स प्राप्त गरेका कम्पनीमध्ये युनियन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण नियुक्त भएका छन् । उनी यसअघि सूर्या लाइफ इन्स्योरेन्समा कार्यरत थिए । कम्पनीले साउनभित्रै औपचारिक काम सुरु गर्ने तयारी गरेको छ ।
लाइसेन्स लिएका कम्पनीहरूले छ महिनाभित्र काम सुरु गरिसक्नुपर्नेछ । उक्त अवधिभित्र कम्पनीले नौवटा सर्त पूरा गर्नुपर्ने समितिमा उपनिर्देशक साम्बाराज लामिछानेले बताए ।
कार्यालय स्थापना तथा भौतिक पूर्वाधार निर्माण, कर्मचारी नियुक्ति, कम्पनीको दिग्दर्शन निर्माण, कर्मचारी विनियमावली निर्माण, अन्डर राइटिङ र क्लेम सेटलमेन्ट म्यानुअल, आर्थिक प्रशासनसम्बन्धी विनियम, संस्थागत संरचना निर्माण, पुनर्बिमासम्बन्धी सम्झौता र बिमांकीय नियुक्ति गरेपछि मात्रै कम्पनीहरूले व्यवसाय सञ्चालनको अनुमति पाउने उनले बताए ।
बिमा समितिले गत चैत ३१ गते नयाँ विमा कम्पनीका लागि लाइसेन्स खुल्ला गरेको थियो । यसअघि नै रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेका कम्पनीलाई तीन साताको समय दिएर अध्यावधिक गरेर आउन समितिले निर्देशन दिएको थियो । समितिको दिएको अवधिसम्ममा १४ वटा कम्पनी अद्यावधिक भई सञ्चालनको अनुमति माग्दै समिति पुगेका थिए । जसमध्ये १० वटा जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी थिए ।
अर्थ मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाएपछि समितिले कम्पनीहरूलाई गत जेठ पहिलो साता पुँजी कायम गरेर आउन निर्देशन दिएको थियो । समध्ये ६ वटाले लाइसेन्स लगीसकेका छन् भने सिटिजन लाइफ, स्टार लाइफ, सानीमा लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स भने प्रक्रियामा छन् ।
त्यस्तै, निर्जीवन बिमा व्यवसायका लागि लाईसेन्स माग्दै समिति पुगेका सानिमा, अजोड, मनकामना र जनरल इन्स्योरेन्स कम्पनी भने छलफल कै क्रममा रहेको समितिले जनाएको छ ।
http://www.karobardaily.com/news/81238
http://www.karobardaily.com/news/81238
No comments:
Post a Comment