२५ श्रावण, २०७४ ८:१६ राति
काठमाडौः नागरिकको निक्षेप सुरक्षण रकम बढे पनि वित्तीय संस्थाहरू मर्ज हुँदै गएकाले सुरक्षण गर्ने संस्थाको संख्या भने घटेको छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७३/७४ मा ३ खर्ब ८१ अर्ब रूपैयाँ बराबर निक्षेपको सुरक्षण गरेका छन् ।
उक्त अवधिमा ११५ वित्तीय संस्थाले १ करोड ५३ लाख १८ हजार ८१५ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेका हुन । सुरक्षण रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ दशमलव ५४ प्रतिशतले बढी हो भने निक्षेपकर्ता १३ प्रतिशतले बढेका छन् । तर, निक्षेप सुरक्षण गर्ने वित्तीय संस्था भने २३ प्रतिशतले घटेका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका नायब प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रका अनुसार वित्तीय संस्थाहरू मर्ज हुँदै गएकाले निक्षेप सुरक्षण गर्ने संस्थाको संख्या पनि घटेको देखिएको हो । निक्षेपको सुरक्षण गर्ने विभिन्न वित्तीय संस्थामध्ये ‘क’ वर्गका वाणिज्य बैंकको हिस्सा अधिक रहेको छ ।
सो अवधिमा २८ वाणिज्य बैंकले आफना १ करोड २१ लाख ४३ हजार २०८ निक्षेपकर्ताको ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । यो रकम कुल सुरक्षण रकमको ७९ दशमलव ६१ प्रतिशत हो । त्यस्तै, गत आवको तुलनामा यो रकम २४ प्रतिशतले बढी हो ।
निक्षेप सुरक्षण गर्नेमा विकास बैंकको हिस्सा १७.७९ प्रतिशत छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको तथ्यांकअनुसार गत आवमा ५३ वटा विकास बैंकले आफ्ना २७ लाख ५३ हजार ६ सय २४ निक्षेपकर्ताको ६७ अर्ब ९३ करोड रूपैयाँ बराबरको निक्षेप सुरक्षण गरेका छन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ८५ प्रतिशतले बढी हो । मानिसहरूमा बैंकिङ बानीको विकास हुँदै जाँदा निक्षेपकर्ताको संख्या बढ्दै गएको मिश्रले बताए । फलस्वरूप निक्षेप सुरक्षण रकम पनि बढेको उनले बताए ।
“वित्तीय संस्थाले एक घर एक खाता कार्यक्रमलाई अगाडि बढाउनु, भूकम्पपीडितलाई बैंक खाताबाट नै भुक्तानी गर्नु जस्ता गतिबिधिले निक्षेपकर्ता बढेका हुन्,” उनले भने । वित्त कम्पनी तथा लघुवित्त विकास बैंकको निक्षेप सुरक्षण रकम भने घटेको छ । गत आवमा लघुवित्त विकास बैंकको सुरक्षण रकम ६७ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त कम्पनीको सुरक्षण रकम भने २७ प्रतिशतले घटेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ अनुसार कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रूपैयाँसम्मको निक्षेप सुरक्षण गर्नेछ । कोषमा निक्षेप सुरक्षण गराएबापत बैंक तथा वित्तीय संस्थाको सुरक्षण हुने निक्षेपको ०.२० प्रतिशत अर्थात प्रतिसय रूपैयाँमा २० पैसाका दरले वार्षिक सुरक्षण शुल्क तोकिएको छ ।
कोषमा सुरक्षण गरिएको निक्षेप रहेका बैंक तथा वित्तीय संस्था लिक्विडेसनमा गएको घोषणा भएमा प्राकृतिक व्यक्ति निक्षेपकर्ताको नाममा कल, चल्ती, बचत र मुद्दती खातासमेत गरी बढीमा दुई लाख रुपैयाँसम्मको रकम लिक्विडेटरमार्फत सम्बन्धित निक्षेपकर्तालाई कोषले भुक्तानी दिने व्यवस्था रहेको छ ।
No comments:
Post a Comment