मुना कुँवर
२० श्रावण, २०७४
काठमाडौः नेपालमा पर्याप्त बिमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बिमा गर्ने क्रम भने अझै रोकिएको छैन । नेपालको कानुनल बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बिमा गर्ने गरिरहेको पाइएको छ । अनौपचारिक माध्यमबाट हुने यस्तो बिमाले नेपालीहरू ठगिने सम्भावना मात्र नभइ सरकारको राजस्वमा समेत नोक्सान हुने गरेको छ ।
नेपालमा व्यावसायिक रूपमा बिमा कम्पनीहरू स्थापित नहुँदासम्म भारतीय कम्पनीहरूको बोलवाला नै थियो । भारतीय कम्पनीका अभिकर्ताहरूले नेपालमा खुल्ला रूपमै काम गर्थे ।
तर, नेपालमै जीवन बिमा कम्पनीहरूको स्थापना भएपछि भने यो क्रम घटेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेककुमार झाले बताए । “पहिला क्रसबोर्डर बिमाको अवस्था विकराल थियो, अहिले भने केही कमी आएको छ । तर, पूर्ण रूपमा निर्मूल भने भइसकेको छैन,” उनले भने ।
क्रस बोर्डर बिमा गर्न बिमा ऐनले बन्देज गरेको छ । तर, अझै पनि लुकिछिपी छिमेकी मुलुकमा सञ्चालित कम्पनीहरूसँग बिमा गर्ने क्रम रहेको बिमाविज्ञ भोजराज शर्माले बताए । “विशेषगरी व्यापारीहरूले भारतमा सञ्चालित बिमा कम्पनीसँग (नेपालमा कार्यालय नभएका) बिमा गराएको सुनिन्छ । मैले केही शिक्षित युवाहरू पनि भेटेको छु । जसले भारतीय कम्पनीसँग बिमा गराएका छन् ।
यसरी बिमा गर्ने १÷२ प्रतिशत होलान्,” उनले भने । साधारणतया नेपाल र भारतको सीमा क्षेत्रमा बसोबास गर्ने मानिसले भारतीय बिमा कम्पनीमा बिमा गराउनु सामान्य मानिन्छ । तर, यस्ता क्षेत्रमा टिकट साइजको मात्रै बिमा हुने गरेको झाले बताए । “ठूलो रकमको बिमा त नेपालको मुख्य शहरबाट नै विदेशी कम्पनीमा भइरहेको छ,” उनले भने ।
विदेशी कम्पनीका अभिकर्ताले बिमितलाई फकाएर बिमा गरे पनि यो गैरकानुनी मात्रै नभएर विमितको हितविपरित भएको उनले बताए । “पहिलो कुरा त नेपालका बिमा कम्पनी भन्दा भारतमा नै सञ्चालन भएका बिमा कम्पनीको बोनसदर कम छ ।
दोस्रो कुरा नेपाली रूपैयाँ भन्दा भारतीय रूपैयाँ बलियो हुनाले बिमाशुल्क बढी भुक्तान गर्नुपर्छ । अझ भारु अभाव हुँदा त थप शुल्क तिरेर नोट साट्नु पर्ने हुन्छ,” उनले भने । नेपालमा नै बलिया र सक्षम कम्पनीहरू स्थापना भइसक्दा पनि मुलुकबाहिर रहेका कम्पनीहरूमा बिमा गराउनु दुःखदायी कुरा भएको पेशागत बिमा अभिकर्ता संघका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । “अझै पनि ठूलाठूला बिमा नेपालबाट बाहिर गइरहेको सत्य हो,” उनले भने ।
भारतमा नै सञ्चालन भएका बिमा कम्पनीमा काम गर्ने नेपाली अभिकर्तामार्फत यस्तो बिमा भएको सरोकारवालाहरू बताउँछन् । यसको मुख्य कारण नेपालीमा बिमासम्बन्धी चेतनाको अभाव भएको उनीहरू बताउँछन् । नेपालीहरूलाई बिमा केका लागि र किन गर्दैछु भन्ने विषयको नै ज्ञान हुँदैन । त्यसैले अभिकर्ताले भनेकै आधारमा मात्रै विश्वास गरेर बिमा गर्दा मुलुक बाहिरका कम्पनीमा बिमा गर्न पुग्ने गरेको विज्ञहरू बताउँछन् ।
बिमा ऐन अनुसार नेपालमा बिमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीले बिमा समितिसँग स्वीकृति लिनुपर्नेछ । अर्थात् नेपालमा कम्पनी सञ्चालनका लागि अनुमति नलिएका कम्पनीले नेपालमा बिमा गर्न पाउँदैनन् । तर, यसरी भइरहेको बिमाको औपचारिक तथ्यांक नहुने हुँदा यसलाई नियन्त्रण गर्ने संयन्त्रको विकास पनि हुन सकेको छैन ।
http://www.karobardaily.com/news/81260

No comments:
Post a Comment