Wednesday, April 12, 2017

बिमक निरीक्षण गर्दै समिति

मुना कुँवर 
काठमाडौंः बिमा कम्पनी सञ्चालनमा बिमा समिति कडाइका साथ प्रस्तुत हुने भएको छ । अबदेखि समितिले बिमा कम्पनीहरूको निरन्तर निरीक्षण गर्ने भएको छ । यसको लागि समितिले आन्तरिक तयारीको समेत थालनी गरिसकेको छ । 
बिमा ऐनमा कम्पनीहरूको निरक्षण गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म समितिले उजुरीको आधारमा मात्रै निरीक्षण गर्दै आएको छ । कम्पनीहरूको पारदर्शिताको लागि यो पर्याप्त नभएको भन्दै समितिले आगामी दिनदेखि निरन्तर निरीक्षण गर्ने तयारी गरेको हो ।
समितिले प्रत्येक कम्पनीको वर्षमा एक पटक अनिवार्य रूपमा निरीक्षण गर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “कम्पनीहरूले निर्देशिका अनुसार काम गरे नगरेको, ऐनको उचित पालना गरे नगरेको, संस्थागत सुशासन कार्यान्वयन भए नभएको, दाबी भुक्तानीको प्रक्रिया, अन्डर राइटिङको अवस्थालगायतको निरीक्षण गरिनेछ,” उनले भने । 

निरक्षणमा जानु पूर्वकम्पनीलाई सूचना दिइने समितिका अध्यक्ष चापागाईंले बताए । “हामी खुसुक्क जाँदैनांै । कम्पनीलाई पहिले नै पत्र काट्छौं । निरीक्षण गरिने विषयको पनि जानकारी गराउँछौं,” उनले भने । निरीक्षणका लागि समितिले उपनिर्देशक सहितको एउटा टोली निर्माण गर्ने तयारी गरेको छ ।
निरीक्षणपछि टोलीले कम्पनीको सञ्चालक समितिलाई प्रतिवेदन बुझाउँनेछ । सञ्चालक समितिले उक्त प्रतिवेदनको दुई दिनमा जवाफ दिनुपर्नेछ । सञ्चालकको जवाफ पछि टोलीले पुनः अन्तिम प्रतिवेदन तयार पार्नेछ ।
टोलीले देखाएका कमजोरीलाई कम्पनीले सुधार गरे नगरेको निरन्तर फलोअप गरिने समितिले बताएको छ । नमुनाका लागि काठमाडौं बाहिरका एउटा शाखा कार्यलयको कार्यसम्पादन पनि हेरिने भएको छ । 
निरीक्षण टोलीलाई सबल बनाउन समितिले आवश्यक तालिम प्रदान गर्ने भएको छ । कर्मचारीलाई निरीक्षणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक अभ्याससमेत गराइने समितिले बताएको छ । तत्पश्चात समितिले कम्पनी निरीक्षण काम सुरु गर्नेछ । सम्भवतः आगामी एक महिनापछि निरीक्षणको काम सुरु हुने समितिले बताएको छ ।
समितिको अध्यक्षका रूपमा नियुक्त भएपछि एकपछि अर्को निर्णय गर्दै आएका  अध्यक्ष चापागाईंले बिमा क्षेत्रको विकास लागि अर्को निर्णय गरेका हुन् । गत पुस महिनामा समितिको अध्यक्षमा नियुक्त भएका चापागाईंले लामो समयदेखि अन्योलमा रहेको बिमकहरूको चुक्ता पुँजीको सीमा निर्धारण गरी गरे । गत १८ गते कम्पनीहरूको चुक्ता पुँजी निर्धारण गरेसँगै समितिप्रति बिमकहरू सकारात्मक देखिएका छन् ।  
 

No comments:

Post a Comment