Monday, January 2, 2017

बिमा समिति अध्यक्षमा अन्योल

मुना कुँवर 
काठमाडौंः गत बिहीबारदेखि पोखरा विश्वविद्यालयका निर्देशक डा. रवीन्द्र घिमिरेको फेसबुक पेजमा बधाई दिनेको ओइरो नै लागेको छ । विभिन्न संघ–संस्था तथा उनका शुभचिन्तकहरूले बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको भन्दै शुभकामना दिएका हुन् । फेसबुकमा मात्रै हैन, मोबाइलमा पनि उनलाई फोन तथा सन्देश पठाएर शुभकामना दिने क्रम उत्तिकै छ । 
गत बिहीबार केही सञ्चारमाध्यममा उनी समितिको अध्यक्षमा नियुक्त भएको समाचार प्रकाशित भएपछि उनलाई बधाइ दिनेको ओइरो लागेको हो । तर, यस विषयमा घिमिरे स्वयं भने अनभिज्ञ छन् । 
मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति गरेको समाचार सार्वजनिक भए पनि उनलाई यस विषयमा कुनै पनि औपचारिक तथा अनौपचारिक जानकारी छैन । “यस विषयमा मलाई अहिलेसम्म कुनै सूचना नै छैन, तर बधाइ भने आइरहेको छ,” उनले भने ।    
                

समिति अध्यक्षको नियुक्तिका विषयमा घिमिरेमात्रै हैन, सरकारका मुख्यसचिव सोमलाल सुवेदी पनि अनभिज्ञ छन् । बिहीबारको बैठकमा यस विषयमा छलफल भए पनि निर्णय के भएको थियो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताए ।
“बैठकमा छलफल भएको भन्ने सुनेको हो, तर निर्णय के भयो भन्ने विषयमा मलाई जानकारी छैन,” उनले भने । शुक्रबार र शनिबार कार्यालय बिदा भएको र आइतबार आफू काठमाडौं बाहिर भएकाले निर्णय के भयो भन्ने विषयमा जानकारी पाउन नसकेको उनले बताए । 
समितिको अध्यक्षका लागि विभिन्न समयमा विभिन्न क्षेत्रका व्यक्तिहरूको नाम चर्चामा आए पनि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा भने अर्थमन्त्री कृष्णबहादुर महराले तीन जनाको नाम सिफारिस गरेका थिए । 
अर्थमन्त्री महराले डा. घिमिरेलाई प्राथमिकतामा राखे पनि नियुक्तिमा माओवादी मन्त्रीहरूबीच नै विवाद उत्पन्न भएपछि तत्काल निर्णय हुन नसकेको स्रोतले बताएको छ । 
बैठकमा अध्यक्षको टुंगो लाग्न नसकेपछि मन्त्रिहरूबीच आपसी सहमतिमा डा. घिमिरेलाई नै अध्यक्षमा नियुक्ति गर्ने मौखिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक निर्णय भने भएको छैन । डा. घिमिरे बिमा विषयमा नै विद्यावारिधी गरेका छन् भने पोखरा विश्वविद्यालयमा बिमा विषय नै अध्यापन गराउँदै आएका छन् । 
त्यस्तै, नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थाको निर्देशकका रूपमा काम गरिसकेका र हाल पोखरा विश्वविद्यालयका निर्देशक समेत रहेका डा. घिमिरेलाई बिमाको विज्ञता, प्रसाशनिक अनुभव भएको सक्षम व्यक्तिको हैसियतले उनलाई अध्यक्षमा नियुक्ति गर्न मन्त्रालयले उपयुक्त ठहर्‍याएको स्रोतले बताएको छ ।
सरकारले औपचारिक निर्णयको लागि समय लम्ब्याउँदा बीचमा चलखेलको क्रम बढेको समेत मन्त्रालय सम्बद्ध व्यक्तिहरूले बताएका छन् । लामो समयदेखि नयाँ बिमा कम्पनी दर्ता गराउन चाहने व्यवसायीहरूले आफू निकटको व्यक्तिलाई अध्यक्ष बनाउन प्रयासमा रहेको समेत बुझिएको छ । 
तर, सरकारले कुनै पनि प्रभावमा  परी बिमा क्षेत्रभन्दा बाहिरका वा बिमा कम्पनीहरूसँग प्रत्यक्ष  वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने व्यक्तिहरूलाई अध्यक्षमा नियुक्त गरे बिमा व्यवसायमा ठूलो धक्का लाग्ने बिमा विज्ञहरूले बताएका छन् । 
अध्यक्ष नियुक्त नहुँदा समितिको काम ठप्प 
बिमा समितिमा अध्यक्ष नियुक्त हुन नसक्दा कामहरू ठप्प भएका छन् । गत मंसिर ७ गते तत्कालीन अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको दुई कार्य अवधि समाप्त भएपछि समिति नेतृत्वविहिन बनेको हो । हालसम्म पनि नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा महत्वपूर्ण कामहरू रोकिएको समितिका कर्मचारीहरूले बताएका छन् । 
समितिले अभिकर्ताहरूले हालसम्म खाईपाई आएको सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रेका छन् । जसको कारण हाल जीवन बिमा कम्पनीहरूको व्यवसाय ठप्प भएको छ । कम्पनीहरूले नयाँ योजना जारी गर्न पाएका छैनन् । त्यसैले जतिसक्दो छिटो अध्यक्ष नियुक्ति गरी यो समस्या सामाधान गर्नुपर्ने कम्पनीहरूले बताएका छन् । 
त्यस्तै, अध्यक्ष नियुक्त हुन नसक्दा कम्पनीहरूको साधारणसभा नै रोकिने देखिएको छ । सभा गर्नुअघि समितिले कम्पनीहरूको वित्तीय विवरणहरू स्वीकृत गर्नुपर्छ । तर, अध्यक्ष नहुँदा विवरणहरू स्वीकृत हुन सकेको छैन । त्यस्तै, पुनर्बिमाका लागि रकम पठाउने कार्य, शाखा विस्तारको कार्यहरू समेत रोकिएको सरोकारवालाहरूले बताएका छन् ।
http://www.karobardaily.com/news/70602

No comments:

Post a Comment