Thursday, December 29, 2016

नेपालमा बीमा उद्योग : सम्भावना र चुनौती

डा. दामोदर बसौला
वर्तमान युग आधुनिकताको विकाससँगै जति सहज र सुविधायुक्त छ त्यत्तिकै जोखीमपूर्ण पनि छ । दुर्घटना र भवितव्यलाई रोकेर रोक्न सकिँदैन । मानिस स्वयम् पनि मरणशील छ । व्यक्तिगत रूपमा मानिसलाई उसको बुढ्यौलीका लागि बचत पनि आवश्यक पर्छ । बीमा भनेको यिनै दुर्घटना, भवितव्य र बचतको निम्ति राहतकारी उपाय साथै जोखीम व्यवस्थापनको साधन तथा जोखीम हस्तान्तरण गर्ने माध्यम हो । मानिसले परापूर्वकालदेखि नै समाजका सदस्यलाई यस्तै भरअभरमा थोरैथोरै बचतको प्रक्रियाबाट सघाउँदै आएको छ । तर, संस्थागत रूपमा विश्वको इतिहास हेर्दा बीमाको विकास शुरू भएको करीब ५ सय वर्षजति मात्र भएको छ । अझ नेपालको सन्दर्भमा त यसको इतिहास छोटो छ । एशियाकै उर्वरभूमि मानिन्छ, बीमा उद्योगमा नेपाल । त्यसैले वैदेशिक लगानीकर्ताहरू नेपालको बीमाक्षेत्रमा लगानी गर्न लालायित छन् । त्यसो त नेपालमा बीमा कम्पनीहरू नभएका पनि होइनन् । सवाल यो मात्र हो कि मौजुदा कम्पनीहरूले आशातीत परिणाम भने दिन सकिरहेका छैनन् ।

विसं २००४ सालमा नेपाल बैङ्क लिमिटेडले ‘माल चलानी अड्डा’ स्थापना गरी निर्जीवन बीमाको थालनी गर्‍यो । राणाकालको अन्त्यताका शुरू भएको उद्योग विकास प्रक्रियाले यस प्रकारको बीमा व्यवसायको माग गरेको थियो । जब मुलुकमा आर्थिक क्रियाकलापहरू वृद्धि हुँदै गए, उक्त अड्डाहरूले नेपालमा बीमासम्बन्धी काम गर्न थाले ।  तर पनि लामो समयसम्म उपयुक्त कानून र नीति नियमको अभावमा यहाँ बीमा व्यवसाय फस्टाउनचाहिँ सकेन । २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भएपछि नेपालमा बीमाले संस्थागत रूप लिन थाल्यो । स्वयम् राष्ट्रिय बीमा संस्थानले २०२९ सालबाट जीवन बीमाको काम शुरू गर्‍यो । यसैबीच २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कंलि नामको अर्को बीमा कम्पनीको स्थापना भयो । विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको उदारीकरण र निजीकरणको नीतिको फलस्वरूप यहाँ प्रशस्त बीमा कम्पनीहरू खुल्न थाले । अहिले आएर वैदेशिक लगानीका र मुलुकभित्रकै पनि निजी लगानीका र सरकारी स्वामित्वका गरी नेपालमा २७ ओटा बीमा कम्पनीहरू सञ्चालित छन् । यसमा नौओटा जीवन बीमा, १७ ओटा निर्जीवन र एउटा पुनर्बीमा कम्पनी छन् ।
वर्तमान अवस्था
कृषि, उद्योग, व्यापारजस्तै बीमा पनि एउटा महत्त्वपूर्ण आर्थिक क्रियाकलापको रूपमा विश्वमा स्थापित भइसकेको छ । तर, नेपालको सन्दर्भमा अझै पनि यसको विकासको स्थिति दयनीय छ । जीवन बीमाकै कुरा गर्दा करीब ३ करोड जनसङ्ख्या बसोवास गर्ने देशमा १० प्रतिशतको हाराहारीमा मात्र यसमा सहभागिता जनाएको अवस्था छ । ठूलो जनसङ्ख्या बीमा प्रक्रियाबाट विमुख छ । अर्कोतिर निर्जीवन बीमाको हकमा अण्डर इन्स्योरेन्सको समस्या त्यत्तिकै छ । अहिलेको आर्थिक युगमा पनि बीमाक्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा गर्ने योगदान जम्मा २ प्रतिशत हाराहारी मात्र छ । धेरै मानिसहरू बीमाको विषयमा अनभिज्ञ छन् । यति मात्र नभई बीमालाई ठगी गर्ने माध्यम ठान्नेहरूको सङ्ख्या पनि उत्तिकै छ ।
राजनीतिक परिवर्तनपछि मुलुक अब आर्थिक परिवर्तनको सङ्घारमा रहेको छ । अब हाम्रा बहुआयामिक आर्थिक क्रियालापहरू बढ्दै जाँदा स्वाभाविक रूपमा बीमाको महत्त्व पनि समाजमा स्थापित हुने कुरा निश्चित छ । नेपालमा जीवन बीमा र निर्जीवन बीमा दुवैको भविष्य उज्ज्वल रहेको देखिन्छ । देशमा धमाधम उद्योगहरूको विकास हुँदै जाँदा बीमाको नितान्त आवश्यकता पर्छ । व्यावसायिक कृषिको विकासमा पनि बीमाले गर्ने सहयोग निर्विवाद छ । नेपालमा हाल आर्थिक मेरूदण्डका रूपमा रहेको वैदेशिक रोजगारी र यसका सरोकार पक्षसँग पनि बीमाले सोचेजति काम गर्न सकिरहेको छैन । यहाँ पनि बीमाका प्रशस्त सम्भावना छन् । फस्टाउँदो वैदेशिक रोजगारीसँगै बढ्दो जोखीमका कारण बीमा कम्पनीहरूको यहाँ माग छ । तर, विभिन्न चुनौती र समस्याहरूका कारण तिनीहरू त्यस पक्षसम्म पुग्न सकिरहेका छैनन् । हाम्रो देशको बीमा उद्योगको सर्वोच्च निकाय बीमा समिति हो । बीमाको विकासमा समितिले गरेका कामहरू प्रशंसनीय छन् । जस्तै यसले लागू गरेको मर्जर निर्देशिकाले साना कम्पनीहरूलाई एकीकृत गरेर प्रभावकारी परिणाम दिने आशा गर्न सकिन्छ । कृषि बीमाको शुरुआत अर्को महत्त्वपूर्ण काम हो । यसै गरी लघु बीमा, सोल्भेन्सी मार्जिनको व्यवस्था, तेस्रो पक्ष बीमा, स्वास्थ्य बीमा आदिले बीमा क्षेत्रको विकासमा टेवा पुर्‍याउनेछन् । यसले शक्तिशाली बीमा प्राधिकरण निर्माणका लागि ऐन बनाउने, मस्यौदा संसद्मा पेश गर्ने प्रयास गर्नु पनि अर्को महत्त्वपूर्ण काम रहेको छ । यद्यपि यसले जति गर्न सक्नुपथ्र्यो त्यो आशातीत रूपमा नभइरहेको अवस्था परिणामले देखाउँछ ।
चुनौती र समाधान
मुलुकको आर्थिक विकासमा बीमाको जति महत्त्व छ, त्यति नै चुनौतीहरू पनि खडा छन् । अझै पनि बीमाका बारेमा मानिस चेतनशील छैनन् । बीमाको बारेमा मानिसहरूमा प्रशस्त भ्रम छन् । आम जनताको धारणामा बीमा भनेको नेटवर्क व्यवसाय जस्तै ठगीधन्दा हो भन्ने छ । यो भ्रम चिर्न आवश्यक छ । अर्कोतिर बढ्दो महँगी र न्यून आर्थिक अवस्थाका कारण पनि कतिपय मानिसहरू बीमामा सहभगी हुन सकिरहेका छैनन् । बहुसङ्ख्यक बीमा अभिकर्ताहरू राम्रोसँग प्रशिक्षित नहुनु र अधिकांश शहरकेन्द्रित हुँदा पनि आम समुदायसम्म यसको प्रभाव पर्न सकेको छैन । बीमाक्षेत्रले राष्ट्रिय आय र उत्पादनमा ठूलो योगदान दिन सक्ने तथ्य हुँदाहुँदै पनि सरकारी उदासीनता र उपयुक्त नीतिको अभावमा यो विकसित हुन सकेको छैन । हाम्रो देशका दूरदराजका गाउँहरू भौगोलिक कठिनाइका कारण पनि बीमाका प्रतिनिधिरू त्यहाँसम्म पुग्न सकिरहेका छैनन् ।
त्यसैले बीमाको विकास र प्रसारमा सर्वप्रथम सरकारी चासो हुनु आवश्यक छ । छिट्टै नै समय सुहाउँदो बीमा ऐन ल्याउनु जरुरी छ भने शक्तिशाली बीमा प्राधिकरण खडा गरिनुपर्छ । सरकारी तवरबाटै जनतालाई बीमासम्बन्धी चेतना र प्रशिक्षण आवश्यक छ । बीमासम्बन्धी तालिम तथा प्रशिक्षणका लागि बीमा एकेडेमीको स्थापना गर्ने कामलाई अगाडि बढाउनुपर्छ । साथै विद्यालय र कलेजस्तरमा पाठ्यक्रममै बीमासम्बन्धी विषय राखिनुपर्छ । सरकारीस्तरबाटै लघुबीमा, कृषिबीमा, स्वास्थ्यबीमा, वैदेशिक रोजगार बीमालाई प्रभावकारी तरीकाले लागू गर्नुपर्छ । आयकरमा दिइँदै आएको छूटको दायरा वृद्धि गरी १ लाखसम्म पुर्‍याउनुपर्छ । बीमाको पहुँच सर्वसाधारणसम्म पुर्‍याउनुपर्छ र अण्डर इन्स्योरेन्सको वर्तमान अवस्थालाई निरुत्साहित पार्दै सम्पत्तिको वास्तविक मूल्यबराबरको इन्स्योरेन्स गर्न अभिप्रेरित गर्नुपर्छ । बीमामा लगानीको दायरालाई अलि सुरक्षित तरीकाले वृद्धि गर्ने र लगानी क्षेत्रको दायरालाई फराकिलो बनाउनु आवश्यक देखिन्छ । बीमा कम्पनीहरूले पनि आफ्ना एजेण्टहरूलाई दक्ष बनाउन जरुरी छ । गाउँगाउँमा यसको सकारात्मक प्रचारले अवश्य पनि यसको विकासमा भूमिका खेल्नेछ ।

लेखक जनप्रिय बहुमुखी क्याम्पस पोखराका उपप्राध्यापक हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/90568

No comments:

Post a Comment