काठमाडौंः बैंक तथा वित्तीय संस्थाले निक्षेप सुरक्षण गर्दा अबदेखि सुरक्षण शुल्क अग्रिम भुक्तानी गर्नुपर्ने भएको छ । हालै जारी भएको कर्जा तथा निक्षेप सुरक्षण कोष ऐन ०७३ ले नयाँ व्यवस्था गरेपछि वित्तीय संस्थाहरूले अग्रिम भुक्तानी गर्नुपर्ने भएको हो । यस्तो शुल्क वित्तीय संस्थाहरूले वर्षको चार पटक बुझाउनु पर्नेछ ।
कर्जा तथा निक्षेप सुरक्षण कोष ऐन २०७३ को परिच्छेद चारको दफा २१ मा वार्षिक सुरक्षण शुल्कसम्बन्धी व्यवस्था गरिएको छ । जसमा सुरक्षित सदस्य संस्थाले बुझाउने वार्षिक सुरक्षण शुल्क कोषले नै तोक्न पाउने व्यवस्था छ । यस्तो शुल्क वर्षमा चार पटक साउन, कात्तिक, माघ र वैशाखको १० गतेभित्र बुझाइ सक्नुपर्नेछ ।
कोषले वार्षिक सुरक्षण शुल्क अग्रिम रूपमा तोकिएबमोजिम बुझाउनुपर्ने गरी तोक्न सक्नेछ । यस्तो शुल्क कोषले न्यूनतम शून्य दशमलव एक प्रतिशत र अधिकतम एक प्रतिशतसम्म तोक्ने सक्नेछ । त्यस्तै, कोषको वित्तीय साधन र स्रोतको क्षमता तथा कुल सुरक्षित निक्षेपको अनुपात पाँच प्रतिशतभन्दा माथि रहेमा वार्षिक शून्य दशमलव एक प्रतिशत निर्धारण गर्न सक्नेछ ।
नयाँ ऐनमा गरिएको व्यवस्थाअनुसार अग्रिम भुक्तानीका लागि सबै वित्तीय संस्थालाई पत्राचार गरिएको कोषका प्रमुख कार्यकारी निर्देशक दण्डपाणी पौडेलले बताए । “हामीले आगामी महिनादेखि नै लागू हुने गरी वित्तीय संस्थाहरूलाई पत्राचार गरेका छौं,” उनले भने ।
हालको व्यवस्थाअनुसार कोषले वित्तीय संस्थाबाट निक्षेप सुरक्षण शुल्क वर्षको अन्त्यमा लिँदै आएको थियो । संस्थाहरूले वार्षिक शून्य दशमलव २ प्रतिशत सुरक्षण शुल्क बुझाउँदै आएका थिए । यद्यपि सुरक्षण शुल्क अग्रिम रूपमा नै लिनुपर्ने हो । नयाँ व्यवस्थाअनुसार वित्तीय संस्थाहरूले प्रत्येक तीन महिनाको शून्य दशमलव शून्य ५ प्रतिशत शुल्क बुझाउनु पर्नेछ ।
कर्जा तथा निक्षेप सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको निक्षेप तथा कर्जा सुरक्षण गर्छ । कोषले निक्षेपकर्ताको अधिकतम २ लाखसम्मको सुरक्षण गर्दछ । यदि कुनै कारणवश वित्तीय संस्था बन्द हुन गएको अवस्थामा कोषले सुरक्षण प्रदान गर्छ । यसका लागि वित्तीय संस्थाले निश्चित शुल्क बुझाउनुपर्छ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनासम्ममा वित्तीय संस्थाहरूले करिब साढे १ करोड निक्षेपकर्ताको निक्षेप सुरक्षित गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषमा कात्तिक महिनासम्ममा वित्तीय संस्थाका १ करोड ३८ लाख ८५ हजार ३०४ निक्षेकर्ताको निक्षेप सुरक्षण गरिएको छ ।
कोषको तथ्यांकअनुसार सो अवधिमा निक्षेपकर्ताको ३ खर्ब ३९ अर्ब रकम सुरक्षण गरिएको छ । तथ्यांक अनुसार कार्तिक महिनासम्ममा कोषमा १३६ वित्तीय संस्थाले आफ्ना निक्षेपकर्ताको निक्षेप सुरक्षित गरेका छन् । गत आवको अन्त्यसम्ममा भने कोषले १५० वटा वित्तीय संस्थाका १ करोड ३६ लाख ६ हजार ४८३ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको थियो ।
No comments:
Post a Comment