Thursday, December 22, 2016

बिमा समिति आजदेखि नेतृत्वविहीन

मुना कुँवर
काठमाडौंः बिमा समितिका अध्यक्ष प्राध्यापक डा.फत्तबहादुर केसीको दोस्रो कार्यकाल बिहीबार सकिँदैछ । तर, बुधबारसम्म सरकारले नयाँ अध्यक्षको विषयमा टुंगो लगाउन सकेको छैन । अध्यक्षका लागि अर्थ मन्त्रालयमा झन्डै दुई दर्जन आकांक्षीको दौडधुप चलिरहेको छ । 
अर्थ मन्त्रालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अध्यक्षबारे निर्णय गर्ने सम्भावना छ । 
नेपालमा बिमा व्यवसाय फस्टाउँदै गएका बेला यसको नियामक निकायमा कस्ता व्यक्ति नियुक्त होलान् भन्ने धेरैमा चासो छ । मन्त्रालयमा विभिन्न क्षेत्रका व्यक्तिहरूले अध्यक्षका लागि प्रस्ताव गरेका छन् । जसमध्ये नेपाल राष्ट्र बैंक पोखरा कार्यालय प्रमुख चिरन्जीवी चापागाईं, बिमा क्षेत्रका अनुभवी रमेशकुमार भट्टराई, वित्तीय क्षेत्रका हरि घिमिरे, ग्रामीण विकास बैंकका पूर्वअध्यक्ष रामकुमार यादव, कृषि विकास बैंकका पूर्वअध्यक्ष शिवराज अधिकारी, नागरिक लगानी कोषका पूर्वअध्यक्ष ऋषिराम गौतम, पोखरा विश्वविद्यालयका निर्देशक एवं अध्यापक विमाविज्ञ रवीन्द्र घिमिरेले अध्यक्षका लागि दौडधुप गरिरहेका छन् । 

यस्तै, पोखरा विश्वविद्यालयका अध्यापक दीपक भण्डारी, पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, एनलएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, वित्तीय क्षेत्रका नरेन्द्रमान श्रेष्ठ, पूर्वबैंकर लक्ष्मण घिमिरे, धितोपत्र बोर्डका पूर्वअध्यक्ष बाबुराम श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल पनि अध्यक्षको दौडमा छन् । 
 
अध्यक्षका लागि चर्चामा रहेकामध्ये राष्ट्र बैंकका चिरञ्जीवी चापागाईंको सम्भावना बढी रहेको मन्त्रालय स्रोतले बताएको छ । केही अघिसम्म विज्ञ डा.रवीन्द्र घिमिरेको बढी सम्भावना देखिए पनि पछिल्लो समय भने चापागाईंको सम्भावना बढ्दै गएको छ । मन्त्रालय निकट व्यक्तिसँग राजनीतिक तथा पारिवारिक सम्बन्ध बलियो भएकै कारण उनको सम्भावना बढेको स्रोतले बताएको छ । 
अध्यक्षका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूले रुचि देखाए पनि समग्र बिमा क्षेत्रको विकास लागि बिमा क्षेत्रसँग व्यक्ति नै अध्यक्ष हुनुपर्ने पेसागत बिमा अभिकर्ता संघका कार्यवाहक अध्यक्ष, नेपाल नन्दप्रसाद तिवारीले बताउँछन् । “राजनीतिक नियुक्तिको आधारमा प्रशासनिक, बैंकिङ वा अन्य क्षेत्रको व्यक्तिलाई अध्यक्ष बनाइनु हुँदैन । 
यदि यसो गरियो बिमा क्षेत्रलाई मात्रै नभई राज्यलाई नै ठूलो घाटा लाग्नेछ,” उनले भने । त्यस्तै, बिमाका विषयमा जानकार रहेको कुनै पनि व्यक्ति आफूहरूलाई मान्य हुने बिमकहरूले बताएका छन् । त्यस्तै, बिमा समितिका सञ्चालक सदस्य कपिलदेव भट्टराईले बिमा क्षेत्रका लागि आवश्यक ठोस नियम ल्याउने र त्यसलाई समान रूपमा कार्यान्वयन गर्न सक्ने खालको व्यक्ति अध्यक्षका लागि उपयुक्त हुने बताए । 
समाज परिवर्तनसँगै निम्तिएको जोखिमको कारण बिमा अपरिहार्य बनेको छ । त्यसैले यस क्षेत्रको विकास लागि समक्ष नेतृत्वको आवश्यकता छ । तसर्थ बिमाको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गरेको, बिमाका विभिन्न आयमको गहिरो ज्ञान भएको,  बिमामा विशिष्टता हासिल गरेको, बिमाको अन्तरराष्ट्रिय बजार र प्रवृत्तिका बारेमा जानकारी हासिल गरेको व्यक्ति अध्यक्ष हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
यसअघि वर्तमान अध्यक्ष केसीको दोस्रो कार्यकाल दुई महिना अगाडि नै नियुक्ति गरिएको थियो । तर, यसपटक भने नियुक्तिमा ढिलाइ भइरहेको छ । प्रतिस्पर्धीको शक्ति र आर्थिक चलखेल कै कारण नियुक्तिमा ढिलाइ भएको अड्कल गरिएको छ । तर, सरकारले जतिसक्दो चाँडो नयाँ अध्यक्षको नियुक्त गर्नु आवश्यक छ । 
समयमा नै नियुक्त हुन नसकेमा अराजकता सिर्जना हुनसक्ने जानकाहरूको चिन्ता छ । त्यस्तै, यो कम्पनीको साधारणसभा हुने समय हो । त्यसैले कम्पनीहरूको वित्तीय विवरण पारित गर्नका लागि पनि अध्यक्षको आवश्यकता पर्छ । यसैले पनि धेरै समय अध्यक्षको पद खाली राखिनुहुँदैन ।

No comments:

Post a Comment