Tuesday, December 3, 2019

बाहिर अनुमति लिएर त्रिभुवन विमानस्थललाई बेस बनाउँछन् जहाज : काठमाडौंको आकाश मात्र होइन पार्किङमा पनि ट्राफिक जाममा जहाज

उपत्यकाबाहिरका विमानस्थललाई आधार बनाउने विमानलाई काठमाडौंमै स्लट दिन्छ प्राधिकरण अनि विमानस्थलभित्रै जहाज एक–आपसमा ठोक्किन्छन्, तर विमानस्थलका नि. महाप्रबन्धक भन्छन्– जहाज एक–आपसमा ठोक्किनु सामान्य 
मुना कुँवर
काठमाडौंबाहिरका विमानस्थललाई आधार (बेस) बनाएर अनुमति लिएका विमान कम्पनीले त्रिभुवन विमानस्थललाई नै केन्द्र बनाएर उडान गरिरहेका कारण अत्यधिक एअर ट्राफिक जाम हुने गरेको छ । विमान कम्पनीले जुन विमानस्थललाई आधार बनाएर अनुमति लिएको हो, त्यहीँलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्यस्तै, रातको समयमा जहाज पार्किङ पनि त्यहीँ गर्नुपर्छ । तर, यो व्यवस्थालाई वायुसेवा कम्पनीहरूले बिलकुलै टेरेका छैनन् नै, नियामक संस्था नेपाल उड्डयन प्राधिकरण आफैँले काठमाडाैं बाहिर बेस लिएका वायुसेवा कम्पनीलाई काठमाडौंको स्लट दिने गरेका छन् ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ असोज १७ मा सबै वायुसेवा कम्पनीहरूलाई बेस भएकै स्थानमा पार्किङ गर्न निर्देशन दिएको थियो । काठमाडौं विमानस्थलको आन्तरिक पार्किङ अत्यन्त साँघुरो भएकाले व्यवस्थापन गर्न वायुसेवा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । बेसको व्यवस्था नमान्ने वायुसेवा कम्पनीलाई उडान अनुमति नै नदिने प्राधिकरणले चेतावनी दिएको थियो । तर, कुनै पनि वायुसेवा कम्पनीले उक्त निर्देशन नमानेको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए । अटेर गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने प्राधिकरणले उल्टै स्लट दिएर आफ्नै निर्देशनको खिल्ली उडाएको छ । 
 ४८ जहाजलाई काठमाडौंको बेस
नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ जहाज तथा हेलिकोप्टरलाई काठमाडौंको बेस दिएको छ । प्राधिकरणका अनुसार एयर डायनेस्टी, अल्टिच्युट एयर, समिट हेलिकोप्टर, हेली एभरेस्ट, मनाङ एयर, प्रभु हेलिकोप्टर, सिम्रिक एयर, कैलाश हेलिकोप्टर, माउन्टेन हेलिकोप्टरले दुई–दुई युनिट काठमाडौं बेस पाएका छन् । तारा एयरका ६ वटा, यती एयरलाइन्सका ८ वटा, समिट एयर र हिमालयन एयरलाइन्सका ३ वटा, श्री एयरको एउटा, बुद्ध एयरका ९ वटा युनिटलाई काठमाडौं बेस दिएको छ ।
 काठमाडौंबाहिर यी जहाजको बेस
प्राधिकरणले काठमाडाैंको जाम हटाउन र ग्रामीण भेगमा पनि सेवा दिन भन्दै काठमाडाैं बाहिर पनि बेस दिएको छ । करिब १० वटा युनिटलाई पोखराको बेस दिइएको छ । बुद्ध एयर र प्रभु हेलिकोप्टर एक–एकवटा, एयर डायेनेस्टी, तारा र यतीको २–२ युनिटलाई पोखरा बेस दिइएको छ । 
त्यस्तै बुद्ध, समिट, तारा, श्री एयरलाइन्स र सीता एयरलाइन्सका १–१ युनिटलाई नेपालगन्जको स्लट दिइएको छ । बुद्धको एक–एक युनिटलाई विराटनगर र भैरहवाको बेस दिइएको छ । पर्यटन मन्त्रालयबाट ८७ वायुसेवा कम्पनीले उडान अनुमति प्राप्त गरेका छन्, जसमध्ये २० सञ्चालनमा छन् । १९ वटा एओसीले मान्यता पाएको छ भने एउटालाई निलम्बन गरिएको छ । ४२ वटाको एओसी रद्द भएको छ । ९ वटा हेलिकोप्टर सञ्चालक कम्पनी छन् भने १० वटा फिक्स्ड विंग छन् ।
 नेपालमा भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे पनि एउटा मात्रै छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि सोही रनवे प्रयोग हुन्छ । विमानस्थलमा पार्किङको पनि पर्याप्त सुविधा नभएका कारण वायुसेवा कम्पनीहरूलाई बाहिरको बेस दिएर मात्रै दर्ता अनुमति दिने व्यवस्था छ । बेस लिएका विमानस्थलमै राति पार्किङ गर्नुपर्छ । तर, सबै जहाज राति काठमाडौं नै आइपुग्छन् । सोहीकारण काठमाडौंको चाप घट्न सकेको छैन ।
 
 टावरले नै देख्दैन, आन्तरिक जहाजको लोकेसन
अन्तर्राष्ट्रिय नियमअनुसार ग्राउन्ड कन्ट्रोलरले प्रत्येक जहाजको अवस्थिति आँखाले नै देख्नुपर्छ । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ राखिएको जहाजको लोकेसन ग्राउन्ड कन्ट्रोलरले देख्न मुस्किल पर्छ । यसले दुर्घटनाको जोखिम बढाएको विमानस्थलकै एक अधिकारीले बताए । उनका अनुसार ग्राउन्ड कन्ट्रोलर र पार्किङ क्षेत्रबीच आन्तरिक भवन र आर्मी एप्रोन भएकाले सबै दृश्य 
देख्न सकिँदैन ।  
 नाफा कमाउन काठमाडौंमा नै थुप्रिन्छन् जहाज
व्यावसायिक दृष्टिकोणले बढी नाफा हुने क्षेत्रमा कम्पनीहरूले बेस गराउन खोज्छन् । काठमाडौंबाहिर यात्रुको अभाव हुने भएपछि कम्पनीहरूले काठमाडौंलाई नै पहिलो प्राथमिकता दिएका छन् । त्यसैले मन्त्रालयमा दर्ता हुँदा अन्य विमानस्थलको बेस लिए पनि कम्पनीहरूले राति काठमाडौंमा नै ल्याउने गरेको त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए ।
 नियम नमान्नेलाई कडाइ गर्न प्राधिकरणलाई निर्देशन दिएको छु
 योगेश भट्टराई,मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

वायुसेवा कम्पनीले जहाँको बेस लिएका हुन्, त्यतिबाट नै परिचालित गर्नुपर्छ । नियम पालना नगर्नेलाई कारबाही हुन्छ । यसमा थप कडाइ गर्न मैले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छु । यहाँ कसैको राजनीतिक प्रभाव चल्दैन । यहाँ सुरक्षा, सेवा र नियमले मात्रै काम गर्छ । 
 नेपालमा मात्रै होइन, बाहिर पनि जहाज ठोक्किन्छन्
 सुरेशमान सिंह, निमित्त महाप्रबन्धक, त्रिभुवन विमानस्थल
काठमाडौंबाहिर बेस दिनु व्यावहारिक छैन । बाहिरका विमानस्थलमा प्रविधि, इन्धनलगायतको सुविधा छैन । त्यसैले हामीले नियम लगाएपछि व्यावसायिक कम्पनीका लागि यो नियम त्यति व्यावहारिक छैन । पार्किङमा जहाज ठोक्किनु ठूलो कुरा होइन । ठूला–ठूला स्पेस भएका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्ता खालका घटना घट्छन् । हाम्रो नेपालमा मात्रै होइन ।
 यो हाम्रो काम होइन, त्रिभुवन विमानस्थलको हो 
राजन पोखरेल,महानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिफारिसमा बेस लिएका विमानस्थलमा पार्किङ गर्न तथा गराउन निर्देशन दिएका हाैँ । त्यसैले यस विषयमा टिआइएले नै अनुगमन गर्नुपर्छ । हामी आफैँले सबै काम गरेर भ्याउँदैनाैँ । त्यसो गरेको छैन भने कारबाही हुन्छ ।
 अन्य कम्पनीले बाहिर बेस गरेका छैनन्, हामीले किन गर्ने ? 
 रूपेश जोशी, बजार निर्देशक, बुद्ध एयरलाइन्स
हामीले विराटगरमा पार्किङ गर्ने गरेका छौँ । पोखरामा आधार गर्ने गरी अनुमति भएको भए पनि हामीले बेस बनाएका छैनाैँ । अन्य वायुसेवा कम्पनीले एउटा पनि बेस बाहिर गरेका छैनन् भने हामीले मात्रै किन गर्ने ? अरूले पनि गर्नुपर्छ । यो प्राधिकरणको काम हो । प्राधिकरणकै कमजोरी हो ।
पटक–पटक एक–आपसमा ठोक्किन्छन् जहाज 
सबै जहाज काठमाडाैंमा मात्रै थुप्रिँदा  दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पार्किङ गर्ने समयमा जहाज ठोक्किने, ग्राउन्ड राखिएका प्रविधिमा ठोक्किने गरेका छन् । कात्तिक २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर ७२ जहाजलाई ठक्कर दियो । विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाजले पार्किङमा रहेको यतीको जहाजलाई ठक्कर दिएको हो । त्यस्तै, २००९ मा मनाङ एयर र यती एयरलाइन्सको जहाज पनि पार्किङ गर्ने समयमा ठोक्किएर दुर्घटना भएको थियो । सन् २०१९ मा नै यती जहाजले ग्राउन्ड पार्कमा राखिएको जिपियूसँग ठोक्किएको थियो । सन् २०१९ को जुलाईमा बुद्ध एयरको बसलाई श्री एयरको जहाजले ठक्कर दिएको थियो ।

No comments:

Post a Comment