Saturday, December 21, 2019

पुण्यले डोर्‍याउने पदयात्रा

‘नाक ठोक्किने उकालोमा घामले ढाड सेक्ला । गफ मात्रै नगर है, खुट्टा पनि सार,’ वृद्ध तीन सहयात्रीसँग जोरसँग बोल्दै थचक्क बसे, चौतारोमा ।
अनुभवीजस्तो लागेर हतपत्त सोधेँ, ‘अब माथि पुग्न कति बाँकी छ ?’
‘आधाजति छ,’ उनले लामो श्वास ताने । 
उनीसँगै भएका तीनजना महिला पनि त्यही चौतारोमा पुगे । मतिर हेर्दै उनीहरूले सोधे, ‘सातु ल्याएको छैन ?’
दायाँ–बायाँ टाउको हल्लाएँ । हाप्पिएकाले बिस्तारै ‘छैन’ मात्रै भनेँ । 
‘यो खानु पेट आडिलो हुन्छ,’ तीनमध्ये एउटीले झोलाबाट सातु र तातो पानी निकालेर दिइन् । केही बिसेक भयो । यो कात्तिक अन्तिम साता थियो र हिउँदमा पनि यो उकालाको यात्रा उस्तै हो । 
बिहान ७:३० बजे फेदीमा चिया पिएर उकालो चढ्न सुरु भएको थियो । करिब ८:३० बजे मात्रै माथिल्लो फेदी पुगियो । कहीँ नरोकिएर हिँड्दा पनि पाथीभरा मन्दिरको प्रवेशद्वार पुग्न दुई घन्टा लाग्यो । अझै मन्दिरसम्म पुग्न तीन किलोमिटर उकालो बाँकी थियो । 
पाथीभराको खास उकालो त माथिल्लो फेदीबाट सुरु हुन्छ । त्यसैले तीर्थालु माथिल्लो फेदीमा चिया र सातु खाएर केही आराम गर्छन् । त्यहाँबाट माथि लागेपछि भने घर तथा पसल केही भेटिँदैनन् । 

यात्रा गर्न सहज होस् भनेर स्थानीय बासिन्दाले माथिल्लो फेदीदेखि मन्दिरसम्म नै सिँढी बनाएका छन् । बाटोको दायाँ–बायाँ फलामको बार छ । बीच-बीचमा पानीका फिल्टर पनि राखिएका छन्, तर सबै रित्ता । प्रत्येक १० मिनेटको दूरीमा चौतारा (विश्रामस्थल) निर्माण गरिएका छन् र शौचालय पनि । 
मन्दिर प्रवेशद्वारसँगै सुरु हुन्छ, नाकै ठोक्किने उकालो । जंगलको बाटो । आधा बाटो कटेपछि भने ज्यान थिलथिलो भयो । सबै शक्ति सकियो । हिँड्न सकिएलाजस्तो लागेन । न माथि जान सक्नु, न त तल ओर्लिनु । त्यही चौतारामा सुस्ताउँदा उनीहरू आइपुगे । 
काठमाडौंबाट किराँतको धार्मिकस्थल मुकुम्लुङ माङको दर्शन गरेर पाथीभरा गइरहेका थिए । मुकुम्लुङ माङ पाथीभरा मन्दिरको नजिकै पर्छ । करिब चार हजार पाँच सय मिटर उचाइमा रहेको मुकुम्लुङ माङमा प्रत्येक वर्ष असोजमा पूजाआजा गर्ने परम्परा छ । पूजाका लागि देश–विदेशमा रहेका किराँती आउने गरेको उनीहरूले बताए । ‘पैसा हुनेहरू हेलिकोप्टरमा जान्छन्, पैसा नहुने हिँडेरै पुग्छन्,’ सुनाए । उनीहरू काठमाडौंबाट हिँडेको १५ दिन भएको थियो । पाथीभरा मन्दिर पनि मुकुम्लुङ माङ आउने–जाने बाटोमै पर्ने भएकाले दर्शनका लागि जाँदै गरेको उनीहरूको भनाइ थियो । 
सातु र तातो पानी घुट्क्याएपछि केही बिसेक भयो । र, उनीहरूसँगै उकालो लागेँ म पनि । तथापि हिँड्दै गर्दा मनमा एउटा प्रश्न उब्जियो, यत्रो दुःखकष्ट झेलेर किन जान्छन् पाथीभरा ?
सुदूरपूर्वी ताप्लेजुङस्थित पाथीभरा माई धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण मानिन्छ । हिन्दू र किराँत धर्मावलम्बीलाई प्राकृतिकभन्दा पनि धार्मिक आस्थाले डोर्‍याउँछ । यससँग जोडिएको एउटा किंवदन्ती छ, अन्नले भरिएको पाथीझैँ आकृतिको पहाडको टुप्पोमा रहेकाले पाथीभरा नाम रहन गयो । 
अर्को, परापूर्वकालमा यस क्षेत्रका गोठालाले पाथीभरामा भेडीगोठ राखे । एक दिन अचानक भेडा हराए । भेडा हराएको राति गोठालालाई सपनामा देवी देखा परिन् । उनले आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराउँदै भेडाको बलिसहित पूजाअर्चना गर्न भनिन् । त्यहीअनुसार गोठालाले पूजाआजा गरे, भेडाको बलि दिए । बलि दिनेबित्तिकै हराएका भेडा देखिए । 
त्यसयता पाथीभरा देवीको पूजाआजा हुन थालेको किंवदन्ती छ । नवरात्रिमा विशेष पूजाआजा हुने यहाँ बाह्रै महिना व्रतालु आइरहन्छन् । अहिले त किराँत देवताका रूपमा पुजिने फाल्गुनन्दको मूर्ति पनि राखिएको छ, पाथीभरा मन्दिरभित्र । हिन्दू र किराँत धर्मावलम्बी पुण्यप्राप्तिका लागि पुग्छन् पाथीभरा । 
अर्को प्राकृतिक सुन्दरता हो, समुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा रहेको पाथीभराबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमालका मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । चैत–वैशाखमा त २४ प्रजातिका गुराँसले ढकमक्कै हुन्छ । काँडेभ्याकुर, मुनाल, हरिण, चितुवालगायतका वन्यजन्तुले महत्व बढाएका छन् । 
करिब चार घन्टाको पदयात्रापछि मन्दिरमा पुग्यौँ । त्यसपछि भने बाटोको पीडा र थकान एकाएक हरायो । मन प्रफुल्ल भयो । त्यहाँबाट देखिने कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखलाले रोमाञ्चित बनायो । सुन्दर दृश्य हेरिरहौँझैँ लाग्यो । मनमनै आफैँलाई भनेँ, यसैले पो पाथीभरा पुग्दा रहेछन् । 
कसरी पुग्ने ?
पाथीभरा मन्दिर पुग्न तीनवटा मार्ग प्रयोगमा छन्, हवाई, मोटर र पैदल । रुचि, समय र बजेटका आधारमा रोज्न सकिन्छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजबाट सीधै ताप्लेजुङको सुकेटार विमानस्थल ओर्लिन सकिन्छ । त्यही दिन पाथीभरा पुगेर फेदी वा सुकेटारमै आएर वास बस्दा हुन्छ । 
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पाथीभरामा आध्यात्मिक सन्तुष्टिका लागि त भयो नै, प्राकृतिक सुन्दरतासँगै उच्च हिमशृंखलाको दृश्यावलोकनका लागि पनि पदयात्रा गर्ने याम यही हो । 
 
अर्को, काठमाडौंबाट भद्रपुरको चन्द्रगढी विमानस्थल र त्यहाँबाट बिर्तामोड हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । दोस्रो दिन गाडीमा ताप्लेजुङको फेदी र त्यहाँबाट पैदलै मन्दिर पुगेर ताप्लेजुङ सदरमुकाममै फर्किन सकिन्छ । 
तेस्रो, काठमाडौंबाट बसमा बिर्तामोड पुगिन्छ र दोस्रो दिन मिनीबसमा आठ घन्टा लगाएर ताप्लेजुङ पुगिन्छ । बिहान ७ बजे नै गाडी जाने भएकाले दिउँसो ३–४ बजे ताप्लेजुङ पुगेर त्यहीँ वास पनि बस्न सकिन्छ वा त्यहाँबाट डेढ घन्टामा २१ किलोमिटर टाढाको फेदी आइपुग्छ । चाँडै पुगियो भने दुई किलोमिटर उकालो माथिल्लो फेदीमा वास बस्दा पनि हुन्छ । तर, फेदीबाट माथिल्लो फेदी पुग्न एक घन्टा लागिहाल्छ । तेस्रो दिन तीन किलोमिटर उकालो हिँडेपछि तीन–चार घन्टामा पाथीभरा मन्दिर पुगिन्छ ।
कति खर्च लाग्छ ? 
काठमाडौंबाट बिर्तामोडको बसभाडा एक हजार पाँच सय छ भने त्यहाँबाट ताप्लेजुङ पुग्न आठ सय रुपैयाँ तिर्नुपर्छ । ताप्लेजुङ सदरमुकामबाट फेदीसम्म तीन सय रुपैयाँ भाडा लाग्छ ।  वास बस्न राम्रो व्यवस्था छ । एक रातको एक हजारदेखि एक हजार पाँच सयसम्म पर्छ । दुई सय रुपैयाँमा स्वादिष्ट खाना पाइन्छ । 
सावधानी 
पाथीभरा मन्दिर तीन हजार आठ सय मिटर उचाइमा रहेकाले हाई अल्टिच्युडको समस्या हुन सक्छ । फेदीबाट उकालो लागेपछि पानीको समस्या छ । सामान होटेलमै छोडेर तातो पानी र लठ्ठी बोक्न बिर्सिनुहुन्न । होटेलमा भुटेका मकै र मकैको सातु पाइन्छ । त्यो उकालाको सहारा त्यही हो । पाथीभरा यात्राका लागि उपयुक्त मौसम यही हो । माघदेखि चैतसम्म हिउँ पर्ने भएकाले कठिन हुन्छ । 

No comments:

Post a Comment