Saturday, December 14, 2019

६ बिमा कम्पनी चुक्ता पुँजी बढाउने प्रक्रियामा

हकप्रद सेयरका लागि संस्थापकले जम्मा गरे अग्रिम भुक्तानी
बिमा समितिले तोकेको अवधिको डेढ वर्षपछि बल्ल ६ वटा बिमा कम्पनीले  चुक्ता पुँजी पुर्‍याउने प्रक्रिया सुरु गरेका छन् । समितिका अनुसार जीवन बिमातर्फ सूर्या लाइफ, गुराँस लाइफ र निर्जीवनतर्फ लुम्बिनी, प्रुडेन्सियल, एनएलजी र युनाइटेड इन्स्यारेन्सले पुँजी बढाउने प्रक्रिया सुरु गरेका हुन् ।  
संस्थापकले जम्मा गरे अग्रिम भुक्तानी रकम
बिमा समितिको निर्देशनअनुसार चुक्ता पुँजी नपुगेका कम्पनीहरूका संस्थापकहरूले पुँजी वृद्धिका लागि हकप्रद सेयरबापतको अग्रिम भुक्तानी रकम जम्मा गरेका छन् । सूर्या लाइफ, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी, प्रुडेन्सियल, एनएलजी र युनाइटेड इन्स्यारेन्सका संस्थापकले रकम जम्मा गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिका अनुसार सूर्या लाइफका संस्थापकले ६० करोड अग्रिम भुक्तानी गरेका छन् । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सका संस्थापकले ८ करोड ९८ लाख, प्रुडेन्सियल इन्स्योरेनसले २ करोड ९६ लाख, एनएलजी इन्स्योरेन्सले ६५ लाख र युनाइटेड इन्स्योरेन्सका संस्थापकले ४२ करोड ८२ लाख अग्रिम भुक्तानी रकम जम्मा गरेका छन् । 

तोकेको समयमा चुक्ता पुँजी वृद्धि गर्न नसकेपछि बिमा समितिले गुराँस लाइफ इन्स्योरेन्सका संस्थापकलाई ३५ दिनको समय दिएको छ ।  हालकम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।   
हकप्रदबाट पुँजी पुर्‍याउँदै  
चुक्ता पुँजी नपुगेका बिमा कम्पनीहरूले हकप्रद सेयर जारी गर्ने भएका छन् । सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद सेयर वितरण गर्दै छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २६ करोड रुपैयाँ छ । हकप्रदपछि २ अर्ब १५ करोड पुग्नेछ । 
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर वितरण गर्दै १ अर्ब ५ करोड पुर्‍याउने भएको छ । कम्पनीको हालको पुँजी ८८ करोड रुपैयाँ छ ।  प्रुडेन्सियल इन्स्यारेन्सले ६० प्रतिशत हकप्रद सेयर वितरण गरेर १ अर्ब २ करोड  पुर्‍याउने भएको छ । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड १५ लाख छ । एनएलजी इन्स्योरेन्सले पनि ६० हकप्रद सेयरमार्फत  १ अर्ब २ करोड चुक्ता पुँजी पुर्‍याउने तयारी गरेको छ । अहिलेको चुक्ता पुँजी ६४ करोड ४ लाख छ । युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्दै १ अर्ब २ करोड पुर्‍याउँदै छ । कम्पनीको अहिलेको चुक्ता पुँजी ३० करोड २४ लाख छ ।   
विदेशी कम्पनीले गरे अटेरी
चुक्ता पुँजी कायम गर्नुपर्ने बिमा समितिको निर्देशनलाई विदेशी बिमा कम्पनीहरूले भने अटेरी गरेका छन् ।  समितिको जारी गरेको विमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका ०७३ अनुसार विदेशी कम्पनीका शाखाहरूले भने असाइन क्यापिटल कायम गर्नुपर्छ । तर, हालसम्म कुनै पनि विदेशी कम्पनीले असाइन क्यापिटल कायम गरेका छैनन् । नेपालमा तीनवटा विदेशी कम्पनीका नेसनल, ओरियन्टल र मेट लाइफ छन्् । मेट लाइफले समिति तोकेको पुँजी जुटाउन नसक्ने पत्राचार गरिसकेको छ ।  त्यसैगरी, ओरियन्टल र नेसनल जनरल इन्स्योरेन्सका माउ कम्पनी मर्जरमा जाने भएपछि नेपालको शाखा के हुने अन्योलमा छ । 
बिमा समितिले विमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । उक्त अवधिमा पुँजी जुटाउन नसकेमा कम्पनीको अनुरोधमा पहिलोपटक तीन महिनाको अवधि थप गर्न सक्ने व्यवस्था छ । यस्तो समय दुईपटकसम्म थप गर्न सक्नेछ । त्यसपछि पनि पुँजी बढाउन नसकेपछि समितिले ६ महिना थप गरेको थियो । तर, थपिएको समयमा पनि कम्पनीहरूले पुँजी कायम गर्न सकेनन् । गत वर्षदेखि बिमा समितिले कम्पनीहरूको वित्तीय विवरणमा एनएफआरएस (नेपाल फाइनान्स रिपोटिङ स्याटयान्डर्ड) प्रणाली लागू गरेको थियो । जसका कारण कम्पनीहरूले समयमा वित्तीय विवरण बुझाउन सकेनन् । 

No comments:

Post a Comment