Sunday, December 15, 2019

बिमा गर्न अब एजेन्ट नचाहिने

संस्थागत बिमा गर्दा ८ प्रतिशत छुट पाइने, व्यक्तिगत रूपमा सोझै बिमा गरे पनि एजेन्ट कमिसनमा भने छुट नहुने  
घुम्ती बिमा  र एजेन्टविहीन सेवाले जोखिम बढाउँछ : एजेन्ट संघ
अबदेखि बिमा गर्न एजेन्ट नचाहिने भएको छ । बिमा कम्पनीहरू आफैं बिमितको घरदैलो पुगेर बिमा गर्न पाउने भएका छन् । बिमा समितिले ‘शाखारहित घुम्ती सेवासम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै घरदैलोमै पुगेर कम्पनीले बिमा गर्न पाउने व्यवस्था गरेको हो । 
मुलुकमा बिमा व्यवसाय सुरु भएको सात दशक नाघेको छ । बिमाको पहुँच भने २० प्रतिशत पनि नाघ्न सकेको छैन । नागरिकमा बिमाको पहुँच बढाउन समितिले घुम्ती बिमा सेवा मार्गदर्शन जारी गरेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । ‘अब कम्पनीले घरघर पुगेर बिमा गर्नेछन्,’ उनले भने, ‘यसले बिमाको दायर पनि बढाउनेछ र बिमासम्बन्धी चेतना बढाउनेछ ।’ 

यसअघि बिमा गर्न एजेन्टमार्फत जानुपर्ने बाध्यकारी नियम थियो । कुनै सर्वसाधारणले ‘म आफैँ बिमा गर्छु’ भनेर बिमा गर्न चाहे पनि उसले स्वतन्त्र रूपमा गर्न पाउँदैन थियो । बिमा कम्पनीले कुनै चिनजानेको एजेन्टको नाम राखेर उसैमार्फत आएको बनाउने चलन छ । र त्यसबापत आएको एजेन्ट कमिसन पनि उसैको खातामा जाने चलन छ । 
अब भने एजेन्टविनै बिमा गर्न सकिनेछ । एजेन्ट कमिनसनको भार भने घटेको छैन । बिमकले व्यहोर्नु नै पर्नेछ । घुम्ती बिमा सेवामार्फत समितिले समाजका तल्लो तहका नागरिकलाई पनि बिमामा समेट्न खोजेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए । तर, यो सेवा सुरुवाती चरणमा रहेकाले कार्यान्वयनमा जाँदा व्यावहारिक हुने/नहुने भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ । ‘घरघरमा पुग्न कर्मचारी र प्रविधिको व्यवस्थापन गर्नुपर्छ । कम्पनीका लागि यो व्यावहारिक नहुन पनि सक्छ । त्यो कार्यान्वयन गरेपछि थाहा हुन्छ,’ उनले भने । 
५ लाखसम्म बिमा घरदैलोमै गरिने
घुम्ती बिमा सेवामार्फत बिमा कम्पनीले ५ लाख रुपैयाँसम्मको बिमा गर्न पाउनेछन् । समितिले जारी गरेको मार्गदर्शनअनुसार जीवनबिमा कम्पनीले जीवनबिमा, म्यादी जीवनबिमा, कृषिबिमा, लघुबिमा, दुर्घटनाबिमा र ५० लाख रुपैयाँसम्मको घरबिमालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । तर, बिमा कम्पनीले एकल बिमा र वैदेशिक रोजगार म्यादी जीवनबिमा बिक्री गर्न पाउने छैनन् । निर्जीवन बिमा कम्पनीले भने सामुद्रिक, हवाई, इन्जिनियरिङ र मोटरबिमा जारी गर्न पाउने छैनन् । 
बिमकले महानगरपालिका वा उपहानगरपालिकाभित्र घुम्ती बिमा सेवा उपलब्ध गराउन पाउने छैन । तर, जीवनबिमा व्यवसाय गर्ने बिमकले महानगरपालिका वा उपमहानगपालिकाभित्र रहेका सीमावर्ती वार्डमा भने घुम्ती बिमा सेवा उपलब्ध गर्न सक्नेछन् । 
एजेन्ट नभए पनि बिमितले पाउँदैनन् बिमा शुल्कमा छुट
नागरिकमा बिमाको पहुँच बढाउने भन्दै समितिले घुम्ती बिमा सेवा मार्गदर्शन जारी गरे पनि बिमा शुल्कमा भने छुट पाउने छैनन् । संस्थागत रूपमा सीधै बिमा कम्पनीमा गएर बिमा गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ । तर, व्यक्तिगत रूपमा प्रत्यक्ष बिमा गर्दा छुटको व्यवस्था छैन । ‘व्यक्तिगत रूपमा बिमा गर्दा छुट पाउने विषयमा समितिले कुनै निर्णय गरेको छैन,’ अधिकारीले भने, ‘तर, संस्थागत रूपमा गरिने बिमामा भने पहिलेदेखि नै छुटको व्यवस्था गरिएको छ ।’
‘एजेन्ट नहुँदा जोखिम बढ्ने’
ऐजेन्टविनै बिमा गर्ने परिपाटी बसे जोखिम बढ्ने यससम्बन्धी विज्ञको चिन्ता छ । बिमाविज्ञ दामोदर बसौलाले घरदैलोमै पुगेर बिमा जारी गर्दा बिमाको जोखिमांकन नहुने जसले बिमा व्यवसायमा झनै जोखिम बढ्ने बताए । ‘बिमा र बैक फरक विषय हो । घुम्ती बैकिङ व्यावहारिक होला तर, घुम्ती बिमा व्यावहारिक हुँदैन,’ उनले भने, ‘कमिसनको लोभमा अभिकर्ताले बिमामा विकृति भित्र्याएको भन्दै अभिकर्तालाई बाइपास गरिएको हो । तर, बिमामा विकृति भित्र्याउन कम्पनी पनि उत्तिकै जिम्मेवार छन् ।’
अभिकर्तालाई बाइपास गरेर बिमा व्यवसाय अगाडि बढ्न नसक्ने पेसागत बिमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीको भनाइ छ । अभिकर्ता बिमा गरिएका बिमाको नवीकरण र जोखिमांकनमा विश्वसनीयता नहुने उनको दाबी छ । 

No comments:

Post a Comment