काठमाडौं : जीवन बिमा व्यवसाय सञ्चालनका लागि निवेदन दिएका नयाँ कम्पनीहरूलाई बिमा समितिले पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिले नयाँ कम्पनीहरूलाई पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न समयसीमा दिएको हो ।
नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि आवेदन दिएका १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएको थियो । गत बुधबार मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको हो ।
यससँगै कम्पनीहरूलाई लाइसेन्स वितरण गर्न समितिलाई बाटो खुलेको छ । सोही प्रक्रियाअनुसार कम्पनीहरूलाई पुँजी कायम गरी आउन पत्राचार गरिएको समितिका उपनिर्देशक राजकुमार अर्यालले जानकारी दिए । “पुँजी कायम भएपछि मात्रै लाइसेन्स प्रक्रिया अगाडि बढ्नेछ,” उनले भने ।
व्यवसायका लागि अनुमति मागेका कम्पनीमध्ये युनीलाइफ इन्स्योरेन्स र स्टयाण्डर्ड लाइफ इन्स्योरेन्सको प्रक्रिया भने रोकिएको छ । कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा नगरेकाले लाइसेन्स प्रक्रिया रोकिएको समितिले जनाएको छ ।
पछि कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरे समितिको बोर्डले निर्णय गरेअनुसार प्रक्रिया अगाडि बढाइनेछ । समितिले जीवन बिमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब तोकको छ । त्यस्तै, निर्जीवन बिमा कम्पनीको हकमा १ अर्ब तोकिएको छ । सोहीअनुसार १० वटा कम्पनी सञ्चालनसँगै बजारमा २० अर्ब रूपैयाँ लगानी हुने भएको छ । बिमा क्षेत्रमा बढेको लगानीले रोजगारीको अवसर सिर्जना गर्ने समितिले बताएको छ ।
तर, एकैपटक धेरै कम्पनीलाई बजारले थेग्न नसक्ने जानकारहरू बताउँछन् । यसका लागि समितिको क्षमता बढाउनुपर्ने, मानिसहरूमा चेतनाको वृद्धि गर्नुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, कम्पनीहरूले नयाँ योजनाहरू सार्वजनिक गर्नुपर्ने उनीहरू बताउँछन् ।
हाल नेपालमा ९ जीवन बिमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४१ पुग्नेछ ।
पुँजी कायम गरेमा सिटिजन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सननेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनेछन् ।
निर्जीवन बिमा व्यवसायको लागि इजाजत माग्नेमा सानिमा, अजोड, मनकामना र जनरल इन्स्योरेन्स रहे पनि यीनीहरूको सम्बन्धमा भने छलफलकै क्रममा रहेको समितिले जनाएको छ ।
अधिकांश कम्पनीका प्रमुख पुनः नियुक्त हुनसक्ने
अधिकांश बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनः नियुक्ति पाउनसक्ने भएका छन् । पाटन उच्च अदालतले बिमक संस्थागत सुशासन कार्यान्वयनमा कडाइ गरे पनि धेरै कम्पनीका प्रमुखलाई यसले असर नगर्ने देखिएको छ ।
अधिकांश बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनः नियुक्ति पाउनसक्ने भएका छन् । पाटन उच्च अदालतले बिमक संस्थागत सुशासन कार्यान्वयनमा कडाइ गरे पनि धेरै कम्पनीका प्रमुखलाई यसले असर नगर्ने देखिएको छ ।
निर्देशिकाअनुसार नेपालमा सञ्चालित २६ बिमा कम्पनीमध्ये सातवटा बाहेक अन्य कम्पनीका प्रमुख कार्यकारीहरूले बिमकले चाहेमा दोस्रो कार्यकालको अवसर पनि पाउनेछन् ।
विमकको संस्थागत सुशासनका लागि समितिले २०६९ भदौमा संस्थागत सुशासन निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकाअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा निजको पारिश्रमिक र सुविधा तोकी बढीमा चार बर्षसम्मका लागि करारमा नियुक्त गर्नुपर्ने व्यवस्था छ । बिमकले निजको कार्य सम्पादनको आधारमा थप एक कार्यकालको लागि पदावधि थप गर्न सक्ने प्रावधान छ ।
निर्देशिकाले दुई कार्यकाल तोकेसँगै प्रमुख कार्यकारीको कार्यअवधि कहिलेदेखि गणना हुने भन्ने बिषयमा समिति र बिमकहरूबीच अन्योल देखिएको छ । कम्पनीहरूले निर्देशिका जारी भएपछिको अवधिबाट प्रमुख कार्यकारीको अवधि गणना गर्नुपर्ने भनिए पनि समितिले भने निर्देशिका लागू हुनुपूर्वदेखिको अवधिसमेत गणना गरिने बताएको छ ।
सोही आधारमा समितिले एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको नियुक्तलाई उल्टाएको थियो । जसलाई पाटन उच्च अदालतले समेत सदर गरिदिएको छ ।
शाह कम्पनीमा २०६५ सालमा नै प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएकाले उनको यो तेस्रो कार्यकाल हो भने निर्देशिका जारी भए पछाडिको दोस्रो कार्यकाल हो ।
समितिले निर्देशिका जारी हुनु पूर्वकै अवधि गणना गर्ने भनिएपछि कर्मचारीकै रूपमा नियुक्त भएका प्रमुख कार्यकारीको हकमा भने निर्देशिका जारी भए पछाडिको अवधि गणना हुने समितिका उपनिर्देशक राजकुमार अर्यालले बताए । जसका कारण नेशनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले २०७७ सालसम्म सोही कम्पनीमा प्रमुखको हैसियतले काम गर्न पाउनेछन् ।
तर, राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत अश्विनी कुमार ठाकुर र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनको भने यो अन्तिम वर्ष हो । ठाकुर २०७१ भदौमा नियुक्त भएका हुन् । संस्थानको अनुसार उनको कार्यकाल तिन बर्षको हुन्छ । महर्जन २०६६ फागुनमा नियुक्त भएका हुन् ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा, एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ, प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यायको पनि यो दोस्रो कार्यकाल हो । यसबाहेक अन्य कम्पनीका प्रमुखले भने दोस्रो पटक पनि नियुक्त हुन पाउनेछन् ।
http://www.karobardaily.com/news/78756
No comments:
Post a Comment