Friday, May 19, 2017

स्वास्थ्य बिमामा नयाँ वसन्त

पदम अवस्थी
सन् २००९ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोत्र्याटिक पार्टीका उम्मेदवार बाराक ओबामाले चुनाव प्रचारप्रसारका क्रममा स्वास्थ्य बिमालाई प्रमुख एजेन्डा बनाए र उनको विजयपछाडिको एउटा कारण स्वास्थ्य बिमा नै थियो ।
स्वास्थ्य उपचार केही अमेरिकीकोे मात्र विशेषाधिकार हो भन्ने परिपाटीको अन्त्य गरेको जस लिने ओबामाले सन् २०१० मा प्यासेन्ट प्रोटेक्सन एन्ड अफोर्डएबल केवल एक्ट (ओबामा केयर) कार्यान्वयनमा ल्याए र  सन् २०१२ को चुनावी प्रचार–प्रसारका क्रममा ओबामा केयरबाट स्वास्थ्य क्षेत्रमा चरम सुधार गर्ने एजेन्डा प्रस्तुत गरे । तर, नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा केयरलाई खारेज गर्ने अन्तरिम आदेश जारी गरे ।
ओबामा वा ट्रम्प कसको एजेन्डा ठीक भन्नुभन्दा पनि स्वास्थ्य बिमालाई प्रमुख एजेन्डा बनाउनुले भने बाँकी विश्वलाई स्वास्थ्य बिमाको महŒव राम्ररी सिकाएको छ । डा. उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक राजनीतिक वृत्तबाट स्वास्थ्य बिमाको पहल सुरु गरे पनि १५ महिनापछि उक्त विषय कुहिरोको कागजस्तै बन्न पुग्यो । त्यसपछि पनि प्रक्रिया पूरा भए र धेरै मन्त्री फेरिए ।

तथापि, जनताका उपचार सास्ती बेहोर्नुपर्ने दिनहरू कहिल्यै फेरिएनन् । दोस्रो पुस्तामाझ लोकप्रिय राजनीतिकर्मी गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने केही हदसम्म स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको थियो । नीतिगत र व्यावहारिक दुवै हिसाबले थिलथिलो भएको स्वास्थ्य स्याहार प्रणालीमा आमजनताले एकैचोटि आमूल परिवर्तन देख्न नसके पनि नीतिगत सुधारमार्फत केही परिवर्तन हुने लक्षण भने देखिँदै गएका छन् ।
मन्त्री बनेकै दिनदेखि स्वास्थ्य बिमालाई प्रमुख महŒव दिइरहेका उनी अन्ततः स्वास्थ्य बिमा ऐन पारित गराउने अन्तिम स्थितिमा पुगेका छन् । नयाँ ऐनले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिलाई स्वायत्त त बनाएको छ नै, त्योभन्दा बढी स्वास्थ्य बिमालाई आधारभूत संरचनामा ढाल्ने युगान्तकारी कार्य गरेको छ ।
ऐनमा सूक्ष्म सुधारको खाचो
नयाँ सामाजिक स्वास्थ्य बिमा ऐनले स्वास्थ्य बिमालाई गति दिन सम्पूर्ण मार्ग खुला गरिदिएको छ भने समितिलाई स्वायत्त बनाएर सम्पूर्ण स्तरका निर्णय गर्न र कामकाज गर्ने अन्तिम अधिकार पनि दिलाएको छ ।

स्वास्थ्य बिमा सञ्चालनार्थ समिति मातहत रहने गरी एउटा बोर्डको परिकल्पना गरिएको छ, जसले कामलाई तीव्रता दिन चाँडोभन्दा चाँडो निर्णय लिन मद्दत गर्ने नै छ । तर, उक्त बोर्डमा बिमा समितिको प्रतिनिधित्व रहने व्यवस्था गरेको छ ।
हो, यही व्यवस्था नै स्वास्थ्य बिमालाई असफल पार्न पर्याप्त हुनेछ । स्वास्थ्य बिमाका सम्पूर्ण सरोकारवालाले स्वीकार गर्नुपर्ने एउटा तीतो सत्य के हो भने बिमा समिति आफ्ना दैनिक कामहरूसमेत बिर्सेर सामाजिक स्वास्थ्य बिमालाई जसरी पनि असफल पार्नमा सम्पूर्ण शक्ति केन्द्रित गरिरहेको छ ।
बिमा समितिको त्यो शक्तिलाई अझ शक्तिशाली बनाउन बिमक संघको पनि बिर्सन नमिल्ने योगदान रहेको छ । प्रश्न आउन सक्छ, के एउटै देशभित्रका बिमासम्बन्धी कार्य गर्ने निकायबीच समन्वय छैन र ? अहँ ! समन्वय होइन, बिमा समिति बोसको भूमिका खोज्दै छ ।
यदि यही व्यवस्था नसच्याई बिमा समितिलाई प्रतिनिधि बनाउने हो र उसलाई पनि निर्णय गर्ने अधिकार दिने हो भने ढिलोचाँडो मात्रै हो, स्वास्थ्य बिमा असफल हुनेमा शंका नै छैन ।
बिमा कम्पनीका मालिकहरूबाट पे्ररणा लिएर अघि बढ्ने गरेको बिमा समितिले दिने सल्लाह मात्र पनि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका लागि घातक हुन जानेछ ।  त्यस्तै, अर्को प्रतिनिधिका रूपमा बिमाक्षेत्रको अनुभवी र बिज्ञ व्यक्तिलाई समेट्ने व्यवस्था गरेको छ ।
यस्तो व्यक्ति छनोट गर्दा बिमा कम्पनीमा माथिल्लो स्तरको पदमा कार्य गरेको र बिमा कम्पनीमा उल्लेख्य सेयर भएको व्यक्ति छनोट गर्नुपर्नेछ ।
नभए स्वास्थ्य बिमालाई गति दिने कार्यमा यस्ता व्यक्तिले पनि असफल पार्न सक्नेछन् । तसर्थ, बिमा समितिको प्रतिनिधित्वलाई निष्क्रिय पार्ने र स्वतन्त्र बिमा विज्ञलाई ल्याउनेतर्फ ध्यान दिनुपर्छ र यो व्यवस्थामा सुधार गर्नुपर्छ ।
समितिको गतिलो प्रदर्शन 
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विगत एक वर्षमा गतिलो प्रदर्शन गरेको छ । अभ्यासका रूपमा स्वास्थ्य सेवा विभागभित्र कार्यालय राखेर काम सुरु गरेको समितिले एक वर्षमा १३ जिल्लामा समिति विस्तार गरेर कार्यक्रम अघि बढाउँदै गएको छ ।

गत वर्ष मात्र ८ जिल्लाका ४५ हजार २ सय ७७ व्यक्तिबाट रु. २ करोड २६ लाख ३८ हजार ५ सय बिमाशुल्क आर्जन गरेको छ भने ६ हजार ६७ जनाको उपचार खर्चमार्फत रु. ५३ लाख ५४ हजार ७ सय ५१ सेवाप्र्रदायक संस्थालाई भुक्तानी गरेको छ ।
देशको कठिन भौगोलिक तथा कमजोर आर्थिक अवस्था र स्वास्थ्य बिमाको शून्य अनुभव हुँदाहँुदै पनि पैसाको अभाव भएकै कारण कुनै पनि जनताले उपचारबाट वञ्चित हुन नदिने संकल्पका साथ सुरु गरेको यो कार्यक्रमले यत्तिको प्रदर्शनी गर्नु उत्साहजनक नै हो । तर, अबका दिनमा १३ जिल्लाका अनुभवले २६ जिल्लामा कार्य विस्तार सजिलो हुनेछ भने विगतका बिमितहरूको सहाराले अझ धेरै जनता सहभागी गराउन कठिन हुनेछैन ।
जस्तो, काठमाडौं–निजगढ फास्टट्र्याक निर्माण गर्न एउटा डोजरलाई एक वर्ष समय चाहिनेछ, तर बाटो कालोपत्रे भएपछि एउटा कारलाई उक्त दूरी पूरा गर्न एक घण्टा लाग्नेछ । कारको प्रदर्शन हेरेर डोजरले ढिलो ग¥यो भन्नु व्यर्थ हो । हो, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति स्वास्थ्य बिमाको राजमार्ग खन्ने डोजर हो ।
यही बाटो हिँडेर अरू कसैले स्वास्थ्य बिमामा चमत्कार गर्छ नै भने पनि त्यसको एकमात्र श्रेय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिलाई जानेछ । रोगको पीडा सँगालेर भए पनि मानवचोला सुन्दर ढंगले पूरा गरिरहेका दूर सुदूरका जनतालाई बिमाको रसिलो स्वाद चखाउने कार्य अल्पविकसित अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्छ ।
जनशक्ति र पूर्वाधारमा जोड
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि देशको स्वास्थ्य अवस्थाको गुणस्तर उक्त देशका स्वास्थ्य पूर्वाधार र स्वास्थ्य जनशक्तिले निर्धारण गर्छ । प्राकृतिक र मानवजनित केही त्रुटिका कारण गाउँसम्मै सेवाप्रदायक संस्था पुग्न सकेका छैनन् र पुगेकै भए पनि अपुरा र अधुरा छन् ।

त्यस्तै, बिरामी अस्पताल गएमा उपचार गर्ने चिकित्सकको सेवा स्तरीय भए मात्रै अस्पतालको सार्थकता हुन्छ । स्वास्थ्य बिमा आफंैमा अचुक औषधी होइन ।
बिमित व्यक्ति बिरामी भइहालेमा उपचारका लागि जाने अस्पताल र अस्पतालभित्र दक्ष र योग्य जनशक्ति भएमा मात्र यसले सार्थकता पाउनु पर्छ । तर, बिमा कार्यक्रम सुरु भइसकेपछि मात्र समिति र जनताको खबरदारीले धेरै स्वास्थ्य संस्था लोजिस्टिकदेखि प्रणालीगत सुधार आएको कुरा घामजस्तै छर्लङ्ग छ ।
अब, सरकारले देशका विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नतितर्फ केन्द्रित हुनैपर्छ । यसै प्रयोजनका लागि स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनमा गरेका कार्य सराहनीय छन् ।
स्वास्थ्य बिमा गगन थापा वा डा. गुणराज लोहनी एकमात्रको प्रयासले सम्भव हुने होइन । पछिल्लो पटक स्वास्थ्य बिमामा छाएको यो वहारलाई सदावहार बनाउन देशका जिम्मेवार अन्य पक्षहरूले अंकुराएको बिमा वृक्षमा पालुवा पलाउने गरी कार्य गर्नुपर्छ ।
पैसाको खडेरीले उपचार नपाएर उजाड बनेको भूगोलमा आउँदो श्रीपञ्चमीदेखि नै बिमाको वसन्त ल्याउन सक्नुपर्छ । तब मात्र एकै स्वरमा भन्न सकिन्छ, ‘म स्वस्थ : मेरो देश स्वस्थ’ । (लेखक बिमा अध्येता हुन् ।)
http://www.karobardaily.com/news/78528

No comments:

Post a Comment